सम्झिन सकूँ तिमीलाई युगौंयुगसम्म
थुप्रै उमङ्गहरू, थुप्रै उपहारहरू बोकेर आउँछ
कयौं अवसरहरू, कयौं चुनौतिहरू
अनगिन्ती खुशीहरू, मुस्कानहरू
थाहा छैन के–के बोकेर आउँछ
जाँदा पनि कयौं कुरा लिएर जान्छ
अनगिन्ती चोटहरू दिएर जान्छ
कतिलाई रुवाएर, कतिलाई उजाडेर जान्छ
कतिको जिन्दगीमा प्रेमको फूल रोपी जान्छ
कतिको जिन्दगी कुल्चिएर जान्छ
जस्तो कि,
कयौं आमाहरूलाई लुटेर जान्छ
बुबाहरूको भरोसा टुटाएर जान्छ
छोरीहरूको जिन्दगी मरुभूमि बनाइदिन्छ
दिदीहरूको निधार खाली बनाइदिन्छ
भाइहरूको सपना उजाडी दिन्छ
कयौं प्रेमहरू छुटाएर जान्छ
कयौं मन मुटुहरू अलग बनाएर जान्छ
यो वर्ष पनि आफ्नो जिम्मेवारी भरपुर निभाएर गएको छ
हेर्दाहेर्दै यो साल पनि पोहोर साल बनेको छ ।
हेर्दाहेर्दै यो साल पनि बुढो विगत बनेको छ
महङ्गा मान्छेहरूका सस्ता र ठूला पोस्टरहरू
थोत्रो भएर झुण्डिरहन अब पाउँदैनन्
किनकी यो वर्ष नयाँ पोस्टर झुण्डिनको लागि
तम्तयार छन्, कान ठाडो बनाएका छन्
भित्तेपात्रो पनि पुरानो भएको छ
सायद यो पुरानो पात्रो अब कुनै मलखातमा कुहिने छ
नयाँ पात्रो थुप्रै नयाँ कुराहरू बोकेर आएको छ
लगनका दिनहरू, सरकारी छुट्टीका दिनहरू
फरक–फरक दिवसहरू बोकेर आएको छ
जस्तो कि,
सहिदहरूलाई दुखाउने दिवस
अन्य थुप्रै दिवसहरू पनि छन्
सायद तिमीलाई सम्झिने दिवस पनि
यो वर्षको नयाँ पात्रोमा समेटिएको छ
थाहा छ यी वर्षहरू बुढा हुँदै जानेछन्
दशक, सताब्दी हुँदै जानेछन्
र सम्झिन सकूँ तिमीलाई युगौयुगसम्म ।।
साझा बिसौनी ।