ब्याज मिनाहा र घरभाडा छुटको माग

तीन महिनादेखि व्यवसाय बन्द भएपछि होटल व्यवसायी संघ सुर्खेतले यो अवधिको बैंकको ब्याज मिनाहा र न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघले बिहीवार विज्ञप्ति जारी गरी घरभाडा र बैंकको ब्याज तिर्न नसकेर होटल व्यवसायीहरू पलायन हुने अवस्था आएको बताएको हो ।

‘सुर्खेतमा मात्रै झण्डै एक हजार तीन सय होटल छन् । यसमा करिब ६ हजारबढीले रोजगारी पाइरहेको अवस्था छ,’ संघका अध्यक्ष गोरख रावतले भने, ‘लकडाउनका कारण होटल व्यवसाय बन्द हुँदा रोजगारी मात्रै गुमेको छैन् । अर्बौंको नोक्सानी पनि भएको छ ।’

संघले होटल व्यवसायीहरू सबैभन्दा बढी मारमा परेकाले लकडाउन अवधिभरको घरभाडा पूर्ण रूपमा र संक्रमणकाल रहुन्जेलसम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न सरोकारवालाहरूसँग आग्रह गरेको छ । ‘उक्त छुटका लागि घरधनीहरूलाईसमेत राहत पुग्ने गरी विशेष कोषमार्फत सम्बोधन गर्न हामीले सरकारलाई आग्रह गरेका छौंं,’ अध्यक्ष रावत भन्छन्, ‘अहिलेकै अवस्थामा हामीहरू घरभाडा तिर्न सक्ने अवस्थामा छैनौं ।’

होटल व्यवसाय अरू व्यवसायजस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामा नै सुचारु भइ सामान्य अवस्थामा आउने सम्भावना नभएकाले संक्रमण अवधिभर बिजुली पानीको महशुल कम्तीमा एक वर्षका लागि छुट र टेलिफोन, इन्टरनेटलगायतका महशुलमा विशेष सहुलियतको व्यवस्था गर्न माग गरिएको छ ।

संघले एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिन पनि आग्रह गरेको छ । संघका महासचिव जनकबहादुर सिंहले होटल व्यवसायमा संलग्न व्यवसायीहरूले बैंक र वित्तीय संस्थाहरूबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने मुख्य स्रोत नै बन्द भएपछि आफूहरू मर्कामा परेको बताए ।

प्रकाशित मितिः   १२ असार २०७७, शुक्रबार ०६:०३