मध्यपश्चिमाञ्चल विश्वविद्यालयको एक दशक

विष्णुकुमार खड्का

विषय प्रवेश

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्थापनाको एक दशकको यात्रा पूरा गरेको छ । वि.सं. २०६७ असार ३ गते औपचारिक रूपमा नेपाल सरकारले सरकारी लगानीबाट स्थापना गरेको यो विश्वविद्यालयले आज (बुधवार) आफ्नो दशांै वार्षिकोत्सव मनाउँदै छ ।

यो एक दशकमा विश्वविद्यालयले स्थापनाको औचित्य, नेपालको उच्च शिक्षामा यसको योगदान, शैक्षिक–प्राज्ञिक, भौतिक, आर्थिक एवम् प्रशासनिक रूपमा के कति विकास गर्न सक्यो, नेतृत्व र नीतिगत रूपमा विश्वविद्यालयका योगदान र नजिरहरू के कस्ता रहे र नयाँ नेतृत्वका सामु के कस्ता चुनौती र अवसर छन्, आगामी दिनमा विश्वविद्यालय के कसरी अगाडी बढ्न सक्ला यी यावत प्रश्नहरूमाथि निर्मम आत्मसमीक्षाका विषय र सन्दर्भ हुन सक्दछन् । यसै विश्वविद्यालयमा कार्यरत एक सिपाहीको नजरले देखेका र भोगेका केही अनुभव र अनुभूतिहरूसहितको आत्म समीक्षा आम नागरिक समाज र विश्वविद्यालयका सरोकारवालाहरू समक्ष यो लेखमार्फत उजागर गर्नु पंतिकारको उद्देश्य हो ।

विश्वविद्यालयले दश वर्षको यात्रा पूरा गरी एघारौं वर्षमा प्रवेश गर्दा कोभिड–१९ को विश्वव्यापी महामारीले सिङ्गो विश्वका साथै आफ्नै मुलुक नेपाल र त्यसमा पनि आफ्नो प्रमुख कार्यक्षेत्र रहेको कर्णाली प्रदेश सबैभन्दा बढी आक्रान्त छ । लकडाउनको कारण विश्वविद्यालयका सम्पूर्ण नियमित गतिविधिहरूमा गतिरोध उत्पन्न भएको छ । अत्यावश्यक प्रशासनिक कार्य र अनलाइन र वैकल्पिक माध्यमबाट पठनपाठनका केही कार्य बाहेक अन्य शैक्षिक प्राज्ञिक, प्रशासनिक र भौतिक विकासका गतिविधिहरू ठप्पप्रायः छन् ।

केन्द्रीय क्याम्पसलागायत अधिकांश आंगिक क्याम्पसहरू क्वारेन्टाइनमा रूपान्तरित भएका छन् । विश्वविद्यालयमा मूल नेतृत्व उपकुलपतिको रूपमा फेरि एक पटक कर्णालीले धर्तिपुत्र पाएको छ । त्यसपछिको नेतृत्व रजिस्ट्रारको यो महिनामा नै चार वर्षे कार्यकाल पूरा हुँदैछ । इन्जिनियरिङ्ग सङ्काय बाहेक सम्पूर्ण डीनहरूको कार्यकाल सकिएर सहायक डीनहरूबाट डीन कार्यालय सञ्चालनमा रहेका छन् भने विज्ञान तथा प्रविधि सङ्कायमा सहायक डीन समेत नभएकोले रिक्त नै छ । योजना अनुगमन निर्देशनालयका निर्देशकको कार्यकाल सकिएर रिक्त छ, अन्य निर्देशकहरूको कार्यकाल पनि करिब–करिब सकिन लाग्दैछ ।

