गाइज

सौंराइअ

महेश नेपाली

‘हेलो गाइज !’ सदाझैं आइते जुममार्फत आफ्नो धर्म निभाउँछ । ग्याँङको आइटी विज्ञ उही हो । तथापि ऊ सूचना प्रविधिको विद्यार्थी होइन ।

‘हाइ आइते ।’ बक्राम, महाशंकर र झुमाले सँगसँगै अभिवादन गर्छन् ।

लकडाउनको कारण तितरवितर भएका उनीहरूलाई जुमले नजिक बनाएको छ । विश्वविद्यालयमा हरेक दिनजसो गफिन बानी परेका उनीहरूलाई यसरी मिल्न नपाएको भए सायद हैरानै बनाउँथ्यो ।

प्रविधिको विकास नभएको हुँदो हो त हिमाल, पहाड र तराईंलाई एकैपटक मिलाउन कसरी सम्भव हुँदो हो ? भूूगोललाई लिइ मन भाँजिएर क्षेत्रीयताको लडाइँ भइरहेको समयमा जुमलार्ई माध्यम बनाएर यी पाँच मनुवाहरू मन मिलाउने कोशिसमा सदा लागिरहेका छन् ।

‘त्यो चकचके आइन ?’ महाशंकर रहिनालाई याद गर्छ ।

‘यस्तो झूर नेट ! हेर त आइते, कति समय भयो तैंले अनुमति दिएको ? तिमीहरूको अनुहार देख्न कति लाग्छ । यस्तो देशमा विश्वविद्यालयको पढाइ अनलाइनबाट रे ! क्या हाँसो लागेर आउँछ यार ! हाय ! मेरो देशको प्रविधि । संसार सूचना प्रविधिको फाइभ जीमा हुइँकिराछ । हामी चाहिँ बास्कोटा जीको …जीमा हेहे ।’

छुरा आइ नि ! कस्तरी चक्कु चलाई हेर्नुभयो, क–कसको पेटमा छिराई ? जे होस् उसको चक्कु चलाउने तरिकाले भने गजज्बकै छ । जसको पेटमा हानेको हो, उही ठाउँको ठाउँ ढल्छ । दम छ नि बोलीले हान्ने चक्कुमा ? ढुक्क हुनुहोस् ऊ अपराधी भने घोषित हुन्न ।

‘हाइ, साइ केही छैन है । भटाभट ओकलीरही छेस् त ?’ महाशंकरको स्वर शंक ध्वनी जस्तो गुन्जिन्छ ।

‘ओ…! भूलेछु सरी ल ! प्रणाम पण्डित जी । आराम छ नी ज्यानलाई । टुप्पी बाजेलाई कहाँ भुल्न सक्छु ? हाई नै चाइन्छ र, मिस गर्नलाई ? बाजे त यहाँ बसेर धर्मकर्म गर्दै हुनुहुन्छ नि ।’ आफ्नो मुटुतिर संकेत गर्दै ।

‘अँ… सुन् न टुप्पी । पहाडिया बाहुनहरूको सत्ता भीरमा छ त ? प्रचण्ड कमरेड र ओली महाराजको राष्ट्रवाद देखिरहेकै होलान् नि आँखाले । हामी त रामराम मात्र गर्छौं । अस्ति तैं होइनस् मधेसलाई हेप्ने ?’ रहिना हो रहिना मौका पाइकी पापड बनाउँछे, पेलेर ।

‘अरे यार, अस्ति गोदेर पुगेन तँलाई ? गतिलो धावनमार्ग नभएको जेटको अवतरण गराउनै गाह्रो हुन्छ, त्यसमाथि जहाजमा हुँदा पाइलटहरूले दुस्मनी मोल्न थाल्दा हुने दुर्घटना नै हो । मैले प्रसंगवश मात्र मधेसी नेतालाई गलत भनेको हो । नत्र सबै उस्तै त हुन् ।’

