मगर भाषाको पाठ्यपुस्तक प्रकाशित

सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो । बगाले सोही गाउँपालिका–१ निवासी हुन् । गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उनले कक्षा एक र दुईका लागि ‘कानूङ ढूट्झ्युल–सोमरा कट्छया’ नामक मगर भाषा पुस्तक प्रकाशन गरिसकेका छन् ।

नयाँ पुस्ताले मगर भाषा सजिलैसँग बोल्न–लेख्न सकून् भन्ने उद्देश्यले पुस्तक तयार गरेको लेखकले बताए । पुस्तकले भाषा लोप हुनबाट जोगाउन तथा आफ्नो संस्कृति र परम्परागत प्रविधि नयाँ पुस्तामा हस्तान्तरण गर्न सजिलो हुने उनको विश्वास छ । चौकुने गाउँपालिका मगर समुदायको अत्यधिक बसोवास हुने क्षेत्रमध्येमा पर्दछ । गाउँपालिकाका उपाध्यक्ष निर्मला रानामगरले मगर भाषाको पाठ्यपुस्तक निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्ने गरेको जानकारी दिइन् । ‘मगर भाषाको पाठ्यपुस्तकले स्थानीय मगरभाषीको उत्थानमा महत्वपूर्ण योगदान मिल्नेछ’, पुस्तक विमोचन गर्दै उपाध्यक्ष रानाले भनिन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले आधारभूत तहको शिक्षा मातृभाषामा दिई दोस्रो भाषी विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन पाठ्यपुस्तकले सहयोग पु¥याउने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मितिः   २३ असार २०७७, मंगलवार १२:३१