अधिकांश आंगिक क्याम्पसका प्रमुखहरू त्रिभुवन विश्वविद्यालयका सामुदायिक क्याम्पसबाट मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आंगिक क्याम्पसमा रूपान्तरण हुँदाका बखत कार्यरत क्याम्पस प्रमुखहरूलाई नै अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि थमाइएको पत्रले नै चलिरहेका छन् । यो हिसाबले विश्वविद्यालयको सम्पूर्ण तहको नेतृत्व आगामी ६ महिनाभित्र नयाँ हुने देखिन्छ । अन्य धेरै आन्तरिक र बाह्य व्यवस्थानका कैयौं कार्यहरू अझै बाँकी छन् । यीनै परिदृश्यहरूको बीचमा विश्वविद्यालयले दशौँ वार्षिकोत्सव मनाइरहँदा आगामी यात्राको ठोस योजना तय हुन जरूरी देखिन्छ ।

स्थापनाको गौरवपूर्ण इतिहास र मर्म

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयहरू स्थापनाको मनोविज्ञान निर्माण गर्ने ढोका राष्ट्रिय शिक्षा आयोग २०४९ ले खुल्ला ग¥यो । जब आयोगले नयाँ विश्वविद्यालय थप गर्ने अवधारण अगाडि सा¥यो, वि.सं. २०५२ मा यस क्षेत्रमा यहाँका नागरिकले तत्कालीन जिल्ला विकास समिति सुर्खेतको नेतृत्वमा विश्वविद्यालय स्थापनाको औपचारिक यात्रा आरम्भ गरेको देखिन्छ । तत्पश्चात २०५३ सालमा जिल्लास्थित सबै सरोकारवालाहरूको साझा प्रयत्नका साथ विश्वविद्यालय स्थापनाको अभियानलाई अघि बढाउने निर्णय भएको हो । तत्कालीन समयमा सुर्खेत जिविस सभापतिको नेतृत्वमा विकास क्षेत्र सुदृढीकरण समिति गठन भएको थियो । विश्वविद्यालय स्थापना अभियानको नेतृत्व गर्न पनि त्यसै समितिलाई जिम्मा दिइयो । विश्वविद्यालय स्थापनाको औपचारिक नेतृत्व तत्कालीन सभापति गोविन्दबहादुर मल्ल र बालकृष्ण बि.सी.ले गरे । त्यसपछि स्थानीय निकाय नेतृत्वविहीन भएपछि नागरिक समाजको तर्फबाट गठित मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनार्थ मूल समितिका अध्यक्ष भूषणकुमार मानन्धरले नेतृत्व गरे ।

यसबीचमा विश्वविद्यालय स्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउन चन्दा, दान दातव्य आदि संकलनका लागि महायज्ञ सञ्चालन, राजनैतिक समर्थन जुटाउने प्रयास, म.प. विश्वविद्यालय सुर्खेतमै स्थापना हुनुपर्ने र ऐन पास गराउन पटक–पटक डेलिकेसन जाने, बहस गर्ने आदि विभिन्न गतिविधिहरूमा यी समितिहरू क्रियाशील भए । मौद्गल्य सेवा समाज नेपालले विश्वविद्यालय स्थापनार्थ श्रीमद्भागवदत् धनधान्याञ्चल महायज्ञ सञ्चालन गरी करोडौं बराबरको चल–अचल सम्पत्ति समेत विश्वविद्यालय समितिलाई हस्तान्तरण ग¥यो । यसलाई शैक्षिक आन्दोलनको ऐतिहासिक उपलब्धि मान्नु पर्छ ।

निरन्तरको जनदबाबकै कारणले विभिन्न समयमा तीनवटा कार्यदल गठन गरिए– (१) नेपाल अधिराज्यको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा विश्वविद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन कार्यदल (२०५९), (२) प्रस्तावित मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रारम्भिक प्रारूप तयार गर्न गठित कार्यदलको प्रतिवेदन (२०६१) र (३) प्रस्तावित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तयारी समितिको प्रतिवेदन (२०६४) । उपयुक्त तीन वटै कार्यदलले मध्यपश्चिम क्षेत्रमा एउटा विश्वविद्यालय आवश्यक रहेको र त्यो त्यसको सदरमुकाम सुर्खेतमा स्थापना गर्नुपर्ने राय सरकार समक्ष प्रस्तुत गरेका थिए । यसरी निरन्तरको प्रयत्न, प्रयास र प्रतिस्पर्धाको प्रतिफल पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको पालामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको वि.सं. २०६५ फागुन १६ गते स्थापनाको निर्णय भयो । त्यसपछि ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७’ वि.सं. २०६७/३/३ मा प्रमाणीकरण भइ जारी भएपछि यसको गतिविधिहरू सञ्चालन हुन थाले र यसैक्रममा यसको गतिशीलता, विकास, प्रवद्र्धन र अन्य गतिविधि सञ्चालन गरी विश्वविद्यालयको स्वरूप दिन पहिलो उपकुलपतिको रूपमा प्रा.डा. पदमलाल देवकोटा नियुक्त भए ।

