विदेशबाट फर्किएर तरकारी खेती

जुम्ला : जुम्लाको तातोपानी गाउँपालिका–२ डाँगीबाडाको ककनी जीउलोमा यतिबेला मार्सी धान रोपिएको हुन्थ्यो । मार्सी धान रोप्ने झण्डै दुई हेक्टर जमिनमा यो वर्ष भने तरकारी खेती गरिएको छ । ककनी जिउलोलाई यहाँका पाँच जना युवाले २० वर्षका लागि लिजमा लिएर तरकारी खेती गरेका हुन् । मार्सी झुल्ने फाँटमा अर्गानिक तरकारी खेती सुरु गरेका उनीहरू सबै विदेशबाट फर्किएका हुन् । १० लाखको लगानीबाट तरकारी खेती सुरु गरेका उनीहरूले आम्दानी लिन थालिसकेका छन् ।

‘जुम्लालाई तरकारीमा आत्मनिर्भर बनाउने योजनामा छौं,’ ती मध्येका एक महेश डाँगी भन्छन् । डाँगी चार वर्ष मलेसियामा बसेर केही समयअघि नेपाल आएका हुन् । स्वदेशमा कमाई हँुदैन, लगानी गर्ने वातावरण नै छैन भन्ने भ्रम चिर्न पनि आफूहरूले तरकारी खेती सुरु गरेको उनले बताए । अफवाहको भरमा नेपालका सम्भावनालाई नजर अन्दाज गरिएको उनको बुझाइ छ ।

तरकारी खेतीमा जुटेका ती युवामध्ये केहीले प्राविधिक शिक्षा समेत हासिल गरेका छन् । विदेशमा जे काम गर्न पनि तयार हुने तर स्वदेशमा केही पनि गर्न नचाहने प्रवृत्तिले समाजको उन्नति हुन नसकेको उनीहरू बताउँछन् । स्थानीय तहले निर्वाहमुखी खेती गरिरहेका किसान र बेरोजगार युवालाई व्यावसायिक खेतीमा आवद्ध गराउन सकेमात्रै कृषि क्षेत्रको विकास हुने अर्का युवा पदमराज डाँगीले बताए । उनी भन्छन्, ‘अब युवाले विदेशको डलर त्यागेर आफ्नै देशमा आम्दानीको बाटो बनाउने अवसर पाउनु पर्छ ।’ स्थानीय सरकारले व्यवसायी कृषिका बहस मात्रै गर्नुभन्दा व्यवसायी रूपमा कृषिमा जुटेका युवालाई अनुदानको व्यवस्था गर्नुपर्ने उनले बताए ।

विदेशबाटै फर्किएका स्थानीय युवा भैरव बुढा पनि अहिले तिला कर्णाली अर्गानिक एग्रो फर्म सञ्चालन गरिरहेका छन् । ‘विदेशमा अरुको निर्देशनमा काम गर्नुपथ्र्यो । सञ्चो–बिसञ्चो भन्न पाइँदैनथ्यो । अहिले आफ्नै ठाउँमा आफैं मालिक र आफैं कामदार भएर तरकारी खेतीमा रमाइरहेको छु ।’ अहिले जिउलोमा रोपेका तरकारीले आम्दानी दिन सुरु गरेको छ । अर्गानिक तवरबाट खेती गरिएको आलु, केराउ, फर्सी बेच्न सुरु भइसकेको छ । अत्याधिक माग भएका कारण माग अनुसारको उत्पादन अझै गर्न नसकिएको उनीहरू बताउँछन् । युवाहरूले थालेको तरकारी खेतीमा घरपरिवारले पनि सघाएका छन् । पाँचै युवाका परिवारका सदस्यले गोडमेलको काम गर्दछन् ।

सरकारी तथ्याङ्क अनुसार जुम्लामा १७ प्रतिशत कृषक परिवार १२ महिना खान नपुग्ने गरिबीको सूचीमा छन् । जुम्लामा कूल ३९ हजार हेक्टर खेतीयोग्य जमिन छ । तर २६ हजार हेक्टरमा मात्र खेती भएको छ । बाँकी खेतीयोग्य जमिन बाँझो छ । यहाँका स्थानीय तहहरूले कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशबाट रोजगारी गुमाएर फर्किएका युवालाई कृषिमा जोड्ने र बाँझो जग्गालाई उपयोगमा ल्याउने नीति लिएका छन् ।

तातोपानी गाउँपालिकाले आगामी आ.व. २०७७÷७८ का लागि कृषिमा मात्रै एक करोड बजेट विनियोजन गरेको छ । कोभिड–१९ बाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै कृषिलाई मुख्य प्राथमिकता दिएर नीति–कार्यक्रम तथा बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले व्यावसायिक रूपमा कृषिमा जुटेका युवालाई ५० प्रतिशत अनुदान दिने र कृषिमा यान्त्रीकरण गर्ने नीति लिएको जानकारी दिए । गाउँपालिकाले खेतीयोग्य जमिन बाँझो नराख्ने नीतिलाई समेत विशेष प्राथमिकतामा राखेको छ ।

यस्तै, तिला गाउँपालिकाले परम्परागत खेतीबालीले ढाकेको क्षेत्र क्रमशः घट्न थालेपछि रैथाने बाली संरक्षण गर्ने कार्यक्रम लागू गरेको छ । घुम्ती कोषमार्फत प्रत्येक वर्ष १० जना किसानलाई अनुदान दिइदैं आएको अध्यक्ष रतननाथ योगीले बताए । जुम्लाका अन्य स्थानीय तहहरूले पनि आगामी आर्थिक वर्षका लागि बेरोजगारलाई रोजगारमूलक तालिम, कृषि तथा पशुपालनमा अनुदान, बाँझो जग्गामा एकल तथा सामूहिक खेती, स्याउ बगैंचा व्यवस्थापन र एक गाउँ एक उत्पादन जस्ता कार्यक्रम ल्याएका छन् ।

स्याउ सुपरजोन जुम्लाले पनि डाँगीबाडाका युवाको सामूहिक खेतीलाई थप सहायता दिने आशा जगाएको छ । आउँदो आर्थिक वर्षमा उच्च घनत्वको बगैँचा स्थापनाका लागि युवाहरूसँग छलफल गरी करिब ३० लाख बराबरको अनुदान उपलब्ध गराउने तयारी भएको स्याउ सुपरजोन जुम्लाका प्रमुख नवराज भण्डारीले बताए ।

प्रकाशित मितिः   १६ असार २०७७, मंगलवार ०६:०३