देउसी खेलेर सामाजिक हितमा योगदान

dd

उदाहरण एक :
मन्दिर मर्मतको लागि केही रकम आवश्यक थियो । तत्काल अन्य कुनै पनि स्रोतबाट त्यो रकम आउन सम्भव थिएन । कुनै एउटा व्यक्तिले त्यति धेरै रकम खर्च गर्न सक्ने कुरा पनि भएन । त्यसको लागि सामूहिक कार्य नै आवश्यक थियो । त्यो भए के गर्ने त ? वीरेन्द्रनगर–१० खजुरामा रहेको सिद्धेश्वर शिव मन्दिर व्यवस्थापन समिति र त्यहाँका अन्य स्थानीयले विकल्प खोजे । तिहार आउँदै थियो । उनीहरूले देउसी–भैलो खेल्ने योजना बनाए । तर उनीहरूले भैलो खेल्नुको मुख्य उद्देश्य मनोरञ्जन मात्र गर्नु थिएन, त्यसको साथसाथै मन्दिरको मर्मतका लागि आवश्यक रकम जुटाउनु थियो । एकातर्फ परम्परागत संस्कारको जगेर्ना पनि हुने र अर्कोतर्फ मन्दिर मर्मतका लागि रकम सङ्कलन पनि हुने भएपछि उनीहरूले देउसी र भैलोको सदुपयोग गर्ने जुक्ति निकाले ।

उक्त मन्दिरको व्यवस्थापन समितिका सदस्यहरूले यो पटकको तिहारको समयमा देउसी भैलो खेलेर करिब एक लाख रूपैयाँ सङ्कलन गरे । उनीहरू मन्दिर वरपरकै घरहरूमा गए, देउसी भैलो खेल्नुको मुख्य उद्देश्यको बारेमा पनि बताए र सांस्कृतिक रूपमा अत्यन्त महŒवपूर्ण रहेको देउसी भैलो खेले । उक्त कार्यक्रमबाट सङ्कलित रकम मन्दिरको मर्मत तथा सम्भारमा खर्च गरिनेछ ।

उदाहरण दुई :
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा सम्वद्ध विद्यार्थीहरू तिहारभन्दा अगाडि दुईदिन वीरेन्द्रनगरमा भैलो खेले । उनीहरूले भैलो खेल्नुको उद्देश्य, मनोरञ्जन, साथीहरूसँगको सम्बन्ध थप फराकिलो बनाउनु त छँदै थियो त्यसको साथै भैलोबाट सङ्कलन हुने रकमलाई कल्याणकारी काममा खर्च गर्ने भन्ने पनि थियो । त्यसको लागि उनीहरू एक हप्ता अगाडि देखिनै तयारीमा लागे । त्यस देउसी भैलो कार्यक्रममा संयोजक सागर लम्सालले भने, ‘हाम्रो देउसी भैलोबाट सङ्कलन भएको रकममध्ये उक्त कार्यक्रमको तयारीमा लागेको खर्च कटाएर अन्य सबै रकम मध्यपश्चिम विश्वविद्यालयमा रहेका विद्यार्थीहरूको कल्याणको लागि कसरी खर्च गर्न सकिन्छ भन्ने बारेमा सोचिरहेका छौँ । अपाङ्गता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कि भन्ने सोचिरहेका छौँ । सबै साथीहरूबीच छलफल गरेर निश्चित गछौँ ।’ लम्सालका अनुसार उनीहरूले करिब चालीस हजार रकम जम्मा गरेका छन ।

यी त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । अहिले देउसी भैलो खेलेर सङ्कलन भएको रकम विभिन्न सार्वजनिक महŒवको काममा खर्च गर्ने संस्कृति ह्वात्तै बढेको छ । भैलो खेल्नु पहिलेदेखिकै रिती हो, थिति हो, परम्परा हो । देउसी भैलो संस्कृति हो, पहिचान हो र सम्बन्धलाई नजिक बनाउने अस्त्र पनि हो । धेरै किसिमबाट देउसी भैलोको महत्वलाई पुष्टी गर्न सकिन्छ । तर पछिल्लो समयमा देउसी भैलोको अर्काे महŒव पनि थप भएको छ, त्यो हो परोपकार । समाजको हितको लागि देउसी भैलोमा दान वापत सङ्कलित रकम खर्च गर्ने गरिन्छ । यसले देउसी–भैलोको सामाजिक महŒव पनि रहने कुरालाई पुष्टि गर्दछ । पहिले नै कुनै उद्देश्य राखेर देउसी भैलोको आयोजना गर्नु र देउसी भैलो सकिएपछि त्यसबाट सङ्कलित रकमको खर्च गरिने क्षेत्र तय गर्नु दुवै राम्रो कुरा हो ।

