किसानलाई धान रोप्ने चटारो

असार अर्थात् रोपाइँको महिना । किसानहरूलाई यतिबेला मानो रोपेर मुरी उब्जाउने चटारो छ । मध्यअसार हुनै लाग्दा कर्णालीमा ३६ प्रतिशत रोपाइँ सकिएको छ । प्रदेशको ३८ हजार तीन सय ८५ हेक्टर जमिनमा धान रोपाइँ हुन्छ । प्रदेशका कतिपय क्षेत्रमा चैत–वैशाखदेखि नै थालिने रोपाइँ साउन अन्तिमसम्म चल्छ । पहाडी जिल्लामा असार लागेपछि रोपाइँ सुरु गरिन्छ भने जुम्लालगायतका उच्च पहाडी क्षेत्रमा चैतदेखि नै धान रोप्न सुरु हुन्छ । यहाँ ढिलो रोप्दा तापक्रमका कारण धान नपाक्ने हुनाले छिटो रोपाइँ गर्ने चलन छ ।

प्रदेशका दशवटै जिल्लामा कतै रोपाइँ सकिनै लागेको छ भने कतै भर्खरै रोप्न सुरु गरिएको छ । यस पटक वर्षा चाडो भएकोले रोपाइँको चटारो पनि चाँडै सुरु भएको किसानहरूले बताएका छन् । यो वर्ष छिटो रोपाइँ सकिने कृषि विज्ञहरूको भनाइ छ । कृषि विकास निर्देशनालय सुर्खेतका बागवानी अधिकृत यामबहादुर रानाका अनुसार अहिले किसानले अघिल्ला वर्षहरूभन्दा छिटो रोपाइँ सक्नेछन् । ‘यो वर्ष वर्षाले साथ दिएको छ,’ उनले भने ‘त्यसैले किसानहरूले समयमै धानको बीउ राख्न पाए । रोप्ने काम पनि बेलैमा सकिन्छ ।’ यो वर्ष धान उत्पादन समेत बढ्ने अनुमान गरिएको उनले बताए ।

जुम्लामा सबैभन्दा बढी ९६ प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयको पछिल्लो अभिलेख अनुसार डोल्पामा ७५ प्रतिशत रोपाइँ सकिएको छ । हुम्लामा ७० प्रतिशत, सल्यानमा ७० प्रतिशत, मुगुमा ६० प्रतिशत, जाजरकोटमा ४५ प्रतिशत र कालीकोटमा ३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

रुकुम–पश्चिममा ३० प्रतिशत र दैलेखमा २५ प्रतिशत रोपाइँ सकिएको सम्बन्धित जिल्ला कृषि विकास कार्यालयहरूले जनाएका छन् । प्रदेशमा सबैभन्दा कम सुर्खेतमा १० प्रतिशत मात्रै रोपाइँ भएको छ । कर्णालीको खेती प्रणाली आकाशे पानीको भरमा छ । पर्याप्त सिँचाइ सुविधा नहुँदा रोपाइँका लागि मनसुन नै कुर्नुपर्ने बाध्यता छ । यो पटक समयमै मनसुन सक्रिय हुँदा रोपाइँ धमाधम भइरहेको कृषि विकास कार्यालयहरूले जनाएका छन् । कर्णालीका अधिकांश स्थानमा अझै पनि परम्परागत रूपमै धान रोप्ने गरिन्छ । आधुनिक कृषि प्रविधिको प्रयोग न्यून हुने गरेको छ । जीविकोपार्जनका लागि परम्परागत खेती गरिने हुँदा यहाँका किसानहरूले उत्पादन गरेका कृषि वस्तुले वर्षभरी खान पुग्दैन ।

Loading...