बढ्दाे लापरबाही

देश लकडाउन गरिएको तीन महिना पूरा भइसकेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट जोगिन लकडाउन गरिएको हो । पछिल्लो समय भने केही खुकुलो पारिएको छ । मानिसहरूको अधिक भिडभाड हुनेबाहेक अन्य व्यवसाय र कार्यालयहरू सञ्चालनमा आएका छन् । हिँड्डुल गर्न रोक लगाइएको छैन । जसले गर्दा चहलपहल बढेको छ । तर खुकुलो भएसँगै कोरोनाको जोखिम नै भुलेर लापरबाही गरिएको छ ।

कोरोनाको संक्रमण नियन्त्रण भइसकेको छैन । संक्रमित भेटिने क्रममा जारी नै छ । दैनिक रूपमा नयाँ संक्रमित फेला परिरहेका छन् । यद्यपि संक्रमितहरू निको हुने दर पनि बढ्दो छ । यद्यपि अहिले नै बेवास्ता वा लापरबाही गर्ने अवस्था छैन । सतर्कता अपनाउनु जरुरी छ । बिर्सनु हुँदैन, लकडाउन खुकुलो भएको हो कोरोनाको जोखिम सकिएको होइन । तर यही जोखिम बिर्सदा थप जोखिम बढेको छ । जसले गर्दा स्थानीय प्रशासनले लकडाउन फेरि कडाई गर्ने निर्णयमा पुगेको छ । जारी लकडाउन खुकुलो बनाएसँगै जोखिम बढेको भन्दै सुर्खेतमा लकडाउनमा केही कडाइ गरिने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर बढ्दै गएकाले पुनः लकडाउनमा कडाइ गर्न लागिएको हो । लकडाउन खुकुलो भएयता बजारहरू सञ्चालनमा आएपछि सुर्खेतमा चहलपहल निकै बढेको छ । जसका कारण कोरोना संक्रमण फैलने जोखिम पनि उच्च देखिएको छ । बुधवार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रवारदेखि पसलहरू खुला गर्ने समय तथा सवारीसाधन सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । शुक्रवारदेखि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खोल्न पाइने छ । अटो रिक्सालगायतका तीन पाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको छ । सवारीका साधनहरू जोर–विजोर प्रणाली अनुसार मात्रै सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

नागरिकबाट भएको लापरबाहीकै कारण लकडाउन पुनः कडाइपूर्वक पालना गराउन लागिएको हो । पसलहरूमा भिडभाड बढी हुन थालेको छ भने आवश्यक सतर्कता पनि अपनाइएको छैन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले देशव्यापी रूपमा बन्दाबन्दी गरेको थियो । लामो समय लकडाउन हुँदा जनजीवन प्रभावित भएको, सर्वसाधारणमा असन्तुष्टि बढेको र उल्लंघन हुन थालेको भन्दै सरकारले यही असार १ गतेबाट लकडाउनलाई खुकुलो बनाएको थियो । सरकारले विभिन्न चरणमा लकडाउन खुकुलो गर्ने मोडालिटी बनाएको छ । जोखिमको अवस्था आँकलन गरेर विस्तारै खुकुलो गर्दै लैजाने सरकारको तयारी छ । तर स्थानीय प्रशासनले बजारमा चहलपहल ह्वातै बढेसँगै जोखिम कम गर्न यस्तो कदम चालेको हो । कोरोनाको संक्रमण समुदायस्तरमा पुगिसकेको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, बैंकका कर्मचारी, क्वारेन्टाइनमा खटिएका व्यक्ति र समुदायका व्यक्तिहरूमा संक्रमण देखिएपछि कोरोनाको जोखिम अझ बढेको हो । यही जोखिमबाट बच्न नागरिक आफै सजग हुनु अपरिहार्य छ ।

प्रकाशित मितिः   १९ असार २०७७, शुक्रबार १२:५५