‘बजेट साउनदेखि नै कार्यान्वयन हुन्छ’

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी वर्षका लागि सार्वजनिक गरिएको बजेट यही असारमा कार्यविधि तयार गरेर साउनदेखि नै कार्यान्वयनमा जाने बताएका छन् । मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ का लागि ल्याइएको बजेट कार्यान्वयनबारे जानकारी दिँदै उनले भने, ‘अहिले अधिकांश पुरानै योजनालाई निरन्तरता दिइएकाले आर्थिक वर्ष सुरु हुने बित्तिकै बजेट कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।’ उनले आगामी बजेट सन्तुलित, यथार्थ र व्यवहारिक रहेको दाबी गरे ।

उनले यस पटक घाटा बजेट नल्याइएकोले पनि वास्तविक र सन्तुलित बजेट आएको बताए । ‘हामीले यस पटक महत्वाकांक्षी बजेट ल्याएको छैन । बजेट आवश्यकता अनुसार आएको छ,’ मन्त्री ज्वालाले भने ।

आगामी वर्षका लागि ल्याइएको बजेटमा चालु आर्थिक वर्षमा खर्च हुन नसकेको ११ अर्ब बजेट, केन्द्र सरकारले उपलब्ध गराएको अनुदान र राजस्व बाँडफाँट तथा प्रदेश सरकारको आम्दानीलाई मात्रै बजेटमा समावेश गरिएको उनले जानकारी दिए । चालुतर्फको ६० प्रतिशत प्रशासनिक खर्च कटाएर पूँजीगततर्फको बजेट बढाइएको र अनावश्यक भ्रमण, गोष्ठीलगायतका भत्ता कटौती गरिएको उनले जनाए ।

बजेटको ठूलो हिस्सा २० प्रतिशत अर्थात् सात अर्ब बजेट कृषि उत्पादन, विकास र रोजगारीलाई समेट्ने गरी बहुआयामिक योजनामा छुट्टाइएको भन्दै उनले कृषकलाई नगद अनुदान नदिएर कृषि औजार, बिउविजन र ढुवानीलगायतमा अनुदान दिइने बताए ।

प्रकाशित मितिः   ३ असार २०७७, बुधबार ०६:०२