शिक्षा क्षेत्रका चुनौतीहरू

भवानी पौडेल

‘एउटा देश वा समुदायको शैक्षिक प्रणालीको स्तर शिक्षकको स्तरभन्दा राम्रो हुन सक्दैन ।’

एकजना दक्षिण कोरियाली अधिकारीको यो भनाइले शिक्षा क्षेत्रलाई राम्रो बनाउन शिक्षकको भूमिका नै सबैभन्दा महत्वपूर्ण हुन्छ भन्ने कुरालाई जोड दिन्छ । निश्चय नै शिक्षक शिक्षासँग अभिन्न रूपले जोडिएको हुन्छ । शिक्षकको ज्ञान, आचरण र संस्कारले विद्यार्थीहरूलाई प्रभावित गरेको हुुन्छ ।

शिक्षा कुनै पनि देशको आर्थिक समृद्धि र विकासको पिलर हो भन्ने कुरामा दुईमत छैन । दक्षिण अफ्रिकाका प्रथम राष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन् ‘शिक्षा यस्तो शक्तिशाली हतियार हो, जसको प्रयोगले तिमीले संसार बदल्न सक्छौ ।’ वास्तवमै राम्रो शिक्षाविना राम्रो देश बन्नै सक्दैन । शिक्षा क्षेत्रलाई यदि राम्रो बनाउने हो भने अब्बल जनशक्तिलाई शिक्षा क्षेत्रमा ल्याउनु पर्छ तर हामीकहाँ स्थिति यसको ठिक उल्टो छ । सबै विकल्पहरू सकिएपछि शिक्षक बन्ने परिपाटी नेपालमा छ ।

निजामती सेवामा प्रवेश गरेको एउटा सरकारी कर्मचारीले आफूप्रति जति गर्व गर्छ, एउटा शिक्षकले आफू शिक्षक भएकोमा त्यति गर्व गर्दैैन । जबकी हरेक दिन कक्षाकोठामा उभिएर विद्यार्थीको मस्तिष्कलाई उज्यालो पार्दै भविष्य टल्काउन अथक मिहिनेत गर्ने शिक्षक नै हुन्छ । यति पवित्र काम गर्ने शिक्षक किन मर्यादित हुन सकिरहेको छैन ? किन आत्मसम्मानको बोध गर्न सकिरहेको छैन ? यसको उत्तरमा निश्चय नै राज्यले शिक्षा क्षेत्रलाई दिएको मूल्य र विद्यार्थीको भविष्यलाई डो¥याउने ती तमाम सम्वाहकहरूप्रति गरिएको विभेदपूर्ण नीतिले काम गरेको छ ।

प्रथम दिन जब म विद्यार्थीले खचाखच भरिएको एउटा कक्षामा प्रवेश गर्छु र उक्त कक्षामा अध्ययनरत विद्यार्थीलाई प्रश्न गर्छु कि ‘तिम्रो भविष्यको लक्ष्य के हो ?’ धेरैको उत्तर नर्स, वकिल, सरकारी कर्मचारी, सिङ्गर, इन्डियन आर्मी, डान्सर, खेलाडी, गायिका, समाजसेवी’ आदि आदिमा गएर टुङ्गिन्छ । केवल एक जना छात्राले आपूm शिक्षक बनेर समाजको सेवा गर्ने कुरा बताइन् । यसले हाम्रो नेपाली युवा विद्यार्थीको मनोविज्ञान एवम् रुचिको चित्रण गर्छ । शिक्षण पेसामा आएर सेवा गर्ने रुचिमा नै कमी छ । कारण यो हो कि उसले शिक्षण पेसामा लागेका आफ्नो बाबा, आमा, काका, काकी, दाइ, छिमेकीको जीवनस्तर खासै राम्रो देखेको छैन, जति अन्य पेसामा लागेका व्यक्तिहरूको देखेको छ ।

