खानेपानीका लागि नदीकै भर

जुम्लाको तातोपानी गाउँपालिका– १ बाइराँका स्थानीयले दुषित पानी पिउनु पर्ने बाध्यता छ । यहाँका नागरिकले वर्षांैदेखि तिला नदीको दुषित पानी पिउँदै आएका छन् । गाउँपालिकाले चासो नदिँदा बाइराँका गाउँ अहिलेसम्म पनि स्वच्छ खानेपानीको पहुँचमा पुग्न सकेका छैनन् ।

स्थानीयलाई पानीका लागि भौतारिनु पर्ने बाध्यता छ । ‘बाइराँका गाउँको खानेपानी समस्याबारे कोही पनि अज्ञात छैनन् । सबैले खानेपानीको हाहाकार भएको गाउँ भनेर चिन्दछन् । तीनै तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू हिजो बाइराँका बासीलाई खानेपानी दिलाउने सपना बाँड्दै हिँडे । तर, यहाँका बासिन्दाले तिला नदीको दुषित पानी पिउनु पर्ने बाध्यता हटेन,’ स्थानीय हेमन्त शाहीले भने । व्यवस्था फेरिए पनि बाइराँकाबासीको दुषित पानी पिउनुपर्ने बाध्यता नफेरिएको उनले बताए ।

करिब एक सय ३० घरधुरी भएको बाइराँकामा पानीका तीन वटा धारा मात्रै छन् । धारामा पानी आउन्जेलसम्म पालो पाउनेले भर्छन्, बाँकीले नदीको पानी लिएर घर फर्कन्छन् । जुम्लाका किसानलाई जेठ र असारको महिना कामको चाप अत्यधिक हुन्छ । ‘समय भएको दिन दुषित पानी उमालेर पिउछौं । कामबाट अबेर आएको दिन त्यतिकै पिउनु पर्छ,’ स्थानीय कमला शाहीले सुनाइन् ।

एकातिर पानीको प्यास मेट्न नदीको विकल्प छैन, भने अर्कोतिर स्थानीयलाई कोरोना भाइसरसँगै सरुवा रोगबाट बच्नुपर्ने चुनौती पनि छ । बढ्दो महामारीका बेला रेडियो र टेलिभिजनबाट सरसफाइ बढी गर्नु पर्छ भन्ने सुनेकी स्थानीय बालिका विमला शाहीको घरमा पिउन पानी समेत हुँदैन । सरसफाइ गर्ने मन हँुदाहुँदै पनि पानी अभावले सरसफाइ गर्न नसकिने बाध्यता रहेको उनले बताइन् । ‘गाउँ छेवैमा नदी छ । तर, नदीमा पिउनयोग्य पानी बग्दैन । तैपनि पिउन बाध्य छौं । बाहिरबाट हेर्नेले कर्णाली राजमार्गसँग जोडिएको सुगम गाउँ भन्ने सोच्छन् होला । हाम्रो मर्का के थाहा ?,’ स्थानीय बेलमती शाहीले भनिन् ।

बाइराँका गाउँ इलाकाभित्र कतै पनि पानीका मुहान छैनन् । खानेपानी समस्यामा स्थानीय जनप्रतिनिधिले समेत चासो नदेखाएको गुनासो बढेपछि छिमेकी वडाबाट यही असारसम्म बाइराँकामा पानी पु¥याउने गरी काम सुरु भएको थियो । बिचमा लकडाउनका कारण काम रोकिएको छ । अबको तीन महिनाभित्र गाउँमा खानेपानी पुग्ने तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेल दाबी गरे । ‘बाइराँकाको खानेपानी समस्या उहिल्यै देखिको हो । अबको तीन महिनाभित्र सबैले बाइराँकामा पानी पुगेको देख्ने छन्,’ अध्यक्ष न्यौपानेले भने ।

प्रकाशित मितिः   ९ असार २०७७, मंगलवार ०६:०३