एमाले सुर्खेतको चार महिने गाउँ जागरण अभियान सुरु

uml

सुर्खेत, २३ कात्तिक ।
नेकपा एमाले सुर्खेतले चार महिनो गाउँ जागरण अभियान संचालन गर्ने भएको छ । जिल्ला कमिटिको सोमवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला अध्यक्ष धु्रवकुमार शाहीको अध्यक्षता एवं केन्द्रीय उपाध्यक्ष तथा प्रदेश कमिटी संयोजक युवराज ज्ञवालीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा एमाले पोलिटव्यूरो सदस्य तथा प्रदेश सहसंयोजक यामलाल कँडेल, अनुशासन आयोगका सदस्य बालाराम शर्मा, सुर्खेतमा कार्यक्षेत्र भएका प्रदेश कमिटी सदस्यहरूको समेत उपस्थिति थियो । बैठकले चार महिने गाउँ जागरण अभियानको विस्तृत कार्ययोजनासमेत निर्माण गरेको छ । संविधान कार्यान्वयनका लागि जनदबाव दिन यो अभियान संचालन गर्न लागिएको एमालेले जनाएको छ ।

बैठकले पहिलो चरणमा क्षेत्रीय कमिटी, जनसंगठन र शाखा कमिटीको बैठक आयोजना र क्षेत्रीय भेला गर्ने निर्णय गरेको छ । सबै कामको समन्वय गर्न क्षेत्र नं. १ मा उपसचिव टोपबहादुर रास्कोटी, २ उपाध्यक्ष अमृतकुमार विसी र ३ मा सचिव मोहनसिं बडुवाललाई संयोजक तोकिएको छ । यस्तै एमाओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका जंगबहादुर राना र सन्ते बुढा, नेकपा माओवादी (क्रान्तिकारी बैद्य) बाट प्रवेश गरेका शिवराज अधिकारी र नविनकुमार शाहीलाई जिल्ला कमिटी सदस्यमा मनोनयन गरिएको छ ।

बैठकले नयाँ आवेदन दिएका २ हजार ९ सय ७५ जनालाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । यस्तै
प्रदेश स्तरिय कार्यकर्ता भेला मंसिर १७ र १८ गते वीरेन्द्रनगरमा हुने भन्दै सचिव बडुवालले उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता झलनाथ खनालको उपस्थितिमा हुने जानकारी दिए ।

प्रकाशित मितिः   २३ कार्तिक २०७३, मंगलवार ०५:२२