वि.सं १९१० मा जङ्गबहादुर राणाले आफ्ना सन्तानलाई शिक्षा दिन खोलेको दरबार हाईस्कुलको उमेर पनि १६७ वर्ष पुगिसकेको छ । यस बिचमा थुप्रै आयोगहरू गठन भए । दर्जनौँ प्रतिवेदनहरू आए । तर विश्वमा हामी शिक्षा क्षेत्रमा कहाँ छौँ भनेर हेर्ने हो भने हाम्रो सबैभन्दा पुरानो त्रिभुवन विश्वविद्यालयलाई हेर्दा पुग्छ । त्रिविको ऐनाबाट शिक्षाको स्तर मापन गर्न सकिन्छ । पछिल्लो तथ्याङ्कले विश्वविद्यालय ¥याङ्किङमा १३६०औं श्रेणीमा पर्छ हाम्रो त्रिभुवन विश्वविद्यालय । विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये १७ वटा अमेरिकामा मात्र छन् भने बाँकी ६ बेलायतमा, एक क्यानडामा र १ स्वीजरल्याण्डमा छन् । विश्वका उत्कृष्ट २५ विश्वविद्यालयमध्ये एसियामा एउटा विश्वविद्यालय पनि परेका छैनन् । विद्यालय शिक्षाको कुरा गर्दा उत्कृष्ट शिक्षा प्रणाली भएको देशमा फिनल्याण्ड निरन्तर रूपमा शीर्ष स्थानमा पर्न सफल छ । फिनल्याण्डको सफलताका पछाडि विभिन्न कुराहरूले काम गरेको छ । यसमा तिनै सफलताका पछाडिका कारणहरूको चर्चा गर्नु बढी सान्दर्भिक हुनेछ ।

नेपालमा बच्चाहरू बच्चा बन्न पाउँदैनन् । दुई वर्ष पुग्न पाएको हुँदैन, उनीहरूका लागि स्कुलब्याग, पोशाक तयार हुन्छ । घरमा बच्चाले दुःख दिए स्कुलको सर–म्यामलाई भनिदिऊँ भन्दै हामी डरको मनोवैज्ञानिक डण्डा लगाउन थाल्छौँ । भर्खरै जीवनको बाटोमा पाइला मात्र टेकेको बच्चाले स्वतन्त्रता कम बन्धन धेरै पाउन थाल्छ । निषेधबाट सुरु हुन्छ उसको जिन्दगीको यात्रा । चकचक नगर, पानीमा नखेल, पुस्तक नच्यात, दिवाल नकोर, धेरै नखेल, बदमासी नगर । बच्चाले गरेका साना–साना राम्रा कामहरूमा स्याबासी दिनुभन्दा पनि उसलाई निषेधको यात्रामा प्रवेश गराइ अनुशासनको कडा डण्डा लगाउन उद्यत हुन्छौँ हामी । विद्यालयमा सर–मिसले भनेको मान्नै पर्ने, नमाने, गृहकार्य नगरे पिटाइ खाने डर, घरमा बुवाआमाले भनेको मान्नु पर्ने, नमाने घरमा पनि डरको वातावरण । यसरी बच्चालाई हामी चारैतिर डरको पर्खाल खडा गरेर उसको आफ्नोपन, उसको बाल्यपन, उसको रुचिका हजारौँ पखेटाहरूलाई विस्तारै विस्तारै झारिदिन्छौँ । बालबालिकाहरूको पूर्ण विकासको लागि दबाबविनाको अनुकूल वातावरणमा हुनुपर्ने कुरा शिक्षा मनोविद्हरू बताउँछन् ।

तर, फिनल्याण्डको सिकाइ प्रक्रियामा बच्चाको स्वतन्त्रता, रुचि, चाहना मनोरञ्जनपूर्ण वातावरण उच्च प्राथमिकतामा पर्छन् । सात वर्षको उमेरमा विद्यालय प्रवेश गर्ने बालकका लागि विद्यालय मनोरञ्जनस्थल बन्छ । त्यहाँ न परीक्षा दिइरहनु पर्छ, न त विद्यार्थीको बिचमा प्रतिस्पर्धा नै हुन्छ, तर नेपालमा एकातिर परीक्षा विद्यार्थीको डरको ठूलो कारण बन्छ भने अर्कोतिर सबैलाई उछिनेर अगाडि जानै पर्ने प्रतिस्पर्धाले स्वार्थलाई जन्म दिइरहेको हुन्छ । सबैलाई जितेर म नै अगाडि बढ्नुपर्छ भन्ने सोँचले विद्यार्थीलाई व्यक्तिवादी बनाइरहेको छ । भनिन्छ नि ‘वास्तविक विजेतालाई प्रतिस्पर्धाको जरुरत नै पर्दैन ।’ प्रतिस्पर्धाले त मानिसलाई इष्र्यालु, महत्वाकांक्षी र अविवेकी बनाउँदै लैजान्छ र व्यक्तिगत स्वार्थलाई महत्व दिन्छ । अल्बर्ट आइन्सटाइनले भनेझैँ एक अर्को व्यक्ति वा वस्तुसँग तुलना नगर्ने हो भने संसारका सबै चिज वा वस्तुहरू सुन्दर छन् । भागवत गीतामा पनि भनिएको छ कि ‘यो संसारमा अयोग्य नामको कुनै चिज नै छैन’ त्यसैले हरेक व्यक्ति आफंैमा विशिष्ट र अद्भूत हुन्छ ।