चन्दा संस्कृतिको अन्त्य
यसरी सामूहिक सांस्कृतिक कार्यक्रममा सहभागी भएर रकम सङ्कलन गर्नाले चन्दा संस्कृतिलाई अन्त्य गर्न सकिन्छ । कुनै पनि सार्वजनिक सरोकारको काम गर्नको लागि रकमको जोहो गर्नुपर्दा चन्दा उठाउने र त्यसबाट त्यस्ता काम गर्ने गरिएको पाइन्छ । तर यसो गर्दा चन्दा दिने व्यक्तिले त्यस्तो काममा सधैं आफ्नो भूमिका वा प्रभाव खोजिरहने प्रवृत्ति हावी हुन्छ । चन्दा दिने व्यक्तिले आफ्नो भाग खोज्ने गर्छन् । यति मात्र होइन, चन्दा दिने व्यक्ति त्यस्ता सार्वजनिक सरोकारका सम्पत्ति वा विषयमाथि सधैं आफ्नो प्रभाव रहोस् भन्ने भावना विकास गर्दछन् ।

अझैं आर्थिक कारोबारसँग सम्बन्धित विषय भएकाले धेरै र थोरैको बहस हुन्छ । यस अर्थमा सार्वजनिक सरोकारका सम्पत्ति निर्माण वा पुर्ननिर्माण वा मर्मत सम्भारका लागि चन्दा संस्कृति निर्मूल पार्न पनि यस्ता सांस्कृतिक कार्यक्रमबाट सङ्कलित रकम उपयोग गर्नु उपयुक्त हुन्छ । देउसी भैलोमा प्रदान गरिने रकम दानको रूपमा प्रदान गरिने भएकाले त्यसमाथि कसैको दावी रहँदैन । यसका साथसाथै त्यस्तो रकम धेरै थोरै भन्ने पनि हुँदैन । दानको रूपमा दिने भएकाले त्यस्तो रकमले कुनै पनि प्रकारको विभेद र कुनै पनि प्रकारको हैकम प्रतिविम्वित गर्दैन ।
मनोरञ्जन आफैबाट, परोपकार सबैबाट देउसी भैलोको रकम धेरै जसोले पिकनिक वा घुमघाममा खर्च गरेको पाइन्छ । एक दृष्टिकोणबाट यो पनि जायज होला तर त्यसरी सङ्कलित रकम पिकनिक वा घुमघाममा खर्च गर्नुभन्दा समाजको हित देखिने कुनै पनि परोपकारको काममा खर्च गर्न सक्ने हो भने त्यसले देउसी भैलोमा समावेश समाजका सदस्यहरूको सामाजिक प्रतिष्ठा उच्च बनाउँछ । यसले समाजमा रहेका व्यक्तिहरूको आफ्नो समाजप्रति दायित्व छ भन्ने बोध गराउँछ भने अन्य क्षेत्रका व्यक्तिहरूलाई पनि समाजप्रतिको कर्तव्यबोध हुन जान्छ ।

