स्थानीय तहको बजेट पनि कोरोना केन्द्रित

कर्णाली प्रदेशका स्थानीय तहहरूले बुधवार आर्थिक वर्ष २०७७÷०७८ का लागि नीति कार्यक्रम र बजेट ल्याएका छन् । स्थानीय तहले पनि संघ र प्रदेश सरकारले जस्तै आगामी वर्षको बजेटमा कोरोना भाइरस ‐कोभिड–१९) को प्रतिकार्यसँगै रोजगारी, उत्पादन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेका छन् । अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेश गर्नुपर्छ । सोही अनुसार कर्णालीका अधिकांश स्थानीय तहले आगामी वर्षका लागि गाउँ तथा नगरसभामा बजेट पेश गरेका हुन् ।

रुकुम–पश्चिमको चौरजहारी नगरपालिकाले ४९ करोड २० लाख ९२ हजार चार सय ७० रूपैयाँ बराबरको बजेट आगामी वर्षको लागि विनियोजन गरेको छ । नगरपालिकाले कूल विनियोजन बजेटमध्ये चालुतर्फ ३२ करोड १७ लाख १० हजार चार सय ७० रूपैयाँ र पूँजीगततर्फ १७ करोड तीन लाख ८२ हजार रूपैयाँ विनियोजन गरेको हो । स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर बजेट विनियोजन गरेको नगर प्रमुख विशाल शर्माले जानकारी दिए । उनका अनुसार कोरोना नियन्त्रण, रोकथाम तथा उपचार र विपद् व्यवस्थापनको लागि एक करोड र स्वास्थ्य प्रणाली सुधारका लागि चार करोड ७२ लाख रूपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै, दैलेखको दुल्लू नगरपालिकाले ८० करोड ४३ लाख ६६ हजार एक सय ६५ रूपैयाँ आगामी वर्षको लागि विनियोजन गरेको छ । जसमा स्वास्थ्य, शिक्षा, युवा रोजगार र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । नगर प्रमुख घनश्याम भण्डारीले कोरोना समुदायस्तरमा फैलिसकेकोले रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको जानकारी दिए । उनका अनुसार कोरोनाका कारण रोजगारी गुमाएर नगरमा फर्किएका युवाहरूलाई उत्पादनमूलक रोजगारीमा लगाउने गरी बजेट विनिनयोजन गरिएको छ ।

सिमकोट गाउँपालिका हुम्लाले आगामी वर्षका लागि ४० करोडको बजेट ल्याएको गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए । सिमकोट गाउँपालिकाले पनि स्वास्थ्य, उत्पादन, पूर्वाधार विकास र रोजगारीलाई प्राथमिकतामा पारेको छ । चालु आर्थिक वर्षमा चार करोड घाटा बजेट व्यहोर्नु परेको भन्दै उनले कोरोनाका कारण आगामी वर्षको बजेटमा पनि असर परेको बताए ।

त्यस्तै, कालीकोटको तिलागुफा नगरपालिकाले ५४ करोड १९ लाख नौ सय ३२ रूपैयाँ बराबरको बजेट आगामी वर्षको लागि विनियोजन गरेको छ । नगरप्रमुख रत्नबहादुर शाहीले बजेटमा स्वास्थ्य, शिक्षा र कृषि प्रमुख प्राथमिकतामा परेको बताए । नगरभित्र २५ शैयाको अस्पताल निर्माण गर्ने, बाँझो भूमि उपभोग गर्ने र युवाहरूलाई रोजगारी दिने गरी बजेटले प्राथमिकता पाएको उनले सुनाए । तिलागुफाले कोरोना प्रतिकार्यको लागि एक करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारलाई विशेष प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालका अनुसार वीरेन्द्रनगरले कोरोना प्रतिकार्यका लागि पाँच करोड रकम विनियोजन गरेको छ । नगरले आगामी वर्षका लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार आठ सय २३ रूपैयाँको बजेट ल्याएको हो ।

सुर्खेतकै भेरीगंगा नगरपालिकाले आगामी वर्षका लागि साढे ६२ करोडको बजेट ल्याएको छ । सातौं नगरसभाको पहिलो बैठकमा ६२ करोड ८८ लाख ६५ हजार सात सय दुई रूपैयाँ बराबरको प्रस्तावित बजेट पेश गरिएको हो । नगरले चालुतर्फ ४८ करोड ६४ लाख १८ हजार सात सय एक रूपैयाँ तथा पूँजीगततर्फ १४ करोड २४ लाख ४७ हजार बराबरको बजेट प्रस्ताव गरेको छ । बुधवारको बैठकले नगरपालिकाको आगामी नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

यसैगरी, जुम्लामा हिमा गाउँपालिकाबाहेक एक नगरपालिका र ६ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन् । कृषि, स्वास्थ्य, रोजगारी तथा पूर्वाधारलाई मुख्य प्राथमिकता दिँदै जुम्लाका स्थानीयतहले नीति, कार्यक्रम र बजेट ल्याएका हुन् । कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य र कृषि सबै तहको मुख्य प्राथमिकतामा परेको छ ।

प्रकाशित मितिः   ११ असार २०७७, बिहीबार ०९:०२