४२ प्रतिशतले जिते कोरोना

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९)का संक्रमित थपिने क्रमसँगै संक्रमणमुुक्त हुनेको संख्या पनि बढ्दै गएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कोरोना संक्रमितमध्ये ४२ दशमलव २७ प्रतिशत अर्थात् पाँच सय ३१ जना अस्पतालहरूबाट डिस्चार्ज भएर घर फर्किएका छन् । कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ५६ पुगेको छ ।

स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका ९३, दैलेखका तीन सय ४१, सल्यानका ४४, जुम्लाका २५, जाजरकोटका एक र कालीकोटका २७ जना संक्रमणमुक्त भएका हुन् । कर्णाली प्रदेशमा अहिलेसम्म चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । सुर्खेतका दुई, डोल्पा र दैलेखका एक–एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

कर्णालीमा कोरोना संक्रमण पनि बढ्दै गएको छ । आइतवार मात्रै थप ११ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशका सबै जिल्लामा संक्रमण फैलिएको छ । सबैभन्दा बढी दैलेखमा संक्रमित भेटिएका छन् । दैलेखमा कोरोना संक्रमितको संख्या सात सय ११ पुगेको छ ।

यस्तै सुर्खेतमा दुई सय ७९, सल्यानमा एक ६९, कालीकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई, हुम्ला, डोल्पा र रुकुम–पश्चिममा एक÷एक जना कोरोना संक्रमित छन् । संक्रमितमध्ये एक हजार एक सय ५३ पुरुष र एक सय तीन जना महिला छन् ।

प्रकाशित मितिः   ८ असार २०७७, सोमबार ०६:०३