फिनल्याण्डमा उच्च शिक्षा हासिल गर्ने विद्यार्थीका लागि सरकारले विभिन्न प्रकारका विकल्पहरू तय गर्छ । फिनल्याण्डको तीन वर्षे प्रोग्राम जसलाई ‘अपर सेकेन्डरी स्कुल’ भनेर चिनिन्छ । जसले म्याट्रिकुलेसन टेस्टका लागि तयार गराउने काम गर्छ । विद्यार्थीहरूलाई विभिन्न करियरका लागि दिइने यस खालको तालिमले विद्यार्थी जुनसुकै फिल्डमा गएर काम गर्नका लागि सक्षम हुन्छ । व्यवसाय गर्न चाहने विद्यार्थीले पनि उक्त तालिम लिएर व्यवसायतिर जान सक्छन् । त्यहाँ सबैखालका कामहरूलाई इज्जत गरिन्छ, त्यसो हुँदा कुनै काम पनि सानो वा ठूलो भन्ने हुँदैन । विकसित मुलुकहरूको सन्दर्भमा पनि यही कुरा लागु हुन्छ । हरेक व्यक्तिले आपूmले गर्ने सबै कामलाई इज्जत गर्छ अनि इमान्दारिता र जिम्मेवारीका साथ पूरा गर्छ, तर हामीकहाँ कामलाई सानो र ठूलो भनी वर्गीकरण गरिन्छ । सानो कामलाई हेयको दृष्टिले हेरिन्छ । एउटा डिग्री पास गरेको व्यक्तिले गाईपालन, बाख्रापालन व्यवसायतिर अग्रसर भयो भने यति धेरै पढेको मान्छेले किन गर्नुप¥यो यस्तो काम ? राम्रो जागिर पाइहाल्छौ नि भनेर निरुत्साहित गर्ने गरिन्छ ।

आपूmले खाएको केराको बोक्रा, चक्लेटको खोल बिचबाटोमै मिल्काइ दिने हामी विदेशी माटोमा गएपछि सम्बन्धित ठाउँमा मात्र फोहर फाल्न अभ्यस्त हुन्छौँ । आफ्नो देशमा सानो तिनो काम गर्न लाज मान्ने हामी अर्काको देशमा जस्तोसुकै काम गर्न पनि तयार हुन्छौँ । सरकारी काममा कार्यालय गएका कयौँ कर्मचारी (सबै होइन) लाई ४ नबज्दै घर जान हतार हुन्छ तर त्यही नेपाली कुनै विकसित मुलुकमा गएर १२ घण्टा उभिएरै काम गर्न पनि तयार हुन्छ । यसर्थ समस्या हाम्रो सोँचमा छ, समस्या हाम्रो सिस्टमको अभावमा छ, हाम्रो आचरणमा छ र समस्या हाम्रो इच्छाशक्तिमा छ ।

हाम्रो शिक्षाको सबैभन्दा ठूलो कमजोरी भनेको अव्यावहारिक शिक्षा नीति र त्यसले निम्त्याएको बेरोजगारी नै हो । हामीले विद्यार्थीहरूको कलिलो दिमागमा सिद्धान्तको भारी लदाइरहेका छौँ । अङ्क गणित र बीजगणितका सूत्रहरू हिसाब मिलाउन मात्र काम लागे, हाम्रो जीवनको गणित मिलाउन सहयोगी भएनन् । एउटै घरमा डिग्री पास गरेका चार जनाले आफ्नो घरमा बिग्रेको टेलिभिजन बनाउन सक्दैनन्, घडी बनाउन सक्दैनन्, मोटरसाइकल बनाउन सक्दैनन्् र घरको बत्ती बनाउन सक्दैनन् । ती सबै चिज बनाउनका लागि अरुको सहयोग चाहिन्छ । समस्या यहीँनिर छ । शिक्षा हाम्रो जीवनसँग जोडिन सकेन । शिक्षाले हामीलाई स्वाभिमानी बनाउन सकेन । रोजगारमूलक शिक्षाको अभाव आजको ठूलो चुनौती हो । परिणाम यो भयो कि हाम्रोजस्तो देशले लाखौँ लगानी गरेर शिक्षित जनशक्ति पैदा गर्छ, तर उनीहरूको सीप, श्रम र विवेकले उत्पादन गरेको प्रतिफल लिने अर्कै हुन्छ । तसर्थ अबको आवश्यकता बेरोजगार युवाहरूलाई उनीहरूको योग्यता, क्षमताअनुसारको रोजगारी दिने कुरामा नै केन्द्रित हुनुपर्छ । व्यावहारिक एवम् राष्ट्रको आवश्यकता अनुकूलको शिक्षा दिनु नै आजको अनिवार्य आवश्यकता हो । गुणस्तरीय शिक्षा पाएको व्यक्ति दुनियाँको जुनसुकै क्षेत्रमा गएर प्रतिस्पर्धा गर्न सक्छ, हरेक चुनौतीसँग भिड्न सक्छ । तर हाम्रो शैक्षिक स्थलहरू बेरोजगारहरूको भिड तयार गर्ने थलो बन्दैछन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दाको मेरो अनुभव के छ भने त्यहाँ अध्ययन गर्ने अधिकांश विद्यार्थीको चिन्ता जागिरको हुन्छ । अब के गर्ने ? डिग्री लिने काम त सकियो । अब कसलाई भनेर जागिर खाने ? कसको नजिक
हुने ? धेरै विद्यार्थीको मनमा यही प्रश्नले बारम्बार सताइरहेको हुन्छ । त्यो चिन्ता विश्वविद्यालय अध्ययनका अन्तिम अन्तिम वर्षतिर अझ ज्यादा हुन्छ । हामीले जीवनको अत्यन्त महत्वपूर्ण ऊर्जाशील समयको १७–१८ वर्ष निरन्तर पढाइमा व्यतित गछौँ । लाखौँ लगानी गरेर उच्च शिक्षा पूरा गर्छौँ तर आत्मनिर्भर बन्न सक्दैनौँ र आफ्नो स्वाभिमानलाई बली चढाएर अरुको चाकडी गर्ने लाइनमा पुग्छौ ? योभन्दा बिडम्बना अरु के हुन सक्छ । समस्या यहीँनिर छ कि हाम्रो शिक्षाले हाम्रो समस्यालाई सम्बोधन गर्न सकेको छैन ।

