कांग्रेसद्वारा संसद् अवरुद्ध
नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको शुक्रवारको बैठक अवरुद्ध गरेको छ । सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल अगाडि नबढाएको भन्दै कांग्रेसले संसद् चल्न नदिएको हो । बिहीवार दर्ता गराएको कोरोना भाइरस सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल अगाडि बढाउनु पर्ने कांग्रेसको माग छ ।
सरकारलाई सहयोग गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको भए पनि यसमा छलफल अगाडि नबढाइएको कांग्रेसको आरोप छ । उक्त प्रस्तावमा प्राविधिक त्रुटि भएकाले पुनर्लेखन गरेर उपयुक्त समयमा अगाडि बढाउने सभामुख राजबहादुर शाहीले बताए । सभामुख शाहीले पटक–पटक बैठक सुचारुका लागि सहयोग गर्न अनुरोध गरे पनि विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए ।
१७ बुँदा रहेको उक्त प्रस्तावमा कुनै पनि प्राविधिक त्रुटि नभइ दुई तिहाइको दम्भले गर्दा छलफल हुन नसकेको प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले दाबी गरे । ‘त्रुटिका नाममा दम्भ देखाइएको छ,’ उनले भने, ‘विचौलियाको काँधमा बन्दुक राखेर चल्ने सरकारले गुनासो सुन्न नचाहेको हो ।’
नेपाली कांग्रेसले प्रदेशसभामा सबै खाले फजूल खर्च र प्रदेशसभाका पदाधिकारी तथा सदस्यले लिँदै आएको सवारी सुविधा फिर्ता गर्ने सम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएको थियो । उक्त प्रस्ताव पनि कर्णाली प्रदेशसभाका सभामुखले बहुमतको आधारमा अस्वीकृत गरेका थिए ।
सार्वजनिक महत्वका प्रस्तावमाथि पुनर्लेखनको व्यवस्था नभएको अर्का सांसद हिमबहादुर शाहीले बताए । संकटको बेला सरकारको ध्यानाकर्षण गराउनु अपराध र अन्तरघात नभएको भन्दै उनले जनताको हित र कल्याणका लागि प्रस्ताव आएको जिकिर गरे ।
कांग्रेसले दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावमा कर्णालीमा कोरोना दोस्रो चरणमा प्रवेश गरेकाले कन्ट्रयाक्ट ट्रेसिङ गर्नसक्ने चुस्त प्रणाली विकास गर्न, हाल आरडीटी विधिबाट गरिएको परीक्षण विश्वसनीय, गुणस्तरीय र भरपर्दाे नदेखिएकाले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको विधिबाट परीक्षण गर्नुपर्ने, परीक्षणको गति र दायरा बढाउनुपर्ने, क्वारेन्टाइनमा बसेका सबैलाई आरडीटी र पीसीआर विधिबाट परीक्षण गरेपछि मात्र घर पठाउने व्यवस्था गर्नुपर्नेलगायत उल्लेख छ । कांग्रेसको अवरोधपछि शनिवार दिउँसो ३ बजेसम्मका लागि संसद् स्थगित भएको छ ।
प्रकाशित मितिः ६ असार २०७७, शनिबार ०६:०१
साझा बिसौनी ।