स्वास्थ्यकर्मीको सुरक्षा

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै गएको छ । बिहीवारसम्म एक हजार चार सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । संक्रमण अब भारतबाट फर्किएका व्यक्तिहरूमा मात्र सीमित रहेन । समुदायमा पुगिसकेको छ । गाउँमै रहेकादेखि अस्पतालका स्वास्थ्यकर्मीहरूसम्म संक्रमण फैलिसकेको अवस्था छ । जसले गर्दा प्रदेश कोरोनाबाट झन्–झन् असुरक्षित बन्दै गएको छ । स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरू नै संक्रमणको जोखिममा छन् । यसले एकातर्फ स्वास्थ्यकर्मीहरूमा बढ्दो असुरक्षा त देखाउँछ नै साथमा नागरिकमा थप त्रास पैदा गरेको छ । न्यून जनशक्ति र सुरक्षा सामग्रीको कमजोर व्यवस्थापनकाबिच कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुने क्रम बढ्दै जानु सुखद् हुँदै होइन । हालसम्म प्रदेशभर १५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिसकेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल सुर्खेत र सल्यान जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रयोगशाला, क्वारेन्टाइन, आइसोलेसन र अन्य बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई समेत संक्रमण देखिएको हो । स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिन थालेपछि अस्पताल नै सिल गर्नुपर्ने अवस्था छ । सीमित जनशक्तिका कारण क्वारेन्टाइन, आइसोलेसन र अन्य रोगका बिरामीसमेत एउटै स्वास्थ्यकर्मीले हेरिरहेका छन् । जसका कारण स्वास्थ्यकर्मी नै संक्रमणको उच्च जोखिममा छन् । स्वास्थ्यकर्मी नै संक्रमित हुँदा अस्पतालमा उपचारका लागि आइपुग्ने अन्य बिरामी पनि जोखिमको घेरामा हुने नै भए ।

सुरुमा भारतबाट फर्किएकाहरूमा मात्रै सीमित संक्रमण विस्तारै समुदायमा देखिन थालेको हो । समुदायस्तरमा पुगिसकेको कोरोनाको थप संक्रमण रोकथाम तथा नियन्त्रनण चुनौतीपूर्ण छ । अब राज्यका निकायहरू यसतर्फ गम्भीर हुन अपरिहार्य छ । कर्णालीका अधिकांश स्वास्थ्य संस्थामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी छैनन् । कोरोना संक्रमण फैलिँदै जाँदा भएका स्वास्थ्यकर्मीलाई एकातिर कामको दोब्बर भार परेको छ भने अर्कोतिर जोखिम पनि उत्तिकै छ । उदाहरणका लागि चिङ्गाड गाउँपालिकाको अवलचिङ्ग प्राथमिक स्वास्थ्य केन्द्रले कोरोना संक्रमित उपचारका लागि दुई वटा आइसोेलेसन सेन्टर बनाएको छ । त्यहाँ २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना डाक्टरसहित नौ जना स्वास्थ्यकर्मी छन् । स्वास्थ्यकर्मी अभाव भएपछि नियमित बिरामी चेकजाँचदेखि क्वारेन्टाइन र आइसोलेसनमा समेत उही स्वास्थ्यकर्मी खटिनु परेको छ ।

अस्पतालमा सबैखाले बिरामी पुग्दछन् । सबैको पीसीआर जाँच हुँदैन । जसले गर्दा संक्रमणको पहिचान गर्नै समस्या छ । बिरामीमध्ये कसैमा संक्रमण रहेछ भने त्यसबाट अरूमा फैलिने जोखिम हुन्छ । झन स्वास्थ्यकर्मीमा नै संक्रमण भएको खण्डमा अन्य बिरामीहरूमा सर्ने जोखिम अझ बढी हुन्छ । किनभने सीमित जनशक्तिका कारण सबै बिरामी हेर्ने स्वास्थ्यकर्मी उनै हुने गरेका छन् । यसकारण अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मीले अनिवार्य स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्ने र आवश्यक अन्य सतकर्तता अपनाउन हेलचक्य्राइँ गर्नु हँुदैन । स्वास्थ्यकर्मी आफैं जोखिममा त छँदैछन्, उनीहरू संक्रमित भए थप जोखिम फैलिने सम्भावना प्रबल रहन्छ ।