मास्कविना हिँड्नेलाई पक्राउ
मास्क नलगाइ घरबाहिर हिँड्न नपाइने भएको छ । अटेर गरेर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । घरबाहिर निस्कँदा मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै प्रहरीले पक्राउ गर्ने भएको हो । सोमवार जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृहमन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले मास्क नलगाइ हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन, २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेको जानकारी दिए । ‘सरकारले लकडाउन केही खुकुलो बनाएको छ । खुकुलो बनाए पनि केही शर्तहरू तोकेको थियो । मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, विनाकाम बाहिर ननिस्कन भनेको थियो,’ उनले भने, ‘यही सर्तका आधारमा लकडाउन खुकुलो भएको हो तर, यहाँ मानिसहरू विनाकाममा बाहिर निस्कने, भिडभाड भएर जम्मा हुने मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखियो र संक्रमणको जोखिम बढ्यो त्यसैले कडाइ गर्न लागिएको हो ।’
प्रकाशित मितिः २३ असार २०७७, मंगलवार १२:२९
साझा बिसौनी ।