‘भयो छोड यो राजनीतिको कुरा । अब त सुन्न पनि मन लाग्दैन । आज अरु कुनै विषयमा कुरा गरौंन । कस्तो होला झुमा दिदी ?’ आइते बोल्छ ।

छुपुमा छुपु हिलोमा धान रोपेरै छोडौंला ।
बनाइ कुलो लगाइ पानी आएर गोडौला ।।

‘आहा ! क्या गज्जबको गीत गाइस् रहिना । हिजोआजको प्रसंगसँग मिल्ने । कहिलेकाँही त गर्छ क्या, यो चकचके पनि ।’ बक्राम बोल्यो ।

‘हावा ठान्छस् क्या हो मूर्ति, त्यसरी नभन् है खालास् फेरि । रोपेर आएको । ढाड खुब दुखिराछ । तेरो नि दुखाउन नपरोस् । आज पानी आएको थाहा पाइनस् । कि तेरोतिर आएन ?’ जवाफ फर्काइहाल्छे । उसको जिब्रो पातलो छ क्यारे । फाष्ट बोल्छ ।

झुमा मौन छे । उनीहरूका कुरा सुन्नमै आनन्द लाग्छ । उसका जुनियर साथीहरू सहरका रिफ्रेस सेन्टर जस्ता छन् । उनीहरूका कुरा सुनेरै फ्रेस हुन्छे । यसैले पनि होला जहिले पहिला उनीहरूको कुरा सुन्नमै समय दिन्छे ।

‘दिदी केही बोल्नुस् न ।’ आइते अनुरोध गर्छ ।

‘दिदी अस्ती धान दिवस पनि सकिएको छ । जुम्लामा धान रोप्ने फरक तरिका छ नि है ? डाक्टर के.सी. आन्दोलनको बेला मार्सी धानले खुब चर्चा पाएको थियो । जुम्लीहरूले के त्यस्तो तरिका अपनाउँछन् र संसारको अग्लो ठाउँमा धान फल्छ ? विज्ञान र प्रविधिमा संसार यूँ फड्को मारिरहेको बेलामा पनि कुनै देशले यतिको उचाइमा धान फलाउन सकेका छैनन् । तर जुम्लीहरूले युगौंदेखि अग्लो ठाउँमा धान फलाउँदै आएका छन् । दिदीले नै यो विषयमा बोलिदिएको भए सजिलो हुने थियो ।’ रहिना आग्रह गर्छे ।

झुमा ढिलो नगरी विषयवस्तुमा जान्छे ।

‘सबैभन्दा पहिला म जुम्लामा गाइने केही गीतहरू भनौ है । यिनले पनि धान फाउन कति मेहेनत गर्नुपर्छ भन्ने कुरा बुझ्न सजिलो हुन्छ ।

वल्लो बाडी पल्लो बाडी, पिलौरीको साग छ ।
चैत मास नबास न्याउला, बोब सौंराइ लाग्छ ।

यो गीत चैतमा महिलाहरूले बीउको लागि बेर्नाको तयारी गर्दै गर्दा गाउँछन् । धानको काम सुरु भएसँगै बुहारीलाई माइतीको याद आउन थालिहाल्छ । बिहे गरेर आएको घरमा हुँदा माइतीको औधी माया कति बेला लाग्छ ? पक्कै पनि काममा दुःख हुने बेला । यो पूरै गीतमा बज्यै, आमा, बा, दाजु, भाउजु, काका काकी, भाइ, भतिजा सबैको सौंराइ लागेको कुरा छ ।

पिँयाला पैताला, माल जान्या सुन्तलीका ।
जान देऊ मैतेला, बोजु सैंराइ लागीगयो ।।

खाली खुट्टा खेतामा पस्नुपर्ने भएकाले मसिना ढुङ्गाले पैतालामा प्रेसर पर्दा पर्दा पहेंला भइसकेका हुन्छन् । यस्तो बेलामा छोरी चेली केही दिन माइत बस्न पाए भने केही आराम गर्न पाउँछन् । पैताला ठीक हुन्छन् । तर घरको सदस्य मरे पनि कसैलाई थाहा नदिएर काममा जानुपर्ने समयमा कहाँबाट जानु पाउनु माइत ? अनि यसरी खेत खलियानमा पसेर विरह पोख्न थाल्छन् ।

