कोरोना परीक्षणको दायरा बढ्यो

प्रदेशका चार जिल्लामा पीसीआर मेसिन

कर्णाली प्रदेशमा कोरोना परीक्षणको दायरा बढाइएको छ । दैलेख र रुकुम (पश्चिम)मा पनि कोरोना परीक्षण गर्न थालिएको छ । प्रदेशका चार जिल्लामा पीसीआर परीक्षण हुन थालेको हो । यसअघि कर्णाली प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा मात्रै कोरोना परीक्षण हुँदै आएको थियो । पछिल्लो समय दैलेख र रुकुम (पश्चिम)मा पीसीआर मेसिन थपिएका हुन् ।

अहिले सुर्खेतमा रहेको पीसीआर मेसिन बिग्रेकाले एक सातादेखि परीक्षण हुन सकेको छैैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख र रुकुम (पश्चिम)मा परीक्षण हुँदै आएको छ । दैलेख अस्पतालका डाक्टर निरञ्जन पन्तले अबदेखि दैलेखबाट परीक्षणका लागि स्वाब अन्यत्र पठाउनु नपर्ने बताए । उनले अहिले दैनिक ४०÷५० जनाको नमुना स्वाब परीक्षण भइरहेको जानकारी दिए ।

यस्तैै रुकुम (पश्चिम)मा पनि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको प्रयोगशालामा राखिएको मेसिनबाट परीक्षण थालिएको हो । नमुना स्वाब परीक्षणका लागि बाहिर पठाउनु पर्ने र पीसीआर मेसिनको क्षमताभन्दा बढी स्वाब संकलन हुँदा हप्तौं दिनसम्म रिपोर्टको प्रतिक्षा गर्नुपर्ने बाध्यता थियो । अब रिपोर्ट कुर्न हप्ता दिन नलाग्ने र बाहिर पठाउनुपर्ने बाध्यता टरेको रुकुम (पश्चिम) चौरजहारी नगरपालिकाका प्रमुख गोपाल शर्माले बताए । उनका अनुसार अबदेखि रुकुम (पश्चिम)सहित जाजरकोट, सल्यान र रुकुमपूर्वका नमुना स्वाब पनि परीक्षणका लागि सहज हुनेछ ।

प्रदेश अस्पतालमा रहेको पीसीआर मेसिन बिग्रिएपछि भने केही दिनदेखि परीक्षण रोकिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय प्रयोगशाला निर्देशक ओम आचार्यले भारतबाट टेक्निसियन बोलाउनुपर्ने भएकाले समय लाग्ने बताए । उनले पहिले सुर्खेतमा दैनिक तीन सयको हाराहारीमा परीक्षण हुने गरे पनि अहिले मेसिन बिग्रेकाले बाहिर पठाइएको जानकारी दिए । सुर्खेतमा पीसीआर मेसिन बिग्रेकाले बनाउने प्रक्रियासँगै अर्को नयाँ मेसिन थप्ने तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालले जनाएको छ । यसअघि नै प्रदेश अस्पताल सुर्खेतले नयाँ मेसिन खरिदका लागि टेण्डर आह्वान गरिसकेको छ । अब केही दिनमा उक्त मेसिन सुर्खेत ल्याइने प्रदेश स्वास्थ्य निर्देशक रीता भण्डारीले जानकारी दिइन् ।

प्रदेश अस्पतालको मेसिनले काम गर्ने बेलासम्म कर्णालीमा दैनिक सरदर पाँच सयदेखि सात सयसम्म परीक्षण हुने गरेको थियो । प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले अहिले दिनमा पाँच सय स्वाबसम्म परीक्षण हुने गरेको बताए ।

७३ जना बालबालिका संक्रमित

कर्णाली प्रदेशमा ७३ जना बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार त्यसमध्ये पनि ३५ जना बालबालिका पाँच वर्ष मुनीका छन् । संक्रमित अधिकांश बालबालिका आफ्ना परिवारसँगै भारतबाट आएका हुन् । केही समुदायस्तरका बालबालिकामा पनि संक्रमण भेटिएको हो । प्रदेशमा बिहीवार थप ६ जनामा कोरोना संक्रमण देखिएसँगै यहाँ कोरोना संक्रमतिको संख्या एक हजार चार सय ७४ पुगेको छ ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार भेरी अस्पताल नेपालगन्ज बाँकेमा गरिएको परीक्षणमा सुर्खेतका तीन र स्याङ्जा घर भइ हाल सुर्खेतमा रहेका एक जना तथा दैलेखका एक जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुुम्लामा गरिएको परीक्षणमा कालीकोटका एक जनालाई कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

यस्तै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक हजार एक सय २७ पुगेको छ । बिहीवार मात्रै ४९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म कर्णालीमा कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मितिः   १९ असार २०७७, शुक्रबार १२:५८