लेक चढ्दै भेडाका बथान

वर्षायाम सुरु भएसँगै जुम्लाका भेडीगोठहरू हिमाली पाटनमा सार्न थालिएको छ । चिसो बढेपछि बेंसी झरेका भेडीगोठ यतिबेला उच्च हिमाली क्षेत्र तथा लेकतिर चढ्न थालेका हुन् । पाटनका चरनहरूमा भेडाहरूको लस्कर लाग्न थालेको छ । गर्मी मौसम सुुरु भएपछि उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले भेडाका बथान लैजाने गर्छन् ।

अहिले भेडीगोठहरू लेकतिर सार्ने चटारो भएको तातोपानी गाउँपालिका–७ का भेडापालक मुनबहादुर रावतले बताए । ‘हाम्रा पहिलैदेखिका खर्कहरू हुन्छन् । पाटनमा हरियाली हुन सुरु भइसक्यो । सबैले आ–आफ्नो ठाउँमा भेडा पु¥याउँदै छन्,’ उनले भने । हिमाली जिल्लाहरूमा पुख्र्यौली पेसा तथा चलनका रूपमा भेडीगोठलाई हेरिन्छ । गर्मी छल्न पाटन उक्लेका भेडीगोठ चार महिना बिताएपछि बेंसी फर्काइने गरिन्छ ।

भेडापालकहरूका अनुसार तुलनात्मक रूपमा अहिले भेडीगोठहरू कम हुँदै गएका छन् । यहाँका बासिन्दाले परापूर्वकालदेखि भेडा पाल्दै आएको भए पनि केही समय यता भेडीगोठ कमै देखिन थालेका छन् । नयाँ पुस्ताप्रति भेडापालनको आकर्षण घट्दै गएको देखिन्छ ।

तातोपानी–७ कै पे्रमबहादुर रावलले हिमाली जिल्लाको परम्परागत पेसा भए पनि पछिल्लो समय नयाँ पुस्तामा भेडापालनको आकर्षण घट्दै गएको बताए । उनका अनुसार अहिले चरन क्षेत्र पनि घट्दै गएको छ । भेडापालनबाट आम्दानी राम्रो हुने भए पनि दुःख धेरै हुने गरेको उनको अनुभव छ । पाटनमा पानी र असिनासँग भिज्दै, अनि घाममा सेकिदै भेडाको रेखदेख गर्नुपर्ने हुन्छ ।

जुम्लामा २०७० सालमा निरन्तर परेकोे असिना, पानी र हावा हुरीले करिब सात सय भेडा मरेका थिए । अहिले जिल्लाको पानसय र माझपाटनमा भेडालाई ओतलाग्ने चारवटा गोठ निर्माण गरिएको पशु सेवा कार्यालय जुम्लाका पशु विकास अधिकृत गोविन्दबहादुर महतले जानकारी दिए । पशु सेवा कार्यालयको तथ्याङ्क अनुसार हाल जुम्लामा ७४ हजार भेडा रहेका छन् । हिमाली हावा, खनिज तथा पौष्टिक तŒव भएको घाँस खाएका भेडाको मासु बढी रुचाइने गरिएको पशु अधिकृत महतले बताए । ‘आम्दानी राम्रो छ, भेडा संख्या घटेको छैन, तर पाल्ने किसान घटेका छन,’ महतले भने ।

प्रकाशित मितिः   ४ असार २०७७, बिहीबार ०६:०३