भर्चुअल पुस्तक विमर्श
चीनको वुहानमा पहिचान भएको कोरोना भाइरस (कोभिड–१९) तीव्र गतिमा देश डुल्दै थियो । इटली, स्पेन, अमेरिका लगायतका राष्ट्रहरूमा कोभिडले आफ्नो रौद्र रूप देखाइरहँदा विश्व समुदाय नै त्राहिमान बनिरहेको थियो ।
उत्तरको छिमेकबाट सुरु भएको भाइरसको फैलावट दक्षिणको भारतसम्म विस्तार भइसकेको थियो । त्यसको बाछिटा नेपालमा पर्ने निश्चित प्रायः थियो । जसले गर्दा सतर्कता अपाउनुको विकल्प हामीसँग थिएन । कोरोना संक्रमणको जोखिम रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देश लकडाउन ग¥यो ।
पूर्वतयारीका लागि देश बन्दाबन्दीको अवस्थामा रहने निर्णय गरेकै दिन चैत १० गते म केही थान किताब बोकेर सुर्खेतबाट कैलाली पुगें । मसँग ‘पैताला’, कार्ल माक्सको जीवनी, ‘प्रयोगशाला’, ‘बाबू, आमा र छोरा’ सहित केही आफ्ना पाठ्यपुस्तकहरू थिए ।
भोलिपल्टबाट लकडाउन सुरु भयो । अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाइयो । सम्भावित जोखिमबाट आफू बच्न र परिवार तथा समुदायलाई जोगाउन पनि यसको पालना सबैले गर्नैपर्ने थियो । हामी घरभित्र सीमित भयौं ।
लकडाउनको दैनिकी सुरुवातमा निकै अत्यासलाग्दो थियो । किनभने हाम्रो जीवनशैली यसमा अभ्यस्त थिएन । घर र आगनमै सीमित हुन मानसिक रूपमा पनि अभ्यस्त हुनुपर्दो रहेछ । यद्यपि हामीसँग अहिलेलाई यसको विकल्प पनि थिएन ।
यसरी घरभित्रै बस्दा समय बिताउनु त थियो नै सँगसँगै पर्याप्त भएको समयलाई सदुपयोग गर्नु पनि थियो । घरायसी कामकाजमा सघाएर पनि बचेको समय कसरी बिताउने ? यसको उत्तम विकल्प हो, पुस्तक पढ्नु । यसै पनि पढ्नु मेरो रुचि हो ।
म चैत्र ११ गतेदेखि नै गनेस पौडेलको उपन्यास ‘पैताला’ पढिरहेको थिएँ । यसको कथाले मलाई बेग्लै उत्सुकता जगाएको थियो । तर पढ्दाको त्यो आनन्दानुभूति मैले कसैलाई सुनाउन पाइरहेको थिइनँ । भित्रभित्रै उकुसमुकुस भइरहेको थिएँ । मनभित्रको उकुसमुकुस कसैलाई सुनाउन पाए हुनेझैं भयो । तर यो लकडाउनले बाहिर निस्किन मिल्दैनथियो ।
साथीहरूसँग अनलाईन र टेलिफोनमा कुराकानी हुन्थ्यो । मलाई मात्र यस्तो भएको होइन रहेछ, उता दैलेखमा ओशोको ‘साइलेन्स’ पढिरहेका मित्र विज्ञानराजले पनि यस्तै सकस भएको कुरा गरे । अरु थुप्रै पाठकहरूलाई पनि यतिबेला यस्तै भएको त छैन भन्ने प्रश्न मनमा उब्जियो । त्यति नै बेला ‘भर्चुअल पुस्तक चर्चा’को आइडिया दिमागमा ठोकियो । यसले अनुशासित पनि बनाउने, ज्ञान आर्जन पनि हुने, आफ्नो चाहना पनि पूरा हुने र लकडाउनको पालना भइ सरकारलाई सहयोग पनि हुने सोचेर मैले हरि उपाध्याय, दिव्यराज खड्का, पहल असीम र विनोद शाहीसँग आइडिया ‘सेयर’ गरें । उहाँहरू सबैले यो समयमा तनाव व्यवस्थापन गर्न सिर्जनात्मक कार्य हुने भन्दै सकारात्मक प्रतिक्रिया दिनुभयो । लगत्तै हामी पाँचै जनाको एउटा फेसबुक ग्रुप बनायौं, जहाँ हामी आवश्यक सल्लाह गर्छौं । त्यही भएको सल्लाह अनुसार ‘कर्णाली रिडर्स सोसाइटी’ नामको पेज निर्माण ग¥यौं । अनि सुरु भयो, भर्चुअल पुस्तक विमर्श श्रङ्खला ।
