कर्णाली राजमार्गको बेहाल : गाडी धकेल्दै यात्रा गर्नुपर्ने बाध्यता

3

सुर्खेत, २२ कात्तिक ।

साँघुरो र भत्किएको सडक । एकहोरो गाडी गुड्न पनि मुस्किल । बाटोमा अर्को गाडी भेटिंदा त्यसलाई पास दिनै हम्मेहम्मे । छेउतर्फ हेर्दा तल कर्णाली नदी, भित्तातर्फ रिंगटा नै लाग्ने अक्करे भीर । भीरको बाटो र कडा चट्टान फोडेर खनिएको साँघुरो सडकमा यात्रुले धकेलेरै गाडी गुडाउनुपर्ने बाध्यता । आवश्यक सुधार र मर्मत नहुँदा हिजोआज यात्रा गर्दा कर्णाली राजमार्गमा यात्रुको शरीर नै जिरिङ–जिरिङ हुने गरेको छ ।

२०६३ वैशाखमा ट्रयाक खोलिएपछि सञ्चालनमा आएको यो राजमार्गमा आवश्यक सुधार तथा मर्मत नहुँदा अहिले यात्रुले गाडीलाई धकेल्दै गन्तव्यसम्म पु¥याउने गरेका छन् । वर्षात्को बेलामा सडकमा खसेको पहिरो, चट्टान र रुखहरू पन्छाइएको छैन । बाढीले अधिकांश स्थानमा सडक भत्काएको छ । यस्तै एक दर्जनभन्दा बढी खोलामा पुल छैनन् । तर, राजमार्गमा जबर्जजस्ती सवारी सञ्चालन गरिएको छ । अहिले चालकले खोलामा आँखा चिम्लेर सवारी हाँक्ने गरेको छन् । अर्कोतर्फ गाडीमा चढेर सजिलै यात्रा गर्ने सपना बोकेका कर्णालीवासी भने सडकमा सुधार र मर्मत नहुँदा गाडीलाई ठाउँ–ठाउँमा धकेल्दै यात्रा गर्न बाध्य छन् ।

कर्णालीको भाग्यरेखा मानिएको यो राजमार्गमा गाडी सञ्चालन भएको एक दशक बितेको छ । सुर्खेतदेखि जुम्ला जोड्ने दुई सय ३२ किलोमिटर लामो कर्णाली राजमार्गले पछिल्लो समय यात्रुलाई सुविधा भन्दा बढी सास्ती दिएको हो । लामो समयदेखि मर्मत तथा सुधार नहुँदा हिजोआज राजमार्गको धेरै स्थानमा कालोपत्रेसमेत भत्किसकेको छ । सडकमा रहेका ठुल्ठूला खाल्डा, हिलाम्य सडक र साँघुरो बाटोमा यात्रा गर्नुपर्ने बाध्यताले कर्णालीवासी हैरान भएका छन् । राजमार्गको कालिकोट खण्डमा सबैभन्दा बढी समस्या रहेको छ । लामो समयसम्म पनि सडकको स्तरोन्नति र मर्मतको काम नहुँदा सुर्खेतदेखि जुम्ला पुग्न सवारी साधनलाई पुरै एक दिनको समय लाग्ने गरेको छ । साँघुरो र भत्किएको सडकका गाडी फस्ने समस्याका कारण जाम हुँदा यात्रुले बीचबाटोमै घण्टौसम्म भोकभोकै बस्नुपर्ने समस्या झेल्दै आएका छन् ।

अहिले यो राजमार्गको दहीखोला, टाकुल्ला, राँचुली, खल्लागाड र भैसीगौंडालगायतका दर्जन स्थानमा सवारी साधन बढी फस्ने गरेका छन् । सडक बाढीले भत्काएको र मर्मत नभएपछि यी स्थानमा गाडी बढी फस्ने गरेको चालक अर्जुन विकले बताए । यो राजमार्गमा यात्रुबस चलाउँदै आएका उनले भने, ‘बाटोको हालत त खराब छ, गाडी नफसेको कुनै दिन छैन । हामीले त खोलामा आँखा चिम्लेर गाडी चलाउँदै आएका छौं, बाटो पनि साँघुरो छ साइड दिनै मिल्दैन ।’ उनले अधिकांश स्थानमा यात्रुले गाडी धकेल्दै गुडाउने गरेको जनाए । टाकुल्लामा दुई घण्टासम्म गाडी फसेपछि दिक्क बनेको जुम्ला नराकोटका पूर्णबहादुर रोकायाले भने, ‘सडक खुल्यो भनेर के छाती फुलाउनु हजुर ? बाटोको हालत यस्तो छ । हामीले गाडी धकेल्दै यात्रा गर्नुपर्छ, सुविधा होला भनेको त झन् दुःख भयो ।’ सुर्खेतको यात्रा तय गरेका उनी बाटोमा गाडी धकेल्नुपर्दा थाकेर लखतरान परेका थिए ।

राजमार्गमा सुधार नहुँदा सवारी दुर्घटनाको जोखिम बढेको छ । साना गाडीलाई केही सहज भए पनि यात्रुबस र मालवाहक गाडीलाई बढी समस्या देखिएको छ । पछिल्लो समय सडकमार्ग भएर रारा अवलोकनका लागि जानेहरूको संख्या बढेपछि यो राजमार्ग थप व्यस्त बनेको छ । जसको कारण पनि सडकमा जाम हुने समस्या देखिएको छ । पहिलो पटक रारा जान लागेका काठमाडौं कलंकीका विकाश महर्जनले बाटोको अवस्था देखेपछि भने, ‘सडकको अवस्था दयनीय रहेछ, मलाई त निकै डर पो लाग्यो । राजमार्ग भनेर के गर्नु ? दोहोरो गाडी चल्नसक्ने अवस्था नै रहेनछ ।’ उनले बाटोमा खसेको पहिरो हटाएको खण्डमा केही सहज हुने बताए । आफूहरूले रिजर्भ गरेको जीप पनि धेरै ठाउँमा फसेको भन्दै धकेल्दै यात्रा गरिरहेको उनको भनाइ थियो । खाल्डाखुल्डीका कारण सडकमा दुर्घटनाको जोखिम बढेको भन्दै सुरक्षित
गन्तव्यमा पुग्न आफूहरूले गाडीमा यात्रा गर्दा देउता नै भाकल गर्ने गरेको जुम्ला तातोपानीका विर्ख बुढाले बताए ।

यात्रा गर्दा कर्णालीवासीले सास्ती भोगिरहँदा समेत सडकको सुधारका लागि कसैले वास्ता गरेका छैनन् । विगतमा धेरै सडक दुर्घटना हुँदा यो राजमार्गलाई (मृत्युमार्ग) को उपमा दिइएको थियो । तर पछिल्लो समय यो राजमार्गमा दुर्घटना रोक्न भन्दै रातीको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । जसको परिणाम दुर्घटनामा कमी आएको भए पनि सडकको स्तरोन्नति नहुँदा आफूहरूलाई यात्रामा सास्ती भएको गुनासो यात्रुले गर्दै आएका छन् । साथै उनीहरूले तत्काल सडक मर्मत गर्नसमेत माग गरेका छन् ।

प्रकाशित मितिः   २२ कार्तिक २०७३, सोमबार ०८:२४