‘एमयूमा ६ महिनाभित्र आमूल परिवर्तन’

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‐एमयू)का उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयमा आमूल परिवर्तन गरिने बताएका छन् । विश्वविद्यालयले बुधवार भर्चूअल कार्यक्रम गरी मनाएको वार्षिकोत्सवमा बोल्दै उपकुलपति सिंहले विश्वविद्यालयलाई आमूल सुधार गरिने बताएका हुन् । विश्वविद्यालयले अहिले पढाइ भइरहेको पाठ्यक्रमलाई आमूल परिवर्तन गरी ६० प्रतिशत विश्वव्यापी विचार र ४० प्रतिशत प्रदेशकै स्रोतसाधनबारे समेटिएको पाठ्यक्रम तयार गरिने उनले बताए । ‘अबको ६ महिनाभित्र विश्वविद्यालयमा आमूल परिवर्तन हुन्छ,’ उनले भने ।

भर्चूूअल कार्यक्रममा उपकुलपति सिंहले विश्वविद्यालय सुधारका लागि पाँचवटा भिजनसमेत पेश गरेका छन् । विश्वविद्यालयको पाठ्यक्रममा आमूूल सुधार गर्ने, भौतिक संरचना पूरा गर्ने, उत्पादनलाई जोड दिने र विद्यार्थीले कमाएर पढ्ने नीति लागू गर्ने, विश्वविद्यालयलाई विश्वस्तरीय बनाउने र कर्णालीका १० जिल्लाका स्रोतसाधनको बारेमा बुझ्न सक्ने शिक्षाको विकास गर्ने भिजन उपकुलपतिले वार्षिकोत्सवमा राखेका हुन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आगामी दिनमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उनले बताए । उपकुलपति सिंहले आफूूले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएर काम गर्ने र पारदर्शितालाई आत्मसात् गर्ने दाबी गरे । विश्वविद्यालय स्रोतका अनुसार भर्चूूअल कार्यक्रममा दुई सय ५० बढीको प्रत्यक्ष सहभागिता थियो भने फेसबुकमार्फत करिब पाँच हजार बढीले प्रत्यक्ष रूपमा हेरेका थिए । विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण सार्वजनिक कार्यक्रम नगरेर अनलाइनमार्फत भर्चूूअल कार्यक्रम गरी १०औं वार्षिकोत्सव मनाएको हो ।

प्रकाशित मितिः   ४ असार २०७७, बिहीबार ०६:०६