बाढीपहिरोको जोखिम बढ्यो

देशभर वर्षा भइरहेकाले बाढी, पहिरो तथा डुबान हुन सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखा र बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सम्बन्धित सबैमा आग्रह गरेका छन् । मौसम पूर्वानुमान महाशाखाले शनिवार दिउँसो सूचना जारी गर्दै केही दिनदेखि देशभर दैनिक वर्षा भइरहेका कारण नदीमा जल सतह बढ्ने, पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्ने तथा ढल/पानीको राम्रो निकास नभएका क्षेत्रमा डुबान हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।

बाढी पूर्वानमान महाशाखाले पनि सूचना जारी गर्दै रूपन्देही, कपिलवस्तु, दाङ, गुल्मी, पाल्पा, बाग्लुङ, प्युठान र आसपास भारी वर्षा भएकाले उक्त स्थान आसपास भइ बहने ससाना खोलामा बहाव बढ्दो रहेको जानकारी दिएको छ । पश्चिम राप्ती नदीको तल्लो तटीय क्षेत्र दाङ र बाँकेमा पनि जलसतह बढ्दो रहेको र सतर्कता तहसम्म पुग्न सक्ने सम्भावना रहेकाले यी क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मितिः   ७ असार २०७७, आईतवार ०६:०२