क्वारेन्टाइनमा लाइभ कन्सर्ट

सुर्खेतका केही युवाले क्वारेन्टाइनमा बस्नेहरूका लागि लाइभ कन्सर्ट गरिरहेका छन् । वीरेन्द्रनगर–६ का युवाहरूको सांगीतिक ब्याण्डले क्वारेन्टाइनमा लाइभ कन्सर्ट गरेको हो । ‘द ब्लूम्स ब्यान्ड र जेपर ब्यान्ड नामक दुई स्थानीय ब्याण्डको सहकार्यमा युवाहरूले क्वारेन्टाइनमा बस्ने मानिसहरूलाई लाइभ सांगीतिक मनोरञ्जन दिइरहेका छन् ।

क्वारेन्टाइन बस्नु भएकाबारे बाहिर नकारात्मक भावना फैलिन थालेको थियो । जसका कारण उहाँहरू तनावग्रस्त हुनुभएको थियो, ‘द ब्लूम्स ब्याण्डका सदस्य सुरज विश्वकर्मा भन्छन्, ‘बाहिरी मानिस क्वारेन्टाइन क्षेत्र वरीपरी जान डराउँथे । त्यसलेभित्र रहनुभएका बीच मानसिक असर पर्न सक्ने डर भएको थियो । हामीले केबल आफ्नो ठाउँबाट उहाँहरूको स्वास्थ्यका लागि गर्न सक्ने सहयोग पुर्याएका हौं ।’

क्वारेन्टाइनमा बस्दा सावधानी अपनाएर खाने–बस्ने सुविधा पाउन निकै जरुरी हुन्छ । यस्तो बेला शारीरिक स्वास्थ्यको ख्याल राख्न महत्वपूर्ण छ नै, मानसिक स्वास्थ्यबारे पनि उत्तिकै ध्यान दिनुपर्छ । सुरजका अनुसार यो कन्सर्ट क्वारेन्टाइनमा बसेकालाई म्यूजिक थेरापी दिने उद्देश्यले गरिएको हो । पाँच दिन यतादेखि उनीहरूले सुर्खेतका विभिन्न क्वारेन्टाइन क्षेत्रमा गएर गीत गाइरहेका छन् । यसले त्यहाँ बस्नेलाई आफ्नो भित्री तनाव भुलाउन सहज भएको उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   ७ असार २०७७, आईतवार ०६:०३