हालै स्वीकृत भएको शिक्षानीति २०७६ को एउटा बुँदामा ‘सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाइ देशको आवश्यकताअनुरूपको मानव संसाधन विकास गर्ने’ लक्ष्य लिइएको कुरा उल्लेख छ । यही एउटा बुँदालाई मात्र पनि इमान्दारिताका साथ कार्यान्वयन गर्ने हो भने धेरै समस्याको हल हुन सक्छ, अन्यथा कागजी बाघ मार्ने कुराले कुनै अर्थ र महत्व राख्दैन । अहिलेको आवश्यकता नै विश्वस्तरको पाठ्यक्रम र कार्यक्रमको हो । हामीलाई चाहिएको छ, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने जनशक्ति जसले देश वा विदेशमा गएर पनि आफ्नो कौशलता, क्षमता प्रदर्शन गर्न सकोस् र आपूmलाई अब्बल प्रमाणित गर्न सकोस् ।

समस्याको अर्को पाटो यो छ कि राज्यले शिक्षा क्षेत्रलाई जति प्राथमिकता दिनुपर्ने हो, जति लगानी गर्नुपर्ने हो, त्यो गर्न सकिरहेको छैन । अन्तर्राष्ट्रिय मान्यता यो छ कि शिक्षा क्षेत्रलाई राम्रो बनाउन कूल बजेटको कम्तीमा २० प्रतिशतभन्दा माथि बजेट शिक्षामा लगानी हुनुपर्छ । तर हाम्रो बिडम्बना यो छ कि १७ प्रतिशतसम्म पुगेको बजेट हाल ११.६४ प्रतिशतमा खुम्चिएको छ । कुनै पनि देश निर्माण गर्न शिक्षा क्षेत्रले उच्च प्राथमिकता पाउनुपर्छ र शिक्षा क्षेत्रलाई राम्रो बनाउन राज्य लगायत सबै पक्ष आ–आफ्नो ठाउँबाट सचेत र इमान्दार भएर लाग्नु पर्छ । सबै लाग्ने हो भने समाधान खोज्न धेरै जानु पर्दैन ।

कोरोनाको यो कहर कालखण्डमा हजारौँ हजार विद्यार्थीहरूको पठनपाठनमा प्रत्यक्ष असर पुगिरहेको छ । राज्यले विभिन्न माध्यमको प्रयोग गरी ज्ञान प्राप्तिको मार्गलाई खुला राख्ने पर्यत्न गरे पनि यो खासै प्रभावकारी हुन सकिरहेको छैन । यो परिस्थितिले निम्त्याएको विवशताको एक नमिठो अध्याय हो । यस परिवेशमा विद्यार्थीहरू सुरक्षित रही स्वअध्ययन गर्ने बानीको विकास गर्दै आफ्नो क्षमता विकासमा ज्ञानको ढोका सदैव खुला राख्न जरुरी छ । किनकि ज्ञानभन्दा पवित्र यो संसारमा कुनै चिज छैन जसले सारा सम्भावनाका ढोकाहरू खोलिदिन्छ ।