प्रदेश अस्पतालका चिकित्सक आन्दोलित

प्रोत्साहन भत्ता नपाएपछि प्रदेश अस्पतालमा कार्यरत आठौं तहका चिकित्सकहरू आन्दोलित भएका छन् । कर्णाली प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै उनीहरूले आकस्मिक सेवामा बाहेक काम नगर्ने घोषणा गरेका छन् । बिहीवार उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।

कर्णाली प्रदेश सरकारको गत पुस ८ गतेको मन्त्रिपरिषद् बैठकले कर्णालीमा कार्यरत चिकित्सकलाई जिल्ला र तहगत रूपमा ५० देखि एक सय ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । सुर्खेतमा कार्यरत आठौं तहका चिकित्सकलाई आधारभूत तलबको ५० प्रतिशत र नवौंदेखि एघारौं तहका विशेषज्ञ चिकित्सकलाई ७५ प्रतिशत भत्ता दिने निर्णय भएको थियो ।

मंसिरदेखि लागू हुने गरी भएको उक्त निर्णअनुसार अन्य चिकित्सकले भत्ता पाए पनि आठौं तहका मेडिकल अधिकृतले भने पाएका छैनन् ।

प्रदेश अस्पतालमा आठौं तहका ३० जना चिकित्सक कार्यरत छन् । तिनीहरूले काम नगर्दा अस्पताल नै ठप्प हुने अवस्था छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले भत्ताको लागि बजेट आएको भए पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले पठाएको सेवा–सुविधासम्बन्धी परिपत्रको कारण बाधा भएको बताए ।

उनका अनुसार परिपत्रमा विशेषज्ञ चिकित्सक (करार तथा छात्रवृत्तिसमेत) बाहेक करार सम्झौतामा कार्यरतले सुविधा नपाउने उल्लेख छ । ‘उहाँहरू स्थायी र करार सेवामा रहेकाले तोकिएको भत्ता दिन कुनै समस्या छैन, तर ‘विशेषज्ञ’ शब्द थपिने बित्तिकै समस्या भएको हो, आठौं तहलाई विशेषज्ञ भन्न मिल्दैन,’ उनले भने, ‘तर सोही परिपत्रमा आठौं तहलाई दिने भनिएकोले अन्योल सिर्जना भएको छ ।’

आठौं तहका चिकित्सकहरूले यही अन्योलतालाई हटाएर प्रोत्साहन भत्ता पाउने बाटो खुलाउन माग गर्दै थुप्रै पटक सामाजिक विकास मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र मुख्यमन्त्री कार्यालय धाएका छन् । ‘सरकारले प्रोत्साहन भत्ता दिने भनेर निर्णय ग¥यो, तर अहिले विनाकारण सुविधाबाट वञ्चित गरिएको छ,’ डा. प्रकाशराज ओलीले भने, ‘त्यही निर्णयको आधारमा अरू डाक्टरहरूले भत्ता खाइरहनु भएको छ, हामीलाई भने दिइएको छैन ।’

आर्थिक वर्षको संघारमा बजेट फ्रिज हुन लागेको भन्दै उनीहरूले बुधवार २४ घण्टे अल्टिमेटम दिएका थिए । ‘यति गर्दा पनि सम्बन्धित निकायबाट ठोस निर्णय हुन सकेन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले हामी सम्पूर्ण चिकित्सक आकस्मिकबाहेक सेवा ठप्प पार्न बाध्य भएका छौं ।’

कर्णाली प्रदेश अस्पतालमा अहिले ५६ जना चिकित्सक कार्यरत रहेका छन् । तीमध्ये आधाभन्दा बढी आठौं तहका मेडिकल अधिकृत छन् । नियमित सेवाका साथै कोरोना विशेष अस्पतालमा पनि आठौं तहका चिकित्सक अग्रपंक्तिमा खटिएर उपचार गरिरहेका छन् । यस्तो अवस्थामा चिकित्सकले थालेको आन्दोलनले अस्पताललाई अप्ठेरोमा पारेको अस्पताल निर्देशक डा. खड्काले बताए ।

प्रकाशित मितिः   १२ असार २०७७, शुक्रबार ०६:०३