अब क्वारेन्टाइनमा सामुदायिक प्रहरी

सुर्खेतमा क्वारेन्टाइन सुरक्षा समिति गठन गर्ने तयारी गरिएको छ । क्वारेन्टाइनमा सुरक्षा व्यवस्थापनका लागि अहिले भइरहेको जनशक्तिले नभ्याउने भएपछि सुरक्षा समिति गठन गर्न लागिएको हो । क्वारेन्टाइन सुरक्षा समिति गठन गरेर त्यसमार्फत सामुदायिक प्रहरी परिचालन गरिने भएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले कोरोना रोकथाम र नियन्त्रणका लागि जनसमुदायलाई परिचालन गर्न आवश्यक रहेकाले तत्काल संरचना बनाएर सामुदायिक प्रहरी परिचालन गरिने बताए । उनले अहिले जिल्लामा सात सयको हाराहारीमा मात्रै प्रहरी जनशक्ति हुँदा क्वारेन्टाइनमा सुरक्षा दिन समस्या भएकाले समुदायलाई परिचालन गरेर भए पनि सुरक्षा व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।

रेग्मीले अहिले कोरोना नियन्त्रणनै पहिलो प्राथमिकता रहेकाले क्वारेन्टाइन व्यवस्थापनलाई सुधार गरिने बताए । उनका अनुसार अब प्रशासनले क्वारेन्टाइनको सबै पक्षको अनुगमन गरेर व्यवस्थित गराइने दाबी गरे । उनले बजार अनुगमनलाई पनि निरन्तरता दिइने बताए ।