प्रतिपक्षको गुनासो ‘सरकार–सदन दुवै जिम्मेवार भएनन्’

कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन र सरकार दुवै जिम्मेवार बन्न नसकेको बताएको छ । आइतवारको प्रदेशसभा बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले प्रतिपक्षलाई दुुस्मनको व्यवहार गरेको आरोप लगाए । प्रतिपक्ष दलको उपस्थितिविना बैठक सञ्चालन भएको विषयमा बोल्दै शाहीले सदनले पनि समान न्याय नदिएको बताएका हुन् । ‘सरकारले विभेद गरेकै थियो । सदनले समेत प्रतिपक्षको बेवास्ता ग¥यो,’ उनले भने । प्रदेशसभाको शनिवारको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसको उपस्थितिविनै बैठक सञ्चालन गरिएको थियो । प्रतिपक्षविनै बैठक सञ्चालन गरेको भन्दै सत्तारुढ दल नेकपाकै सांसदहरूले सभामुखले गलत अभ्यासको थालनी गरेको टिप्पणी गरेका थिए ।

नेता शाहीले प्रदेशसभा गठन भएयता यस्तो अभ्यास पहिलो पटक गरिएको भन्दै यसले संसद्मा प्रतिपक्ष दलको भूमिकालाई नजरअन्दाज गर्न खोजिएको औंल्याए । संसद्मा देखिने यस्ता प्रवृत्तिले दीर्घकालीन असर गर्न सक्ने उनले बताए । ‘हामीले नीतिगत ढङ्गले जानुपर्छ भनेर आवाज उठाएका थियौं । सरकारले पहिले कान मात्रै सुन्थेन्, अहिले आँखा पनि देख्न छोडेको छ । सदन पनि न्यायिक थलो हो । तर पनि समान न्याय दिन सकेन्,’ उनले भने । प्रतिपक्षको हैसियतले कांग्रेसले सरकारले गरेका गल्ती औल्याउने र सुझाव दिने उनको भनाइ छ ।

यस्तै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले कांग्रेसले आफ्ना स्वार्थभन्दा पनि जनताका लागि आवाज उठाएको बताए । सरकारले स्पष्ट बजेट नल्याउँदा बाध्य भएर सदन अवरुद्ध गर्नुपरेको उनले बताए । नेकपाका प्रदेशसभा सदस्य पदमबहादुर रोकायले बजेट प्रष्ट आए पनि कार्यान्वयन हुनुुपर्नेमा जोड दिए । उनले काम नभएर बजेट फ्रिज हुने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य खड्कबहादुर खत्रीले अनुदानका नाममा भ्रष्टाचार भइरहेको जिकिर गरे । उनले आफन्त र नजिकका मान्छेहरू उपभोक्ता समितिको सदस्य बनाइँदा भ्रष्टाचार मौलाएको उल्लेख गरे । प्रदेशको आफ्नै आम्दानी नभएको अवस्थामा संघीय सरकारबाट प्राप्त बजेट अनुुदानका नाममा कार्यकर्तालाई बाँड्ने काम भइरहेको भन्दै यसलाई तत्काल रोक्नुपर्ने उनले बताए । प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रतिपक्ष र सरकारको मिलेमतोले सांसदहरूलाई अप्ठ्यारोमा पार्ने काम भएको बताए । उनले प्रत्येक वर्ष बजेटमा प्रतिपक्षले सुरुमा विरोध गर्ने तर अन्तिममा गएर जस्तोसुकै विषयमा पनि सहमति गर्ने गरेको आरोप लगाए । उनले भने, ‘प्रतिपक्षले सुरुमा विषय उठाउँछ अनि बीचमै छोडिदिन्छ । यसले गर्दा हामी सत्तापक्षका सांसदहरू नै पीडित छौं ।’ प्रदेशसभा सदस्य सोशीला शाहीले कर्णालीको विकासका लागि राजनीतिक पूर्वाग्रह नराखेर लाग्नुुपर्नेमा जोड दिइन् । गलत काम गरे विरोध गर्ने र राम्रो काममा साथ र समर्थन गर्ने उनको भनाइ छ ।

यस्तै, आइतवारको बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै सामाजिक विकास मन्त्री दल रावलले सांसदहरूकै सुझाव अनुसार कोभिड नियन्त्रण र उपचारका लागि एउटै कोष बनाएर बजेट राखेको बताउँदै ‘ब्रेकडाउन’ गरिएको जानकारी दिए । उनले कोभिडको रकम चालुतर्फ बढी भएकोले चालु खर्च बढी देखिएको प्रष्ट्याए । कोभिडको एक अर्ब ५८ लाखमध्ये ८८ करोड चालुु खर्चमै रहेको उनले बताए । आइतवारको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पनि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । प्रदेशसभाको अर्को बठैक आज (सोमवार) दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मितिः   २२ असार २०७७, सोमबार ०६:०३