प्रधानमन्त्रीको समर्थनमा सुर्खेतमा प्रदर्शन

सुर्खेतः सुर्खेतका केही युवा तथा विद्यार्थीहरुले शुक्रवार वीरेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा प्रर्दशन गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी समितिमा उठिरहेको बेला उनको समर्थमा प्रदर्शन भएको हो । ‘पार्टी भन्दा राष्ट्रमाथि’ लेखिएको ब्यानरमा राष्ट्रवादी युवा शक्तिले ओलीलाई दुबै पदबाट हटाउन नहुने भन्दै ¥याली तथा कोणसभा गरेको प्रदर्शनमा सहभागि एक युवाले बताए ।

प्रदर्शनमा सहभागीले ‘नेकपा जिन्दावाद, सरकार ढाल्न पाइँदैन, आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई, लिपुलेक कालापानी हाम्रो हो, भारतीय विस्तारवाद नेपाल छोड’ लगायतका नारा लेखिएका पेलेकार्डसहित प्रदर्शन गरेका थिए ।

स्थानीय मंगलगढीचोकबाट सुरु भएको प्रदर्शन वीरेन्द्रनगर बजार परिक्रमा पछि कोणसभामा परिणत भएको थियो । सभामा बोल्दै प्रदर्शनमा सहभागी युवाहरुले अहिले सरकार परिवर्तनको उपयुक्त समय नरहेको औंल्याए । पाँच वर्षका लागि म्याण्डेड पाएको सरकार फेरबदल गर्न नहुने उनीहरुको धारणा थियो । मुलुकमा अस्थिरता ल्याउन खोजिएको भन्दै यसले देशलाई थप द्वन्द्वमा लैजाने उनीहरुको तर्क थियो ।

प्रकाशित मितिः   १९ असार २०७७, शुक्रबार १९:२८