थपिंदै छन् कोरोना संक्रमित

कर्णाली प्रदेशमा १८ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र भेरी अस्पताल नेपालगञ्ज बाँकेको प्रयोगशालामा भएको परीक्षणबाट सोमवार थप १८ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेका एक बालिकासहित १४ जना, जाजरकोटका तीन जना र जुम्लाका एक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार पाँच सय १६ पुगेको छ ।

यस्तै, कर्णालीमा सोमबार थप १६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या एक हजार दुई सय ४७ पुगेको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसैबिच सोमवार देशभर थप एक सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मितिः   २३ असार २०७७, मंगलवार १२:३२