मर्मत नहुँदा सडकको बेहाल

2सुर्खेत, २४ कात्तिक । सुर्खेतको पश्चिमी क्षेत्रलाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने प्रमुख मार्ग हो गुटु–बेनिघाट सडक । उक्त सडकलाई पश्चिम सुर्खेतको विकासमा महत्वपूर्ण मानिन्छ । जिल्ला विकास समितिले पनि यो सडकलाई जिल्लाका प्रमुख सडकहरुमध्ये एक मानेर प्राथमिकता दिदै आएको छ । तर लामो समयदेखि सम्पन्न हुन नसकेको उक्त सडक दिनप्रति दिन जिर्ण बन्दै गएको छ ।
मर्मत र सुधार नहुँदा सडकको बेहाल भएको छ । वर्सादको समयमा पानी र बाढीले क्षतविच्छेद बनाएको सडकको सुधारमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । सडकभरी खाल्डा छन् । कतिपय ठाउँमा सडकमै कुलो बनाउँदा त्यसले थप क्षति पुर्याएको छ । लामो समयदेखि सडकको अवस्था बेहाल भएपनि यसको मर्मत र सुधारमा कसैले चासो नदिएको लगामका कमल कठायत बताउँछन् । ‘पहिले नै पनि सडकको अवस्था जीर्ण थियो’ साझा बिसौनीसँग उनले भने, ‘त्यसमाथि वर्षाको पानीले थप क्षति पुर्याएको छ ।’
सडकको अवस्था निकै जीर्ण भएपनि उक्त सडकमा जीप सञ्चालन गरिएको छ । लगाम, बेतान, विजौरा लगायतका नागरिकहरु जीर्ण सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ‘सदरमुकाममा काम परिरहन्छ, हिडेर आउन धेरै दिन लाग्छ ।’ कठायले भने, ‘त्यसैले जस्तोसुकै अप्ठेरो बाटो भएपनि यहाँका नागरिकहरु ज्यान जोखिममा राखेर यात्रा गरिरहेका छन् । सडक सुधार नगर्ने हो भने कुनै दिन ठूलो दुर्घटना बेहोर्नुपर्ने हुनसक्छ ।’
गुटु–बेनिघाट आयोजना सुरु भएको लामो समय बितिसकेको छ । लगामको धामिसैनसम्म मात्र ट्रयाक खोलिएको छ । बाँकी काम अघि बढ्न सकेको छैन । तर हालसम्म निर्माण भएको सडकको अवस्था भने सन्तोषजनक नभएको पश्चिमका नागरिक बताउँछन् । विजौरादेखि लगामसम्मको सडक अत्यन्तै जीर्ण र जोखिमपूर्ण रहेको स्थानीयले जानकारी दिएका छन् । सडकमै खोलाजस्ता चिरा परेको भन्दै कठायतले कतिपय स्थानमा पहिरोले समेत क्षति पुर्याएको जानकारी दिए । ‘सडकको अवस्था हेर्ने हो भने जीउ नै सिरिङ हुन्छ, तर त्यसको विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण भएपनि त्यही सडकमा जीपको यात्रा गर्न बाध्य छन्’ कठायतले भने । 4जिल्लास्तरीय राजनीतिक दलका प्रमुख पदहरुमा पश्चिम सुर्खेतका नेताहरुको बाहुल्यता रहेपनि उक्त सडकको स्तरोन्नतीका लागि उनीहरुको ध्यान नपुगेको गुनासो पश्चिमवासीको छ । ‘विकासको पहिलो पूर्वाधार नै सडक हो’ बेतानका हरी कार्कीले भने, ‘तर हाम्रो क्षेत्रमा सडककै बेहाल छ, अनि कसरी हुन्छ यस क्षेत्रको विकास ?’ उनले पश्चिम क्षेत्र विकासमा पछाडि पर्नुको प्रमुख कारण नै सडक भएको बताए । तर यहाँका जनप्रतिनिधिको रुपमा रहेका नेताहरुले सडक सुधारका लागि चासो नै नदिएको उनको आरोप छ । ‘अन्यत्रका विकट क्षेत्रमा पनि सडक सुविधा पुगेको छ, तर हाम्रोमा विकासका लागि पहल गर्ने नेताको अभाव देखियो’ उनले भने ।
गुटु–बेनिघाट सडक त एउटा उदाहरण मात्रै हो । पश्चिम सुर्खेतका अधिकांश सडकको अवस्था पनि उस्तै छ । ती सडकहरुले नागरिकलाई सुविधाभन्दा बढी सास्ती दिएको स्थानीयवासीको गुनासो छ । वनको काठ निकासी गर्नका लागि डोजर लगाएर थुप्रै सडक निर्माण गरिएको तर नागरिकलाई सुविधा दिनेगरी सडक निर्माणमा ध्यान नपुर्र्याएको कार्कीले बताए । पश्चिमका ग्रामिण क्षेत्रमा विरामी पर्दा एम्बुलेन्स लैजान सक्ने अवस्था समेत नरहेको उनी बताउँछन् । वर्षादले क्षति पुर्याएका सडक तत्काल मर्मत सुधार गरी नागरिकलाई सुविधा दिन पश्चिमका नागरिकले अनुरोध गरेका छन् ।