घरभाडा मिनाहा अभियान
सुर्खेत उद्योग वाणिज्य संघले घर भाडा मिनाहाका लागि घरधनीहरूलाई पत्र पठाउने भएको छ । लकडाउन अवधिमा जिल्लाका उद्योगी–व्यवसायीहरूको घरभाडा नलिनका लागि आग्रह गर्दै प्रत्येक घरधनीलाई चिठी पठाउने अभियान सुरु गर्ने भएको हो ।
लकडाउनका कारण करिब तीन महिनासम्म ठप्प रहेका व्यापार–व्यवसाय चौपट हुने र व्यापारी सडकमा आउने अवस्था भएको भन्दै संघले यस्तो अभियान सुरु गर्न लागेको हो । व्यापार चलेका बेला नियमित रूपमा भाडा तिर्दै आएका व्यापारीको अहिलेको बाध्यात्मक स्थितिलाई बुझेर मानवीय नाताले भाडा छुट दिन औपचारिक रूपमै चिठी पठाएर आग्रह गर्न लागिएको महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।
घरधनी र व्यापारी एकअर्काका परिपूरक भएकै कारण पनि व्यहारिक रूपले मात्र नभइ मानवीय नाताले पनि यस्तो कठिन अवस्थामा हृदय ठूलो बनाउन आग्रह गर्न लागिएको उनको भनाइ छ । घरजग्गाको भाडा मिनाहा गर्ने सम्बन्धित धनीलाई कर तथा बैंक ब्याज छुट दिनका लागि पनि संघले दबाबमूलक अभियान र पैरवी गर्दै आइरहेको कँडेलले जिकिर गरे ।
संघले संस्थागत रूपमा तयार पारेको पत्र सम्बन्धित व्यापारीले लिएर आप्mना घरधनीलाई दिन चाहे दिनसक्ने जानकारी पनि उनले दिए । संघले आफ्नो भवनमा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरूलाई बन्दाबन्दी अवधिको ३ महिनाको भाडामा एकमुष्ठ ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको छ । बैंकब्याज र घरभाडा मिनाहाको माग गर्दै संघले प्रदेश सरकारदेखि संघीय सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि शान्तिपूर्ण जुलुश प्रदर्शनसमेत गरिसकेको छ ।
प्रकाशित मितिः ६ असार २०७७, शनिबार ०६:०१
साझा बिसौनी ।