विगतको नेतृत्व र नजिर

कुनै पनि क्षेत्रको नेतृत्व गर्नु आफैंमा एक साहसिक कार्य हो । त्यसमा पनि विश्वविद्यालय जस्तो प्राज्ञिक केन्द्रको नेतृत्व गर्नु अझ गर्विलो अवसर हो । नेतृत्व छनौटको सवाल मुलुककै नेतृत्वहरूको सामु झन जटिल र चुनौतीपूर्ण कार्य हो । विश्वविद्यालयहरू शैक्षिक, प्राज्ञिक, प्रशासनिक लगायत विविध क्षेत्रका अब्बल जनशक्ति उत्पादन गर्ने केन्द्र पनि हो । आर्थिक प्रशासनिक योग्यता नभएकाहरू विश्वविद्यालयको नेतृत्वमा आएका धेरै विद्वानहरू अख्तियार र अदालतको परिसरमा आफ्नो विद्वताको स्खलित गरिरहेका प्रमाणहरू यथेष्ट छन् । यस्ता गर्बिला र कमीकमजोरीसहितका कतिपय उदारहणहरू यही विश्वविद्यालयमा नै यो दश वर्षको अवधिमा देखियो ।

२०६८ साउन २३ गते पहिलो उपकुलपतिको रूपमा प्रा.डा. पदमलाल देवकोटा नियुक्ति भएसँगै विश्वविद्यालयले आफ्ना शैक्षिक र प्रशासनिक गतिविधिहरू सञ्चालनमा ल्यायो । उनको नेतृत्वमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आधार क्याम्पसको रूपमा रहेका सुर्खेत क्याम्पस (शिक्षा), वीरेन्द्रनगर बहुमुखी क्याम्पस र पब्लिक साइन्स क्याम्पसलाई विश्वविद्यालयको संरचनामा ल्याउन अधिकतम प्रयास भयो । सुर्खेत क्याम्पस (शिक्षा) विश्वविद्यालयमा आउन नसके पनि दुई वटा आधार क्याम्पसहरूमा रहेका मानविकी, व्यवस्थापन र विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गतका सञ्चालनमा रहेका र केही नयाँ थप कार्यक्रमहरूसहित शिक्षा र इन्जिनियरिङ्ग सङ्काय थप गरी पाँच वटा सङ्काय अन्तर्गतका पाठ्यक्रम निर्माण, कार्यक्रम सञ्चालन, विश्वविद्यालयका नियमावली र कार्यविधिहरू निर्माण, जनशक्ति समायोजन र व्यवस्थापन, विज्ञान तथा प्रविधि केन्द्रीय क्याम्पसको भवन निर्माण कार्यको प्रारम्भ लगायतका कतिपय धेरै राम्रा कामहरू भए । तथापि सरोकारवालाहरूसँगको आपसी समन्वय र सहकार्यमा भएको समस्या र विश्वविद्यालय सञ्चालनमा रहेका पदाधिकारीहरू बीचमा टिम स्प्रिटमा आएको समस्या, शिक्षक, विद्यार्थी र कर्मचारीहरू राजनीतिक आवरणमा भएका कतिपय असन्तुलन र टकरावका साथै विधि र प्रक्रियासम्मत तरिकाले कामहरू हुन नसकेका कारण जनगुनासो र आम असन्तुष्टि चुलिरहेका बेला विश्वविद्यालयको सम्पूर्ण पदाधिकारीहरू निलम्बन हुनुपर्ने अवस्था सिर्जना भयो । जसले गर्दा कार्यकाल पूूरा नहुँदै अप्ठेरो परिस्थिति झेल्नुपरेको तितो अनुभव छ ।

