राखेपको सदस्य सचिवमा सुर्खेतका ढकाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा सुर्खेतका भक्तबहादुर ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयअन्तर्गतकै खेलकुद विकास महाशाखाका प्रमुख ढकाललाई कार्यवाहक सदस्य–सचिवको जिम्मेवारी दिएको हो ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम अर्को व्यवस्था नभएसम्म तत्कालका लाागि राखेपको सदस्य–सचिवले गर्ने कार्य गर्ने गरी जिम्मेवारी दिइएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । सुर्खेत निवासी ५७ वर्षीय ढकाल करिब १ महिनाअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भइ खेलकुद मन्त्रालयमा गएका थिए । राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले सदस्य–सचिव ढकाललाई बधाइ दिए ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बिहीवारदेखि लागू भएसँगै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव सहित सबै बोर्ड सदस्यको पद रिक्त भएको थियो । जससँगै खेलकुद मन्त्रालयले सदस्य–सचिव सहितका सदस्यको नियुक्तिका लागि प्रक्रिया अघि बढाइसकेको छ । नयाँ ऐन लागू भएसँगै खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालसहित परिषद्का सबै बोर्ड सदस्यको पद खारेज भएको थियो ।

अब नयाँ सदस्य–सचिव नियुक्तिका लागि युवा तथा खेलकूद मन्त्रालयको सचिव संयोजक तथा एक महिला र एक विज्ञ रहेको तीन सदस्यीय समितिले सदस्य–सचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ । समितिले सदस्य–सचिव लागि एक महिलासहित तीन जना उपयुक्त व्यक्तिको नाम मन्त्रालयमा सिफारिस गर्ने ऐनमा उल्लेख छ । मन्त्रालयले सिफारिस भएका मध्येबाट एक जनाको नाम नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष पेश गर्नेछ ।

प्रकाशित मितिः   २३ असार २०७७, मंगलवार १२:३५