आफ्नै सांसद रिझाउन सकस

नेकपा कर्णाली प्रदेश संसदीय दलको बैठक

कर्णाली प्रदेश सरकारलाई यतिबेला बजेट किचलो मिलाउन हम्मेहम्मे परेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेशसभामा पेस गरेको बजेटमा सांसदको चरम असन्तुष्टि देखिएको छ । बजेटमाथिको छलफलमा डल्लो बजेट ल्याइएको भन्दै सत्तापक्षकै सांसदहरूले बजेट नसच्याए पास नगर्ने चेतावनी दिँदै आएका छन् ।

बजेटप्रति असन्तुष्टि देखाउँदै प्रतिपक्षले संसद् अवरुद्ध गरिरहेको बेला सत्तापक्षकै सांसदले समेत साथ नदिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दल कर्णाली प्रदेशले बैठक आह्वान गरेको थियो । आफ्नै सांसदहरूको साथ नपाएपछि नेकपाले सांसद रिझाउन संसदीय दलको बैठक राखेको हो ।

दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सांसद ‘कन्भिन्स’ गर्न संसदीय दलको बैठक बोलाएका थिए । तर, दुई दिनसम्म चलेको बैठक निश्कर्षविहीन भएको छ । बैठकमा दलको तर्फबाट ३१ जना सांसदहरू सहभागी थिए । स्रोतका अनुसार विना एजेण्डा बसेको बैठक निश्कर्षमा पुग्न नसकेको हो ।

बैठकमा बजेटको विषयमा छलफल भए पनि निश्कर्षमा भने नपुगेको नेकपा प्रमुख सचेतक गुलावजङ्ग शाहले बताए । उनका अनुसार एजेण्डा नै नतोकिएको भए पनि छलफल आगामी वर्षको बजेट केन्द्रित नै थियो । ‘प्रतिपक्ष तथा सत्तापक्षकै सांसदहरू बजेटप्रति असन्तुष्ट छन्,’ उनले भने, ‘सरकारले ल्याएको डल्लो बजेट खण्डीकरण गरी समानुपातिक रूपमा योजना वितरण हुुनुपर्ने धारणा सांसदहरूको छ ।’ सरकारले ल्याएको बजेट विषय केन्द्रित नआएकोले बजेट र सरकारको काम कारवाहीप्रति बैठकमा पनि असन्तुष्टि देखिएको थियो । ‘सरकार हिसाब–किताब मिलाउँदै होला,’ उनले भने, ‘दलको बैठक अझै टुङ्गिएको छैन ।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बजेटको किताबमा मन्त्रालयगत योजनाहरू ल्याइनुपर्ने, डल्लो बजेट खण्डीकरण हुनुपर्ने र चालु तथा पूँजीगत खर्चको शीर्षकहरू स्पष्ट मिलाउनुपर्ने माग राख्दै आएको । यही माग पूरा नभएको भन्दै कांग्रेसले असार ११ गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ । नेकपा सांसद धर्मराज रेग्मीले बजेटमा सैद्धान्तिक त्रुटि भएकोले आफूहरूले दलको बैठकमा केही सुझावहरू दिएको बताए ।

कर्णाली प्रदेश सरकारले ल्याउने बजेटमा हरेक वर्षजसो प्रतिपक्ष तथा सत्तापक्षकै सांसदहरूले विरोध जनाउने गरेका छन् । चालु आवको बजेटमा पनि असहमति जनाउँदै प्रतिपक्षले लामो समयसम्म सदन अवरोध गरेको थियो । पछि कागजीरूपमा मात्रै बजेट सुधारेर ल्याइएको थियो । आगामी वर्षको बजेट पनि सरकारले पूरानै शैलीमा ल्याएको भन्दै सांसदहरूले आपत्ति जनाएका हुन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सरकारका तर्फबाट आफूहरूको माग पूरा गर्नको लागि कुनै पनि आश्वासन नआएको बताए । ‘हिजो मलाई दलको बैठक रोकेर बोलाइएको थियो,’ उनले भने ‘मैले स्पष्ट रूपमा कानुनतः जे–जे कुरा उठाइएको छ, सबै पूरा हुनुपर्ने स्पष्ट धारणा राखें ।’ सरकारले जेठ महिनाको १५ गते पछाडि भुक्तानी नदिने भने पनि असार १५ मा समेत भुक्तानी दिइरहेको भन्दै उनले यो तरिकाले सरकार कहीँ पनि नपुग्ने बताए । हिजो केन्द्रले ठगेको कर्णाली आज कर्णालीकै नेतृत्वबाट ठगिएको उनको तर्क छ ।

उता आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रतिपक्षको माग पूरा गर्नको लागि छलफल भइरहेको जानकारी दिए । दलको बैठकमा बजेटकै विषयमा छलफल गरिरहेको उनले बताए । मन्त्री ज्वालाका अनुसार प्रतिपक्षको सदन अवरोधपछि दलको बैठक बसी छलफल गर्नुपरेको हो ।

संसद् अनिश्चित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असार १० गतेदेखि संसद् अवरुद्ध गर्दै आएको छ । बजेट शीर्षक अनुसार ल्याउनुपर्ने माग राख्दै कांग्रेसले अवरुद्ध गरेको संसद् बैठक अनिश्चित छ । कांग्रेसले आगामी वर्षको बजेट प्रष्ट नभइ एकमुष्ट ल्याइएको भन्दै प्रदेशसभाको बैठक अवरुद्ध गरेको हो ।

असार १० गते सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि स्थगित गरेको प्रदेशसभाको बैठक सहमति हुन नसकेपछि असार ११ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । ११ गते पनि बैठक बस्न नसकेपछि असार १५ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरियो । कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बैठक बस्न नदिने अडान राखेपछि फेरि असार १८ गते दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सरकारले थप समय मागेपछि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर १८ गतेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख शाहीले बताए । उनले भने, ‘यस विषयमा छलफल हुँदैछ । सरकारले थप समय मागेकाले बैठक स्थगित गरिएको हो ।’ नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले ल्याएको एकमुुष्ठ बजेटलाई शीर्षकअनुसार नल्याएसम्म संसद् बैठक सुचारु हुन नसक्ने बताए । यो क्षेत्रमा यति बजेट मात्रै नभनेर शीर्षक अनुसार ल्याउनुपर्ने कांग्रेसको माग छ । ‘सरकारले एकमुष्ठ बजेट ल्याउने र मनलाग्दी कार्यविधि बनाएर दुरूपयोग गर्ने गरेको छ । यसलाई हामीले रोक्न खोजेका हौं,’ शाहीले भने ।

प्रकाशित मितिः   १६ असार २०७७, मंगलवार ०६:०४