सत्तापक्षकै सांसद बेखुशी
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि प्रस्तुत गरेको राजस्व तथा व्ययको अनुमान (बजेट) माथिको छलफल सुरु भएको छ । बुधवार विनियोजन विधेकमाथिको छलफलमा सत्तापक्षकै प्रदेशसभा सांसदहरूले बजेटको कडा शब्दमा आलोचना गरे । प्रतिपक्षी भन्दा सत्ता पक्षका सांसद ‘आक्रामक’ रूपमा प्रस्तुत भएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले डल्लो बजेट ल्याएकाले यही अवस्थामा बजेट पास गर्न नसकिने बताएका छन् ।
नेकपा सांसद अम्मरबहादुर थापाले रोजगारका कार्यक्रमका नाममा डल्लो बजेट ल्याइएको भन्दै एकमुष्ठ रूपमा राखेर ल्याइएको बजेट पास नहुने चेतावनी दिए । बजेटमा फूलबुट्टा भर्न खोजिए पनि प्रष्ट नभएको उनको टिप्पणी छ । ‘लेखनशैली र भाषा निकै सुन्दर छ, जसमा टिप्पणी गर्नुपर्ने छैन । फूलबुट्टा भरिएको छ । हामी किताब लेख्न सिपालु छौँ तर कार्यान्वयनमा दक्षता देखाउनुपर्नेछ,’ उनले भने ।
यस्तै नेकपाकै सांसद कौशिलावती खत्रीले कुन शीर्षकमा कति बजेट छुट्याइएको भन्ने स्पष्ट रूपमा नआएको बताइन् । उनले रोजगारीका नाममा डल्लो बजेट ल्याएकाले बजेट कार्यान्वयन हुुन नसक्ने टिप्पणी गरिन् । प्रदेशसभा सांसदहरूले बजेटमा प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएको बताएका छन् । नेकपा सांसद देवी वलीले प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएको भन्दै ४० जनाको हैसियत बराबर हुनुपर्ने उल्लेख गरिन् । उनले आगामी बजेटले महिलाहरूलाई बेवास्ता गरेको टिप्पणी गरेकी छन् । बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारसँग प्रश्न गरिन्, ‘महिलाको लागि बजेट खोइ ?’
सांसद वलीले बजेटले प्रदेशका नौ लाख महिलाहरूलाई सम्बोधन गर्न नसकेको भन्दै बजेटलाई पुनर्विचार गर्न आग्रह गरिन् । महिलाको क्षेत्रमा बजेट बढाउनुपर्ने उनको धारणा छ । कम्तीमा पाँच प्रतिशत मात्रै भए पनि बजेट महिलाहरूका लागि छुट्याउनुपर्ने उनले भनाइ छ ।
नेकपा सांसद पदमबहादुर रोकायले स्पष्ट बजेट नल्याएर सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । उनले भने, ‘सरकारले जे मन लाग्छ त्यही गर्न मिल्छ । हामीले यस्तो खालको बजेट पास गर्नेवाला छैनौं ।’
कूल बजेटको १८ प्रतिशत मुख्यमन्त्री कार्यालयमा राखिएको भन्दै सांसदहरूले मुख्यमन्त्री कार्यालयलाई विकासे अड्डा बनाउन खोजिएको बताएका छन् । अन्य विकासे मन्त्रालयमा न्यून बजेट विनियोजन गरेर मुख्यमन्त्री कार्यालयमा बजेट थुपारेको आरोप उनीहरूको छ । सांसदहरूले बजेटमाथिको छलफलमा भने, ‘यो बजेट कहाँ गएर डल्लो प¥यो । यस्तो बजेट हामीलाई मान्य हुँदैन ।’ आगामी वर्षको कूल ३३ अर्ब ७४ करोड १३ लाख बजेटमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मात्रै ६ अर्ब १८ करोड ४६ लाख विनियोजन गरिएको छ ।
बजेटमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कोरोना नियन्त्रण र खाद्यान्न आपूर्तिका लागि ठीकै बजेट ल्याए पनि रोजगारीमा छुट्याइएको बजेट अमूूर्त भएको टिप्पणी गरेका छन् । ‘सम्भावित महामारी र भोकमरीका लागि ठीकै बजेट ल्याइएको छ,’ नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भने, ‘डल्लो बजेट ल्याउँदा सदुपयोग हुनेमा शंका गर्ने प्रशस्तै ठाउँ छ ।’ उनले अधिकांश कार्यक्रममा हचुवाको भरमा बजेट विनियोजन गरिएको आरोप लगाए ।
प्रकाशित मितिः ४ असार २०७७, बिहीबार ०६:०७
साझा बिसौनी ।