एक्कासी लकडाउनको घोषणा हुँदा पुस्तक पढ्नेहरूले नयाँ किताबको जोहो गर्न भ्याएनन् । आफूसँग भएका पुस्तक पढिसकेका थिए । अध्ययनको भोक मेट्न कतिपयले पहिले पढिसकेकै पुस्तक पनि दोहो¥याएर पढिरहेको चर्चा सामाजिक सञ्जालमा भइरहेको थियो । यस्तो समयमा सामाजिक सञ्जालमार्फत हरेक दिन पुस्तक चर्चा गर्ने र पाठकहरूलाई जोड्ने योजना हाम्रो थियो । विशेष गरेर कर्णाली र आसपासका पाठकहरूमाझ पुस्तक विमर्श र पठन संस्कारको विकासमा सघाउ पु¥याउने ध्येय पनि यसमा जोडिएको थियो ।
अर्कोतर्फ लकडाउनका कारण घरभित्र सीमित भएकाहरूलाई समय कटाउनै सकस भइरहेको थियो । जसलाई पुस्तक चर्चा सुनेर समय व्यतित गर्न पनि यसले सघाउँथ्यो भने पुस्तकबारे र त्यसभित्र भएका विषयबारे केही न केही कुरा जानकारी हुनसक्दथ्यो । यसकारण पनि फेसबुक लाइभमार्फत पुस्तक चर्चाको सुरुवात गरेका थियौं ।
चैत्र १६ गते हाम्रै समूहबाट दिव्यराज खड्का दाइले ‘द बुक थीप’को चर्चा गर्नुभयो । त्यसमा सकारात्मक प्रतिक्रियाहरू आए । त्यसपछि निरन्तर हरेक दिन चलेको भर्चुअल पुस्तक विमर्शले ७८ ऋंखला पूरा गरिसकेको छ । शून्यबाट सुरु गरिएको कर्णाली रिडर्स सोसाइटीको फेसबुक पेजलाई करिब चार हजार ले ‘फलो’ गरिरहनुभएको छ । करीब एक लाख पटक पेजको गतिविधि र हरेक दिन गरिने पुस्तक चर्चा हेरिएको छ ।
‘अध्ययन गरौं, ज्ञान बाढौं’ भन्ने नारा आत्मसात गर्दै स्थापना सुरु गरिएको कर्णाली रिडर्स सोसाइटीलाई दर्शक, पाठक, लेखकहरूले फरक किसिमले मुल्याङ्कन गरिरहेको र यसको निरन्तरताको कामना गरिरहनु भएको कुरा उहाँहरूले पेजमा दिइरहेको प्रतिक्रियाले जनाउँदछ । स्वदेश तथा विदेशमा रहेका लेखक तथा पाठकहरू अभियानमा जोडिनुभयो ।
सुरुवातमा हामीले पुस्तक चर्चा गर्नका लागि पुस्तक पढिरहेका व्यक्तिहरूलाई अनुरोध ग¥यौं भने पछिल्ला दिनहरूमा धेरै जनाले हाम्रो पेज मार्फत आफूले अध्ययन गरेको पुस्तक बारे चर्चा गर्ने इच्छा व्यक्त गर्नुभयो । यसले पनि हामीले गर्न खोजेको नौलो अभ्यासलाई सार्थक तुल्याएको महसुस गरेका छौं ।
हरेक दिन सार्वजनिक रूपमा करिब सात दर्जन पुस्तकमाथिको विमर्श यो पहिलो पटक हो कि ! दैनिक रूपमा यसरी पुस्तक विमर्श सायदै भएको छ होला । यसले पुस्तकहरूको चर्चा–परिचर्चा मात्रै भएन पठन संस्कारको विकासमा अलिकति भएपनि पक्कै सघाउ पु¥यायो भन्नेमा हामी विस्वस्त छौं ।
चर्चा गरिएका पुस्तकहरूमा विविधता अर्को सुन्दर पक्ष रह्यो । नेपाली भाषाकादेखि अंग्रेजी भाषासम्मका । आख्यानदेखि गैरआख्यानसम्म । त्यसैले पनि यो एक उत्सव बन्यो भन्दा अतिसयोक्ति नहोला ।
अध्ययन अपरिहार्य छ । यो पाठ्यक्रममा आधारित अध्ययन मात्र नभएर त्यसबाहिरका पुस्तकहरूको अध्ययन पनि हो । जसले समाज बुझ्न र विचार तथा धारणा निर्माण गर्न सघाउँछ ।
लकडाउनको समयलाई लक्षित गरेर सुरु गरिएको अभियानले सात हप्ता पूरा गरेको छ । अहिले लकडाउन खुकुलो बनाइएको छ । मानिसहरू घरबाहिर निस्कन थालेका छन् । काममा व्यस्त हुनथालेका छन् । वातावरण सहज हुँदै गएको छ । यो सँगै हामीले अब पुस्तक विमर्शको ऋंखलाको स्वरूपमा पनि परिवर्तन गर्दैछौं । असार १ गतेसम्म हामीले हरेक दिन पुस्तक चर्चा ग¥यौं । अबदेखि भने हप्तामा एक दिन हुनेछ । हरेक शनिवार । यो नयाँ अभ्यासले हामीलाई आगामी दिनमा अझ सिर्जनशिल र रचनात्मक कार्य गर्न उर्जा समेत दिएको छ ।
साझा बिसौनी ।