चार सय ९४ जना संक्रमणमुक्त

कर्णाली प्रदेशका चार सय ९४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित संक्रमणमुक्त भएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार आइसोलेसनमा उपचारपछि संक्रमणमुक्त भएका उनीहरूलाई घर पठाइएको छ । महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बुधवार मात्रै प्रदेशका एक सय ५२ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

यसैबीच प्रदेशमा बुधवार थप १८ जना नयाँ संक्रमित पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या प्रदेशमा एक हजार एक सय चार पुगेको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा दैलेखका २ जना, सुर्खेतका २ जना र कालिकोटका १४ जना गरी कूल १८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाबाट कर्णालीमा तीन जनाको मृत्यु भइसकेको छ ।