२०७१ साउन २२ गते अन्तरिम व्यवस्थाको लागि सह–प्राध्यापक कालीप्रसाद पाण्डे उपकुलपतिको रूपमा र डा. महेन्द्रकुमार मल्ल रजिस्ट्रारको रूपमा विश्वविद्यालयमा नियुक्त भएसँगै विश्वविद्यालयको गुमेको शाख फिर्ता गर्ने र शैक्षिक प्राज्ञिक, आर्थिक प्रशासनिक र भौतिक पक्षको विकास निर्माण लगायतका कामकाजहरू अगाडि बढाउने काम भयो । खासगरी विश्वविद्यालय स्थापनार्थ संकलित दानदातव्यहरूको संकलन, सरोकारवालाहरूसँगको समन्वय र सहकार्य, विद्यार्थीहरूको शिक्षण शुल्कमा भारी कटौती, विश्वविद्यालयको स्थापना दिवस खेलकुद तथा रचनात्मक सप्ताहसहित मनाउने कार्यको थालनी भयो । आंगिक क्याम्पसहरूको परिकल्पना र कार्ययोजनासहित सानो सुर्खेतमा इन्जिनियरिङ्ग केन्द्रीय क्याम्पसको भवन निर्माण प्रक्रिया अघि बढाउने जस्ता केही महत्वपूर्ण कार्यहरू सम्पन भए । शिक्षक–कर्मचारीहरूको स्थायित्व, पदोन्नति र वृत्ति विकास लगायतका कामहरू हुन नसकेको र पदीय जिम्मेवारी बाँडफाँट आदिमा राजनीतिक सन्तुलन कायम हुन नसकेको लगायतका कतिपय कारण देखाउँदै पटक–पटक प्राध्यापक–विद्यार्थीका आन्दोलनहरूको सामना गरिरहनु प¥यो ।

२०७२ असोज ६ गते प्रा.डा. उपेन्द्रकुमार कोइराला उपकुलपतिको चार वर्षे कार्यकालसहित नियुक्त भएपछि विश्वविद्यालयले भौतिक पूर्वाधार विकास, शैक्षिक प्राज्ञिक प्रशासनिक रूपमा धेरै नै फड्को मा¥यो । कोइरालाको नेतृत्वमा रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लसहितको टीमले केन्द्रीय प्रशासनिक भवनको लागि प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीबाट बजेट व्यवस्थापन गरी झण्डै १७ करोडको लागत स्टिमेटसहितको पूर्वाधार निर्माण भयो ।

त्यसैगरी त्रिभुवन विद्यालयका १० वटा सामुदायिक क्याम्पसहरूलाई आंगिक क्याम्पसको रूपमा रूपान्तरण गरियो । त्यहाँ कार्यरत जनशक्ति समायोजन भयो । शैक्षिक–प्राज्ञिक कार्यक्रम सञ्चालन, कार्यरत जनशक्तिको स्थायित्व, वृतिविकास, पदोन्नति, १९ वटा भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग समझदारी, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन, खेलकुद तथा रचनात्मक सप्ताहको निरन्तरता जस्ता कामहरू भए । यद्यपि आपसी समन्वय, सहकार्य र सन्तुलन कायम गर्न नसक्दा र विद्यार्थी–प्राध्यापकका कतिपय मागहरूलाई समयमै सम्बोधन गर्न नसक्दा पटक–पटक आन्दोलनको सामना गरिरहनु प¥यो । अन्ततः आफैले चार वर्षे कार्यकालका लागि सिफारिस गरेका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्ललाई उपकुलपति स्वयम्ले कारवाहीका लागि सिफारिस गर्नुप¥यो, जो अहिले पनि तितो यथार्थ बनेर बल्झिरहेको छ ।

