कुवेतदेखि क्वारेन्टाइनसम्म
‘हेलो हामी क्वारेन्टाइनबाट निस्किसक्यौं । गाडी कतिखेर आउँछ ? अनि कहाँ बस्ने हामी ?’ सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको क्वारेन्टाइनमा १४ दिन बिताएर निस्किएका तीन जना महिलाहरू मध्येकी ३० वर्षीय सिर्जनाले फोनमा गरेको संवाद हो यो । सायद स्थानीय तहका जनप्रतिनिधिसँग कुरा गर्दै थिइन् उनी । यतिबेला अलपत्र नागरिकको उद्धार र व्यवस्थापन स्थानीय निकायहरूले नै गर्दै आएका छन् । उनलाई पनि क्वारेन्टाइनबाट घरसम्म पु¥याइदिन गाडीको प्रबन्ध सम्बन्धित पालिकाले नै गरेको हुँदो हो ।
सानीभेरी गाउँपालिका–२ रुकुम (पश्चिम)की सिर्जना तीन वर्ष पहिले रोजगारीको शिलशिलामा कुवेत पुगेकी हुन् । श्रीमान्सँग सम्बन्धविच्छेद, तीन छोराछोरी, पढाइ कक्षा ७ मात्र, सिर्जना सन्तानको गर्जो टार्न बाध्यताले कुवेत हानिइन् । कोरोनाको कहरले उनलाई पूरै समय त्यहाँ रहन दिएन । कमाइकाज नहुँदै नेपाल फर्किनुपर्ने भइदियो । तै पनि क्वारेन्टाइन अवधि पूरा गरेर खुला मञ्च अगाडि निस्कँदा उनको मुहार पनि खुलेको थियो । घर जान पाउँदाको खुशी उनको अनुहारमा प्र्रष्टै देखिन्थ्यो ।
‘नेपालमा पढेलेखेकाहरू त बेरोजगार छन्,’ उनले भनिन् ‘हामीले रोजगारी पाउने त कुरै भएन । त्यसैले विदेश जानुप¥र्यो । काखका सन्तान छोडेर विदेशिनु रहर होइन बाध्यता छ ।’ स्वदेश जस्तो विदेश कहाँ हुन्छ, घरेलु कामदारका रूपमा कुवेत पुगेकी उनले त्यहाँ पनि कयैंन दुःख–कष्ट झेल्नुप¥यो । मालिकले सुरुमा ८० रियल दिने सम्झौता गरेको थियो । उनले अठार महिना भिसा लगाएको घरमा काम गरिन् । मासिक २६ हजार नेपाली रूपैयाँसम्म कमाइ हुन्थ्यो । नियमित पैसा दिन पनि घरमालिकले नमान्ने । त्यति आफैंलाई खर्चपानी नपुग्ने । उनी त्यहाँबाट भागेर अर्को घरमा काम गर्न थालिन ।
नयाँ घरमा काम गर्न थालेको एक वर्ष भएको थियो । महिनामा नेपाली ५० हजारसम्म कमाउन थालेपछि घरमा खर्च पठाउने र केही बचत समेत हुन थाल्यो । तर, तीन वर्ष पुगिसक्दा समेत घर फर्कन नपाउँदा भने उनलाई साह्रै न्यास्रो लाग्थ्यो । ‘घरमालिकले राम्रोसँग खान पनि नदिने, अभद्रव्यवहार उस्तै, बाध्यता थियो सबै सहेर बसियो, यो सबै विस्तारै सामान्य लाग्न थाल्यो,’ सिर्जनाले सुनाइन् । कोरोना संक्रमण फैलन थालेपछि उनले घर फर्कने निधो गरिन् । उनीसँग पासपोर्ट थिएन । उनले भनिन्, ‘कुवेतको जेलको चिसो खाएर मात्रै घरफर्कने दिन कुर्दै बसेका थियौं । कोरोनाको कहरले आम माफी पाइयो ।’ इलिगल बाटोबाट कुवेत पुगेका उनीजस्ता धेरैले राहत पाए । नेपाल सरकारले आफ्ना नागरिक फर्काउने निर्णय गरेपछि कुवेत सरकारले आफ्नै विमानमा नेपालीहरूलाई नेपाल ल्याइदियो ।
