स्वदेशमै रोजगारी

कर्णालीबाट वर्षेनी रोजगारीका लागि कालापहाड (भारतका विभिन्न स्थान) जानेहरूको संख्या एक लाख भन्दा बढी छ । कोही मौसम अनुसार काम हेरेर भारत जाने र फर्कने गर्दछन् भने कोही लामो समय उतै बसेर मजदुरी गर्दै आएका छन् । प्रदेशका हरेक गाउँबाट कोही न कोही भारत गएकै हुन्छन् । अर्थात् कर्णालीको रोजगारी कालापहाडमा निर्भर छ । उताबाट भएको कमाइले धेरैको घर चलेको छ । विशेषगरी अदक्ष र अर्धदक्ष जनशक्तिको रोजगारीको मुख्य गन्तव्य नै भारत हो । स्वदेशमा रोजगारीका पर्याप्त अवसर नभएपछि यहाँका युवाहरू काम खोज्दै भारत पुग्ने गरेका हुन् । त्यहाँ गएर पसिना बगाउने गरेका छन् । गाउँघरमा खेती लगाउने र खाली भएको समयमा थोरै भए पनि आम्दानी हुने भन्दै भारत पस्ने धेरै छन् । यो उनीहरूको रहर नभएर बाध्यता हो । आम्दानीको उपयुक्त विकल्प नभएपछि उनीहरू भारत आउने–जाने गरिरहेका छन् ।

आर्थिक रूपमा विपन्न प्रदेश हो कर्णाली । भौगोलिक रूपमा विकट छ । विकासमा पिछडिएको छ । प्राकृतिक स्रोतका दृष्टिले कमजोर छैन । तर सदुपयोग हुन नसक्दा गरिब बन्न पुगेको छ । नागरिक गरिबी र भोकमरीसँग संघर्ष गरिरहेका छन् । प्रदेशमा अवसर नै नभएको होइन । कालापहाड जानुपर्ने बाध्यता अन्त्य गर्नै नसकिने पनि होइन । त्यसो त वर्षेनी रोजगारीका लागि भारत जानेहरू स्वदेशमै श्रम गरेर रोजगार हुन चाहन्छन् । परम्परागत खेतिकिसानीको सीपबाहेक दक्षता नभएकै कारण भारत पुगेर श्रम गर्न बाध्य भएका हुन् । आफ्नो बारीको खेतीले ६ महिना पनि खान पुग्दैन् । रोजगारीका अन्य विकल्प पनि छैनन् । त्यसैले स्वदेशमै रोजगार हुने वातावरण वा अवसर सिर्जना गर्न सक्ने हो भने कालापहाडमा निर्भर हुनुपर्ने अवस्थाको अन्त्य हुनसक्दछ ।

प्रदेशभित्रै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गर्न सकिने सम्भावना पनि छ । विकास निर्माणका कार्यहरू सञ्चालन गरेर होस् या अन्य स्वरोजगारमूलक कार्यमा लगाएर नागरिकलाई रोजगारी दिन सकिन्छ । कर्णालीमा कृषिको प्रचर सम्भावना छ । यहाँको भौगोलिक अवस्था अनुसार तरकारी, फलफूलदेखि अन्य नगदे बाली गर्न सकिन्छ । यसतर्फ युवाहरूलाई आकर्षित गर्न भने जरुरी छ । कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायीक बनाउन सक्नुपर्दछ । उत्पादनका साथसाथै बजारिकरणका लागि राज्यले लगानी बढाउनुपर्ने आवश्यकता छ । पशुपालनको लागि पनि कर्णाली उपयुक्त छ । गाई, बाख्रा, भैसीदेखि भेडा, घोडा लगायत विभिन्न जातका पशुपालन गरी आम्दानी लिन सकिन्छ । यसबाहेक अन्य व्यापार व्यवसाय, घरेलु उत्पादनका कार्यहरूमा पनि नागरिकलाई प्रोत्साहित गर्न सरकारले योजनाबद्ध रूपमा काम गर्न सकेको खण्डमा कालापहाडमा निर्भर लाखौ नागरिकलाई स्वदेशमै रोजगारी दिएर उनीहरूको जीवनशैलीमा सुधार गर्नुका साथै प्रदेश र समग्र देशकै अर्थतन्त्र बलियो बनाउन सकिन्छ । सरकारले रोजगारीका विषयलाई आफ्ना हरेक बजेट तथा योजनाहरूमा समेट्दै आएको छ । तर ती योजनामा सीमित भएका छन् । अब भने परिणाम दिने कार्यक्रमको खाँचो भइसकेको छ ।

प्रकाशित मितिः   २१ असार २०७७, आईतवार ०६:०१