हेलचक्य्राइँ नगर
कोरोना भाइरस (कोभिड–१९) कोे जोखिम कम भएको छैन । संक्रमित थपिने क्रम रोकिएको छैन । तर लकडाउन खुकुलो बनाउने सरकारको निर्णयसँगै हेलचक्य्राइँ बढेको छ । कर्णालीमा संक्रमितको संख्या उकालो लागिरहँदा सावधानी भने घट्दै गइरहेको छ । जोखिम बढेका बेला हेलचक्य्राइँले हद नाघेको छ ।
लापरबाही कतिसम्म भइरहेको छ भने सडकमा आमसभा र ¥याली निस्कन थालेका छन् । पसलहरूमा भिडभाड उत्तिकै छ । अधिकांशले मास्क नलगाएको, दूरी कायम नगरेको देखिन्छ । बढ्दो असुरक्षित भिडले भयावह स्थिति आउने संकेत गरेझै भान हुन्छ । किन कि अब भारतबाट फर्किएर कवारेन्टाइन बसेका व्यक्तिहरूमा मात्रै संक्रमण सीमित छैन । संक्रमण समुदायमा गइसकेको छ । यस्तोबेला बढी संवेदनशील हुनुपर्ने हो, जुन कर्णालीमा देखिएको छैन ।
लकडाउन खुकुलो भएसँगै कोरोना हरायो जसरी मानिसहरूले सावधानी अपनाउन छोडेको पाइएको छ । यो बेला तुलनात्मक रूपमा पहिलेभन्दा झन सर्तक हुनुपर्ने हो । समुदायस्तरमा संक्रमण फैलिसकेकाले जोखिम बढ्दो छ । पहिलेभन्दा बढी स्वास्थ्य सावधानी अपनाउनुपर्ने समय आएको छ । संक्रमित नदेखिँदै त्रसित र सतर्क रहेको कर्णाली यतिबेला भने चरम लापरबाही गरिरहेको छ । संक्रमण भुसको आगोझै भित्रभित्रै फैलिरहँदा सावधानीको कुनै गुञ्जायश छैन । जताततै असावधानी देखिन्छ । संक्रमण देखिनुपूर्व त्रास र सावधानी अपनाएका कर्णालीका नागरिकले संक्रमण बढ्दै जाँदा भने झनै बेवास्ता गर्न थालेका हुन् । अहिले सतर्कता र संवेदनशीलता अपनाउने गरिएको छैन । कोरोना संक्रमणबाट जोगिने मुख्य सावधानीको उपाय मानिएको व्यक्तिहरूबीचको भौतिक दूरी कामय गरेको पाइँदैन । जताततै भिडैभिड छ । बजार र सार्वजनिक स्थानहरूका दृश्य हेर्दा लाग्छ मान्छेहरूले कोरोना बिर्सिसके ।
लकडाउन खुकुलो भएयता राज्यका निकायले समेत निगरानी गर्न छोडेका छन् । कर्णाली प्रदेशका धेरैजसो स्थानीय तहहरूले बनाएका क्वारेन्टाइन व्यवस्थित छैनन् । जसका कारण क्वारेन्टाइनमै समेत संक्रमण फैलने जोखिम छ । सुरुमा भारतबाट फर्किएकाहरूमा मात्रै देखिएको कोरोना संक्रमण अहिले समुदायस्तरमा पुगेको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशका विभिन्न जिल्लाका गरी समुदायका ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
कोरोनाको उपचार पत्ता लागिसकेको छैन । संक्रमण हुनबाट जोगिन पूर्व सावधानी र संक्रमण भइसकेमा आवश्यक सतर्कता अपनाउनुको विकल्प अहिले छैन । त्यसमाथि कर्णालीमा अझ बढी चुनौती छ । किनभने यहाँ स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभाव छ । भोलिका दिनमा भयावह अवस्था सिर्जना भएमा नियन्त्रण गर्न गाह्रो छ । त्यसैले नागरिक आफै सजग हुनुपर्ने आवश्यकता छ । यसका साथै राज्यका निकायहरूले पनि क्वारेन्टाइनको उचित व्यवस्थापन, स्वास्थ्य सतर्कता र सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनमा हेलचक्य्राइँ गर्नुहुँदैन । अहिले गर्ने सानो हेलचक्य्राइँले भोलि ठूलो दुर्घटना निम्तिन सक्नेतर्फ सचेत हुनुपर्दछ । विशेष गरेर सार्वजनिक स्थलहरूमा भइरहेको हेलचक्य्राइँ रोक्न जरुरी छ । भिडभाड नियन्त्रण अपरिहार्य छ ।
प्रकाशित मितिः ७ असार २०७७, आईतवार ०६:०१
साझा बिसौनी ।