त्यसपछि निमित्त रजिस्ट्रारको रूपमा शिक्षाशास्त्र सङ्कायका डीन सहप्राध्यापक यमबहादुर कार्कीसहितको उपकुलपति प्रा.डा. कोइरालाको नेतृत्वको टिमले आफ्ना गतिविधिहरू अघि बढायो । २०७६ असोज ६ गतेदेखि पुस ६ गतेसम्म तीन महिनाका लागि अन्तरिम कालका लागि व्यवस्थापन संकायका डीन डा. मस्तबहादुर गरंजा उपकुलपतिको जिम्मेवारीमा रहे । उनको कार्यकालमा नियमित कार्य सञ्चालन बाहेक खासै उल्लेखनीय कार्य हुन सकेन ।

२०७६ फागुन १८ गतेदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको चार वर्षे कार्यकालसहित प्रा.डा. नन्दबहादुर सिंह नियुक्त भइ कार्यरत छन् । सिंहले पदभार सम्हालेर विश्वविद्यालको आन्तरिक प्रशासनिक र शैक्षिक तथा प्राज्ञिक गतिविधिहरू बुझ–विस्तार गर्दै गर्दा कोराना भाइरसको विश्वव्यापी महामारीका कारण लकडाउनको कारण सम्पूर्ण शैक्षिक प्राज्ञिक कार्यहरूमा गतिरोध उत्पन्न हुनपुग्यो । तथापि अनलाइन माध्यमबाट शिक्षण सिकाइका क्रियाकलापहरू, नियमित बैठकहरू, आपसी समन्वय र सहकार्यहरू, सेमिनार गोष्ठीहरू सञ्चालनमा रहेका छन् । यो बीचमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको इतिहासमा पहिलोपटक ह्यान्ड सेनिटाइजर उत्पादन र वितरण, प्रदेश सरकारले भाइरोलोजी ल्याब निर्माण लगायत भौतिक पूर्वाधारका लागि १० करोडको बजेट व्यवस्थापन, विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँगको आपसी समझदारी पत्रमा हस्ताक्षर, परियोजना कार्यका लागि प्रस्तावपत्रहरू पेश गर्ने आदि कार्यहरू जारी छन् ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस लगायत आंगिक क्याम्पसहरू क्वारेन्टाइन निर्माण गरी आम समुदायप्रतिको जवाफदेहिता विश्वविद्यालयले निर्वाह गरेको देखिन्छ भने यसो विषम परिस्थितिमा पनि विश्वविद्यालयले आफ्ना नियमित गतिविधिहरू उत्साहका साथ अघि बढाइरहेको छ । यसैगरी आपसी समन्वय, सहकार्य हुने र सबैले जिम्मेवारीबोधका साथ अघि बढ्ने उर्जा र वातारण पाइरहने हो भने यो कार्यकालमा विश्वविद्यालयले निकै ठूलो फड्को मार्ने सम्भावना देखिन्छ ।

चुनौती र अवसर

नयाँ नेतृत्वका सामु विश्वविद्यालयका विविध आयामहरूलाई समकालीन विश्व अनुकूल समसामयिक सुधार र आफ्ना शैक्षिक, प्राज्ञिक, प्रशासनिक पक्षमा स्तरोन्नति गर्नुपर्ने प्रमुख कार्यभार छ । कुनै पनि नेतृत्वको सफलता उसको प्रशासनिक कार्यकुशलतामा निर्भर गर्छ । यो विश्वविद्यालयको नेतृत्वमा पनि लागु हुन्छ । विश्वविद्यालयका ऐन, नियमावली, कार्यविधि, कार्य व्यवस्था प्रणाली आदि बमोजिम आफूू पनि चल्ने र अरूलाई चलाउने सवालमा नेतृत्व हमेशा चनाखो हुनुपर्छ ।

