४५ लाखमा पानी उद्योग

वीरेन्द्रनगर नगरपालिका– ३ नयाँमार्ग टोलमा पानी उद्योग सञ्चालनमा आएको छ । ४५ लाख रूपैयाँ लगानी गरेर शुद्धपानी प्रशोधित उद्योग ‘कर्णाली जल’ सञ्चालनमा ल्याइएको हो । उद्योग सञ्चालक इन्द्रबहादुर खड्काका अनुसार कर्णाली जलका उत्पादन बजारमा पठाइसकिएको छ । पानी उद्योगले केही दिन पहिलेदेखि आफ्ना उत्पादनको बिक्री सुरु गरेको हो । कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा शुद्ध प्रशोधित पानी पु¥याउने उद्देश्यका उद्योग सञ्चालन गरिएको सञ्चालक खड्काले बताए ।

अन्य प्रशोधित पानी उद्योगभन्दा कर्णाली जलको प्रविधि र सेवा फरक रहेको सञ्चालकको दाबी छ । ‘हामीले ग्राहकको माग अनुसार गर्मीमा चिसो र जाडोको दिनमा तातो पानी उपलब्ध गराउने गरी तयारी गरेका छौं,’ सञ्चालक खड्काले भने । उनले पानी परीक्षणका सबै प्रक्रिया पूरा गरेर उद्योग सञ्चालनमा ल्याएको भन्दै ग्राहकको माग अनुसार गुणस्तरीय पानी घर–घरमा पु¥याइने बताए । सञ्चालकका अनुसार हाल उद्योगमा चार–पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित मितिः   १७ असार २०७७, बुधबार ०६:०२