नेपाल–भारत सीमामा काँडेतार लगाउन चौकुनेले ठोरीलाई एक लाख दिने
सुर्खेतः सुर्खेतको चौकुने गाउँपालिकाकाले नेपाल–भारत सीमानामा तारबार गर्न एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सीमा क्षेत्रमा काँडेतार लगाउन पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई चौकुनेले आर्थिक सहयोग गर्ने भएको हो । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेटमा गाउँपालिकालाई सहयोग गर्ने घोषणा गरेको हो ।
गाउँपालिकाले ‘राष्ट्र सुरक्षामा हाम्रो योगदान’ शिर्षकमा ठोरी गाउँपालिकालाई एक लाख र सीमा सुरक्षामा खटिएका नेपाली सेनालाई एक लाख रुपैयाँ सहयोग गर्न बजेट विनियोजन गरेको छ । ठोरी गाउँपालिकाले नेपाल–भारत सीमामा काँडेतार लगाउन सुरु गरेको छ । राष्ट्रको सिमा सुरक्षा गर्नु सबैैको दायित्व भएकाले सहयोेग गर्ने निर्णय गरी बजेट विनियोजन गरिएको चौकुने गाउँपालिकाका उप–प्रमुख निर्मला रानाले बताइन् । यो अभियान देशभर सञ्चालन गर्ने नीति अबलम्बन गरेको पनि उनले जानकारी दिइन् ।
नेपालको सीमा रक्षार्थ सहयोग पुगोस भन्ने उदेश्यले आन्तरिक आम्दानीबाट बजेट छुट्याइएको गाउँपालिकाले जनाएको छ । चौकुनेले आगामी आर्थिक वर्षका लागि ४३ करोड ८० लाख २६ हजार चार सय ८० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाले बजेटमा कोरोना रोकथाम, कृषि उत्पादन र रोजगारलाई प्राथमिकता दिएको जनाएको छ ।
प्रकाशित मितिः १२ असार २०७७, शुक्रबार १०:५०
साझा बिसौनी ।