विश्वविद्यालयहरूको पहिचान भनेकै प्राज्ञिक साख हो । उत्कृष्ट शैक्षिक प्राज्ञिक केन्द्रको रूपमा विश्वविद्यालयहरूलाई स्थापित गर्न उक्त संस्थाको नेतृत्व गर्ने व्यक्ति पनि अब्बल प्राज्ञिक व्यक्तित्व हुनु आवश्यक छ भने बौद्धिक प्राज्ञिक समुदायमा सम्मानित र स्वीकार्य पनि हुनुपर्छ । विषय बिज्ञ र अनुभवी प्राध्यापक र अनुसन्धानकर्ताहरूको अभाव झेल्नुपरिरहेको सन्दर्भमा यदि अब्बल प्राज्ञिक व्यक्तित्वको नेतृत्वले विश्वविद्यालयहरूमा रहेका र सेवा निवृत विभिन्न विषयका विज्ञ प्राध्यापकहरूलाई अनुसन्धान लिडरको रूपमा उनीहरूको विज्ञताको सदुपयोग गर्नतर्फ ध्यान पुग्न आवश्यक छ । यसले विश्वविद्यालयमा आफ्नो पेसागत जीवन सुरुवात गरेका प्राध्यापकहरूलाई आफ्नो पेसागत वृति विकास र क्षमता अभिवृद्धिमा मद्दत पुग्नेछ भने विद्यार्थीहरूले पनि अनुभवी विज्ञ प्राध्यापकहरूको विज्ञता प्राप्त गर्ने अवसर समेत हुनेछ ।
विश्वविद्यालयहरू आफैमा विश्वव्यापी मान्यतामा सञ्चालित हुन्छन् । यिनीहरू स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सञ्जालमा हुनुपर्ने हुन्छ । यसका लागि नेतृत्वको महत्वपूर्ण भूमिका रहन्छ । नयाँ विश्वविद्यालयहरूको स्थापनाले एकातिर स्थानीय सरोकारवालाहरू अनेकन अपेक्षासहित उत्साहित भएका पाइन्छन् भने यिनीहरूले राष्ट्रिय आवश्यकतामा आधारित भएर आफ्ना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ । त्यसकारण नयाँ नेतृत्वले विश्वविद्यालयसँग सरोकार राख्ने राजनीतिक दल, नगारिक समाज, उद्योगी व्यापारी, विजिनेश हाउस, सरकारी एवम् गैरसरकारी संघ–संस्थाहरू, पेसाकर्मी आदि सबैसँगको सम्बन्ध समदूरीमा राखेर विश्वविद्यालयप्रति सदैब सकारात्मक समभाव कायम राख्नुपर्छ । यस्तो व्यक्ति नेतृत्वको रूपमा विश्वविद्यालयले पाएको छ र प्रभावकारी कार्यान्वयनका लागि सरोकारवाला सबै जुट्नुपर्ने देखिन्छ ।
विश्वविद्यालयको नेतृत्व राजनीतिक रूपमा सुझबुझ भएको हुनुपर्छ ।

राजनीति बुझेको तर कार्यक्षेत्रमा राजनीति नगर्ने प्रकृतिको हुनुपर्छ । लोकतान्त्रिक बहुलवादी राज्य व्यवस्थामा राजनीतिक आस्था नराख्ने व्यक्ति हुँदैनन् र हुनु पनि हँुदैन । सबैको राजनीतिक आस्था हुन्छ तर सार्वजनिक पद धारण गरिसकेपछि राजनीतिक आस्था भन्दामाथि उठेर आफ्नो पदीय भूमिका अनुरूपको व्यवहार गर्न सक्ने शैक्षिक नेतृत्व चाहिन्छ । राजनीतिक पहुँच भएको र सरकारको शैक्षिक नीति, बजेट तथा कार्यक्रमहरूमार्फत विश्वविद्यालयको बृहत्तर हितमा काम गर्न सक्ने व्यक्ति नेतृत्वमा आउनु वाञ्छनीय नै हुन्छ । राजनीति बुझ्नु र आस्थावान हुनु भनेको दलको एजेन्टको रूपमा राजनीतिक दलका नेताका अयोग्य र असक्षम कार्यकर्ताहरूलाई विश्वविद्यालयका पद, शिक्षक एवम् कर्मचारीहरूमा विना प्रतिस्पर्धा भर्ती गर्नु भन्ने बुझ्नु हुँदैन । त्यो त सरासर अराजनीतिक, भ्रष्टाचारी एवम् पदीय जिम्मेवारी विपरितको काम भयो । यस्ता कदमलाई न राजनीतिक दलहरूले प्रोत्साहन दिनुहुन्छ न त त्यस्ता प्रवृतिलाई नेतृत्वमा अवसर नै । त्यसकारण राजनीतिक विश्वविद्यालयको नेतृत्व राजनीतिक सुझबुझ र पहुँच भएको तर विश्वविद्यालयमा दलीय राजनीतिक नगर्ने प्रकृतिको व्यक्ति हुनुपर्छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय यस मानेमा भाग्यमानी नै छ भन्ने लागेको छ ।

