६ जना थपिए, २३ डिस्चार्ज

कर्णाली प्रदेशमा शनिवार ६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । दैलेख अस्पतालमा गरिएको परीक्षणमा एक जना र राष्ट्रिय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पाँच जना गरी ६ जना नयाँ संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

योसँगै कर्णालीमा शनिवारसम्म संक्रमित हुनेहरूको संख्या एक हजार चार सय ८९ पुगेको छ । संक्रमितमध्ये ६ जनाको भने मृत्यु भइसकेको छ । यसैगरी संक्रमणमुक्त हुनेहरूको संख्या पनि दिनप्रति दिन बढ्दै गएको छ । शनिवार मात्रै २३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखबाट २० जना र सुर्खेतबाट तीन जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेहरूको संख्या एक हजार दुई सय एक जना पुगेको छ । अब आइसोलेसनमा दुई सय ८२ जना मात्र संक्रमित रहेका छन् ।

यसैबीच नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिवार बिहान गोरखामा एक र रूपन्देहीका जनाको कोरोनाकै कारण मृत्यु भएसँगै मृतकको संख्या ३४ पुगेको हो । शनिवार बिहान गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिवार गोरखा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी रूपन्देही देवदह नगरपालिका ७५ वर्षीय पुरुषको समेत कोरोनाकै कारण मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार चार सय ९१ पुगेको छ । कोरोना जित्नेको संख्या ६ हजार चार सय १५ पुगेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३३ हजार एक सय २५ रहेका छन् भने आइसोलेसनमा नौ हजार ४२ जनाको उपचार भइराखेको छ ।

प्रकाशित मितिः   २१ असार २०७७, आईतवार ०६:०२