नौ स्वास्थ्यकर्मी संक्रमणमुक्त

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत कोरोना संक्रमित स्वाथ्यकर्मीहरू निको भएका छन् । अस्पतालमा कार्यरत नौ जना स्वास्थ्यकर्मीहरू आइतवार निको भएका हुन् ।

कोरोना संक्रमितको उपचारमा खटिएका दुईजना चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण देखिएपछि गत असार ११ गतेदेखि अस्पतालको ओपीडी सेवा समेत बन्द गरिएको थियो । आइतवार सबै स्वास्थ्यकर्मीहरू निको भएपछि अस्पतालको सेवा सुचारु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काले जानकारी दिए ।

हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या एक हजार दुई सय ३१ पुगेको छ । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका अनुसार आइतवार मात्रै प्रदेशका विभिन्न अस्पतालहरूबाट ३० जनाले कोरोना जितेका छन् ।

यसैबीच प्रदेशमा आइतवार थप नौ जनामा संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा एक जना र दैलेख अस्पतालमा गरिएको परीक्षणमा आठ जना गरी कर्णालीमा नयाँ नौ जनामा संक्रमण पुष्टि भएको समेत मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कर्णाली प्रदेशभर आईसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या दुई सय ६१ रहेको छ ।

प्रकाशित मितिः   २२ असार २०७७, सोमबार ०६:०२