सबै जिल्लामा देखियो कोरोना
नेपालका ७७ वटा जिल्लामा कोरोना देखिएको छ । शनिबार रसुवामा नौ जना कोरोना संक्रमित थपिएसँगै मुलुकका सबै जिल्लाहरूमा कोरोना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा रसुवामा आठ पुरुष र एक महिला गरी नौ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यस्तै मुलुकमा कोरोना संक्रमतिको संख्या १२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा शनिवार थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार तीन सय नौ पुगेको हो ।
थपिएका संक्रमितहरूमा उदयपुरका सात, इलामका पाँच, मोरङ दुई, धनुषाका तीन, महोत्तरीका ३०, पर्साका दुई, अछामका १३, अर्घाखाँचीका १८, बैतडीका २६, बझाङका आठ, बाजुराका ८६, बाराका आठ, डडेलधुराका आठ, डोटीका ७३, धादिङका तीन, गुल्मीका आठ, जाजरकोटका एक, कैलालीका १४, कञ्चनपुरका पाँच, कपिलवस्तुका आठ, पर्साका एक, रसुवाका नौ, रौतहटका ३४, सल्यानका १३, सर्लाहीका ६ र स्याङ्जाका २६ जना छन् ।
त्यसैगरी, चितवनका दुई, नुवाकोटका ६, मकवानपुरका दुई, बाराका चार, पाँचथरका एक, काठमाडौँका चार, भक्तपुरका एक, नवलपरासी पूर्वका दुई, बाग्लुङका आठ, पाल्पाका २६, प्युठानका ४९, रूपन्देहीका आठ, बाँकेका दुई, बर्दियाका चार, दाङका ३१, रोल्पाका एक र सुर्खेतका सात जना रहेका छन् । मन्त्रालयका अनुसार नेपालका सबै जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । यस्तै एक सय ३६ जना निको भएर घर फर्किएका छन् ।
शनिवारसम्म कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार चार सय ४० पुगेको छ । जसमध्ये दैलेखमा सात सय ६० जना, सुर्खेतमा तीन सय ४७ जना, सल्यानमा एक सय ७७ जना, कालीकोटमा ४७ जना, जुम्लामा २८ जना, जाजरकोटमा १३ जना, मुगुमा तीन जना, हुम्लामा दुई जना, डोल्पामा एक जना र रूकुम–पश्चिममा एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै कर्णालीमै गरिएको परीक्षणमा अन्य प्रदेशका ५९ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोभिड–१९ संक्रमणमुक्त भएर नौ सय ३४ जना डिस्चार्ज भएका छन् ।
प्रकाशित मितिः १४ असार २०७७, आईतवार ०६:०४
साझा बिसौनी ।