बाटो तलिबाटोमाथि, डोइली फूलय,
जोेगी (माता) का दंगल आयो, डोइली फूलय,
एक र जोगी बोब जस्चा, डोइली फूलय,
एक र माता बजु जसी, डोइली फूलय,
तिम्रो बोब होइन चेली, डोइली फूलय,
देश डुलुवा, गाउँ घुमुवा हुँ म चेली, डोइली फूलय ।

धान रोप्दा रोप्दा हलाको डाँडो जस्तै बांगिएको ढाड र भोगिरहेको पीडाले कँही जोगी वा माताको टोली हिँडिरहेको भए पनि उनीहरूलाई आफ्ना बाजे–बज्यै, बा–आमाजस्ता देख्छिन् र संवाद थालिहाल्छिन् । बटुवा समेतलाई भावुक बनाउने पीडा व्यक्त भइरहेको हुन्छ ।

डालीमा बसी ओइलन लाग्यो सय पंखी चरा, माइती देश गैदियै ।
बडा छुन दुःख मै चेलीकन सय पंखी चरा, बजुती कैदियै (भन्दियस्) ।।
बजुले सुन्लिन, बोबती भुन्लिन मो (मलाई) ल्याउन पठाउनिन् ।।।

घरकालाई कामको चटारो हुन्छ । माइत जाने दिने कुरै भएन । माइतमा पनि उस्तै चटारो हुन्छ । उनीहरू छोरी ल्याउन आउने कुरा भएन । यता दुःखका पहाडले थिचिदै घिस्रिरहेकी छोरीले पीडा बुझिदिने र सन्देश माइतसम्म पु¥याइदिने माध्यम चरालाई बनाउँछ । चराले बज्यैलाई भन्दियो भने । भावुक भएकी बज्यै रोइकराइ गरी बाजेसँग भनेर लिन पठाउलिन भन्ने आशा रहन्छ ।

केही गरी माइतीहरू आउँदैनन् । उसका बिलौना सुन्दिने कोही हुँदैन । रोपाइँ सकिने बित्तिकै असार लागिहाल्छ । लगत्तै खेत गोड्न सुरु भइहाल्छ । यतिबेलासम्म माइती छोरी सम्झेर असारमा कोसेली पु¥याउन आउँछन् । उक्त कोसेलीलाई असाडे पोको भनिन्छ । असाडे पोको पु¥याउन जो आउँछ, उसैसँका अगाडि आँसुका बलिन्द्र धारा बगाउँदै गीत गाउँछ । मानौं भाइ असारे पोको पु¥याउन आएको छ भने उसैका अगाडि गोडिरहेको खेत सिंचित हुने गरी आँसुका ढिका खसाल्दै भाइसँग संवाद गर्छे ।

दिदी :-

भाइलु मेरोयौ, ढोल पूर्व (नकै टाढा) पोइला दियौ, भाइलु मेरायौ ।
भाइलु मेरायौ, ढाँड (कंक्रिट) बिजाउँछुन्, पाउ दुख्ताछुन्, भाइलु मेरायौ ।।

भाइ :-

दिदै मेरीयौ, सज–सज (विस्तारै–विस्तारै) पाइली सार, दिदै मेरीयौ ।
दिदै मेरीयौ, बायुपंखी घोडा दिउँला, दिदै मेरीयौ ।।

यदि पोको पु¥याउन बाजे आएका रहेछन् भने लामो समय माइत जान नपाएकी ऊ सुरुमै बाजे चिन्नै सक्दिन । अनि बाजे आफै भन्छन् ।

साइसर्मीलाइका, सोइसर्मी घट्ट, सोइसर्मी लाछा, उवा पिन्नीनौक्या ।
सोइ छुट भयाका, सोइ बाह्र वर्ष, बोब चिन्निनौक्या (चिन्दनौं) ।।

अब माहोल कस्तो भयो होला विचार गर त ?

