महिला नेतृत्वको समीक्षा

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ चैत । 
सिमान्तकृत महिलाहरूका लागि महिला संस्था (वाम) सुर्खेतले जिल्लामा सञ्चालन गरेको महिला नेतृत्व कार्यक्रमको समीक्षा गरेको छ । उक्त कार्यक्रमको वार्षिक समीक्षा शुक्रवार सम्पन्न भएको हो । 
सो अवसरमा कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कार्यकारी निर्देशक मधुरानी ढकालले कार्यक्रम सञ्चालन भएपछि महिलाहरू स्थानीय संरचनाको नेतृत्व तहमा पुगेको बताइन् । पछिल्लो समय उनीहरू योजना बनाउनेदेखि विकास निर्माणको काममा समेत सक्रियता देखिएको ढकालको प्रतिवेदनमा उल्लेख छ । 
कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पूर्णीमा उपाध्यायले महिला सक्रियता हुनु सकारात्मक भएको बताइन् । साथै यसले लैंगिक समानता ल्याउने दाबी गरिन् । कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष अनन्त पौडेल, एमालेका जिल्ला कमिटी सदस्य रामकुमार दर्लामीलगायतले आ–आफ्नो भनाइ राखेका थिए । 
कार्यक्रममा महिला नेतृत्व कार्यक्रमका कार्यक्रम संयोजक रीता बिसीले महिला सहभागिता भएका विकासका योजनाहरूमा समयमै सम्पन्न हुनुको साथै पारदर्शीता देखिएको बताइन् । खानीखोला, लेखपराजुल, गुमी, मैनतडा, छिन्चु गाविसका महिलाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन परियोजनाका फिल्ड अधिकृत भुपाल गुरुङ्गले गरेका थिए । 
प्रकाशित मितिः   १३ चैत्र २०७२, शनिबार ०५:०७