निष्कर्ष

विश्वविद्यालयलाई सबैको अपनत्व र आत्मियता अनुभूति गर्ने साझा शैक्षिक सस्थाको रूपमा विकास गराउनु हामी सबैको साझा दायित्व र जिम्मेवारी हो । त्यसकारण विश्वविद्यालयसँग सरोकार राख्ने सम्पूर्ण सरोकारवालाहरू राजनीतिक दल, नागरिक समाज, विश्वविद्यालय स्थापनामा योगदान गर्ने सम्पूर्ण महानुभावहरू आदिलाई लत्याएर जतिसुकै राम्रो विश्वविद्यालयको खाका तयार पारेपनि कार्यान्वयन चरणमा आउँदा थुप्रै जटिलताहरू भोग्नु पर्ने हुनसक्छ । त्यसैले सम्बद्ध सबैसँग सौहाद्र्धपूर्ण वातावरणको सृजना गरी आपसी विश्वास, सद्भाव, सरसहयोग र सामञ्जस्यपूर्ण व्यवहारबाटै सम्पूर्ण जटिलता र अफ्ठ्यरा परिस्थितिको सामना गर्न सकिने देखिन्छ । व्यक्तिगत महोŒवाकांक्षा, अवसरको छिनाझम्टी, व्यक्तित्वको टकराब, प्रतिसोधको मनोभावना, जागिरे मनोदशा र सङ्कीर्ण सोच भन्दा माथि उठेर समग्र मध्यपश्मिाञ्चल विकास क्षेत्रको युगिन मागलाई सम्बोधन गर्न सक्ने कार्यक्रम र दृष्टिकोणको निर्माण गरी बृहत्तर सोच, दीर्घकालीन फाइदा र सर्वपक्षीय हितलाई मध्यनजर गरी समायोजनको पहल कदमी लिनु नै सबैको लागि फलदायी हुनेछ ।

विश्वविद्यालयका नयाँ नेतृत्वको सामु शैक्षिक प्राज्ञिक साखलाई अभिवृद्धि गर्दै आर्थिक रूपमा पारदर्शी र सुसाशनयुक्त प्रशासनिक दख्खल देखाउने, आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने, विश्वविद्यालय, विद्यार्थी र सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै विश्वविद्यालयको गरिमा र शानलाई उचो राख्ने आदि चुनौती र अवसरलाई कार्यान्वयन गर्ने सम्भावनाहरूको प्रतिक्षामा रहेको छ । विगतका एक दशकका कमीकमजोरीहरूबाट पाठ सिक्दै क्रमशः सुधार गर्दै आगामी यात्राको सुझबुझपूर्ण र सन्तुलित यात्रा तय गर्न सके मध्यपश्चिमाञ्चल विश्वविद्यालय हामी सबैको गर्न लायक एक अग्रणी शैक्षिक गन्तव्य बन्न सक्छ ।

(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायका सहायक डीन हुन् ।)

प्रकाशित मितिः   ३ असार २०७७, बुधबार ०६:०३