बाजेले खेतको आलीमा असाडे पोको छोडेर जानेबेला नातिनीको हृदय चिरा पर्छ, पानी नपाइ सुकेको खेत दर्किएझैं । अनि छुट्छ हृदयको भाका ।

दुल्लूका देवलमाथि क्या चडो, (चरा) बाँसन लाग्यो ।
बोबका छुटन्या बेला, हृदय फाटन लाग्यो ।

यसरी महिलाहरूको दुःखले फल्छ संसारको अग्लो स्थानमा मार्सी धान बुझ्यौ रहिना ?’ झुमा लामो सास तान्छ ।

रहिना केही बेल्न सकेकी हुन्न । उस्ले बोल्न आँटेको बेला हिक्क हिक्क आवाज आउँछ ।

बक्राम र महाशंकर भन्छन्, ‘दिदी यसरी फलाइन्छ है जुम्लामा धान ? हामी त यता उत्सव मनाउँछौं ।’

‘उत्सव त हामी पनि मनाउँछौं । हाम्रो त उत्सवमा पनि विभेद छ । हाम्रो घरमा छोरो जन्मियो, छोरोको बिहे भयो वा ८४ पूजा लाइयो भने बाजागाजासहित रोपाइँ उत्सव मनाउँदै हिलो खेल्ने चलन छ । तर यो सब छोरीको जन्म र बिहेमा हुन्न । हलो जोत्ने, मइ लगाएर खेत दबदबे हिलो बनाउने र बिँगारो लाएर सम्याउने पुरुषको काम नै मुख्य मानिन्छ । पाउ दुःखेको र ढाड बाँगिएको त कसलाई पो मतलब छ र ? माइतीले एक दिन पु¥याउन आउने असारे पोकोमा छोरीहरूलाई चित्त बुझाउन लाइएको छ ।’ आइते भन्छ ।

‘ठीक भन्यौ आइते । वास्तवमा पितृसत्ताको असर हाम्रा हरेक काममा परेको छ । माथि प्रस्तुत गीतमा कहीँ पनि पुरुषका पीडा व्यक्त भएको देखिन्न नि ? गीत छैनन्, पनि । अब तिमीहरू आफै भन, महिलाहरूको मन कति भारी हुन्छ होला ? जिन्दगीको गोरेटोमा दुःखको हिमाल जस्तै भारी कति गह्रुँगो छ भनेर किलोमा होइन, टन र मेट्रिक टनमा मापन गर्दा पनि कमै हुन्छ ।

यसरी पो जुम्लामा धान रोप्ने सिजनलाई ऋतुहरूको ऋतु भन्ने गरिन्छ त । अर्थातऋतुहरूको रानो ऋतु, रोपाइँ गर्ने ऋतु ।

ऋतु रानाय, ऋतु, ऋतु आइर गायो, ऋतु रानाय,
इल्छा पाती पलाइगयो, ऋतु रानाय,
गाड (नदि किनारमा) प्याँउली फूलिगयो, ऋतु रानाय,
घाड मौरी ठुन्किगयो (मौरीको भेर फाट्यो), ऋतु रानाय ।

महिलाहरूले त युगौंदेखि गरेका छन् । यत्तिको दुःख पुरुषहरूले पनि गरे अझ अग्लो स्थानमा धान मात्र होइन सुनै फलाउन सकिँदो है ? के भन्छौ तिमीहरू ? कि कस्सो रहिना ?’
‘यो विषमा छलफल भन्दा पनि सोच्ने बेला पो भयो त !’ महाशंकर ।
‘अब सोचौं’ सबैको एक स्वर ।

प्रकाशित मितिः   २० असार २०७७, शनिबार ०६:०३