दुई वर्ष पहिले रोजगारीको शिलशिलामा भारतको दिल्ली हुँदै कुवेत पुगेकी रुकुम (पश्चिम)कै बाँफीकोट गाउँपालिकाकी ३३ वर्षीय निर्मला पनि सिर्जनासँगै गत जेठ २९ गते त्रिभुवन विमानस्थलमा ओर्लिइन् । उनीहरूसँगै कर्णालीका अरु नागरिकहरू पनि थिए । नेपाल आर्मीले काठमाडौंबाट स्कटिङ्ग गर्दै वीरेन्द्रनगर नगरपालिकाको खुलामञ्चमा रहेको क्वारेन्टाइनमा ल्यायो । बाहिरबाट आएकालाई कोरोना संक्रमण हुनसक्ने भन्दै सिधै घर जान दिइएको थिएन । उनीहरूले १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भयो ।
कुवेतमा घरेलु कामदारको रूपमा गएकी निर्मलाले नेपालबाट जाँदा सम्झौता भए बमोजिम तलब पाइनन् । उनले पनि केही महिनापछि भागेर अर्को घरमा काम गर्न थालिन् । नयाँ घरमा काम र पेैसा राम्रै थियो तर कोरोनाको त्रास आइलाग्यो । पासपोर्ट पूरानै साहुको घरमा छुट्यो । नेपाल फर्कन पासपोर्ट नभएपछि कुवेतको जेल बस्नुपर्ने डर उनलाई पनि थियो । कोरोनाका कारण नेपाल सरकारले आफ्ना नागरिक फर्काउने तर्खर गर्दै गर्दा कुवेत सरकारले पनि आम माफी दियो । निर्मलालाई हुनसम्मै भयो ।
घरमा चारजना छोरीले कुरेका छन् । उनको पनि श्रीमान्सँग सम्बन्धविच्छेद भएको छ । घरेलु कामदारका रूपमा कुवेत पुग्ने अधिकांश महिलाहरूका उस्तै बाध्यता छन् । जेठ २९ गते नेपाल आएका उनीहरू जेठ ३१ गतेदेखि क्वारेन्टाइनमा बस्न थाले । ‘वर्षाको समय । टेन्टमुनी भल पस्थ्यो ।, उनले भनिन् ‘घरजस्तो त कहाँ हुन्छ क्वारेन्टाइन,’ उनले क्वारेन्टाइन बसाइँको अनुभव सुनाइन् । क्वारेन्टाइनमा कष्ट भोग्न तयार उनीहरूलाई सबैभन्दा बढी चिन्ता रिपोर्टकोे थियो । कतै कोरोना देखिहाले के गर्ने ? पीसीआर परीक्षण भयो, उनी र उनका संगीहरूको रिपोर्ट नेगेटिभ आयो । ‘बल्ल ढुक्कले सास फेरियो,’ निर्मलाले भनिन् ।
१४ दिनको क्वारेन्टाइन बसाइँ सकेर उनीहरू घर गएका छन् । उनीहरू भन्छन्, ‘यस पटक जसोतसो ज्यान जोगाएर आइयो । पेट पाल्ने पिरलो भने छँदै छ । खै सरकारले यतै केही काम देलाकी ?’ के सिर्जना र निर्मलाजस्ता लाखौं नेपालीले आफ्नै ठाउँमा काम पाउँलान् ? पेट पाल्न परदेश पुग्नैपर्ने दिनको कहिले अन्त्य होला ?
प्रकाशित मितिः २० असार २०७७, शनिबार ०६:०२
साझा बिसौनी ।