समाजमा रहिसकेपछि आफू रहेको समाजको हितको निमित्त र सार्वजनिक महत्वको स्थानमा सांस्कृतिक तथा सामूहिक कार्य गरेर सङ्कलन भएको रकम खर्च गर्नाले सुसंस्कृतिको विकास हुन्छ । सामाजिक सञ्जालमा अहिले धेरै व्यक्तिहरूले आफूले देउसी भैलोबाट सङ्कलन गरेको रकम परोपकारमा खर्च गरेको तस्विरहरू वा जानकारीहरू उल्लेख गरिरहेका हुन्छन् । त्यतिमात्र होइन, समाचारपत्रहरूमा पनि विभिन्न ठाउँमा देउसी भैलो खेलेर सङ्कलन गरिएको रकम विभिन्न कामको लागि खर्च गर्ने गरेको भने समाचार आइनै रहन्छन् । तर त्यसरी घोषणा गरिएका कुराहरू कार्यान्वयन सम्पूर्ण रूपमा चाहिँ हुन्छन् या हुँदैनन्, त्यो विचारणीय कुरा हो । अझै त्यसरी सङ्कलन गरिएको रकम पहिले विभिन्न परोपकारको काममा खर्च गर्ने घोषणा गरी ख्याती कमाउने र पछि भने त्यस रकमको दुरूपयोग हुने गरेको समाचारहरू पनि बारम्बार नआउने गरेका होइनन् । तर केही अपवाद बाहेक धेरैजसो यस्ता कार्यहरू सफल भएका छन् र समाजमा एउटा फरक धारणा स्थापित गर्न यस्ता कार्यहरू सफल भएका छन् ।

देउसी–भैलोको रकम मनोरञ्जनमा खर्च गर्नाले त्यसले कुनै पनि उत्पादकत्व दिँदैन । मनोरञ्जनको लागि त व्यक्ति आफै पनि खर्च गर्न सक्छ वा व्यक्ति एकल रूपमा पनि मनोरञ्जनको लागि सक्षम हुन सक्छ तर सार्वजनिक सरोकारको काम गर्दा यसरी सामूहिक क्रियाकलापबाट सङ्कलन भएको रकम खर्च गर्दा उपयुक्त हुन्छ । यसले सामूहिक भावनाको विकास गर्न पनि सहयोग गर्दछ । आफू बसीसकेपछि त्यो आफू बसेको समाज आफ्नै हो र त्यो समाजको हितको लागि आफूले एकल रूपमा नसके पनि सामूहिक रूपमा केही न केही योगदान गर्न सक्छु भन्ने भावनाको विकास गर्न पनि यस्ता देउसी भैलोको रकम समाजको बृहत्तर हितमा लाउनुको एउटा महत्व हो ।

यसरी निजी क्षेत्रबाट वा सामुदायिक क्षेत्रबाटै समाजको विकासको लागि अभियान चाल्ने हो भने यसले जिम्मेवार निकायको ध्यान पु¥याउन पनि थप सहयोग गर्दछ । नेपाल जस्तो अति कम विकसित मुलुकको सरकार अत्यन्त कमजोर आर्थिक अवस्थाको हुने र विकासका पूर्वाधारहरूको निर्माण, पुर्ननिर्माण र मर्मत सम्भारमा विशेष ध्यान दिन असमर्थ हुने भएकाले त्यस्तो अवस्थामा स्थानीयस्तरमा यस्ता कार्यक्रमहरूको आयोजना गरेर संकलित रकम सामाजिक परोपकारमा खर्च गर्नु अत्यन्त प्रशंसनीय हुन्छ । भौतिक संरचनाको साथसाथै छात्रवृत्ति, सहयोग कोषमा हस्तान्तरण जस्ता विभिन्न विकल्पहरूको माध्यमबाट देउसी भैलोको रकम खर्च गर्न सकिन्छ ।

मनोरञ्जन र घुमघाम भन्दा पनि आफ्नो थोरै समय र थोरै लगानी आफू बसेको समाजको हितको निम्ति अर्पण गर्न पाउनु आफैमा गौरवको कुरा पनि हो । तसर्थ सम्पूर्ण व्यक्तिहरूले देउसी भैलोबाट सङ्कलन भएको रकम आफू रहेको समाजको कुनै पनि क्षेत्रमा सकारात्मक योगदान पुग्ने गरी खर्च गर्नु उपयुक्त हुन्छ । यसले समाजका सदस्यहरू आफ्नो समाजको हितको लागि सामूहिक रूपमा योगदान गर्न सधैं तयार छन् भन्ने सन्देश पनि प्रवाह हुन्छ ।

प्रकाशित मितिः   २२ कार्तिक २०७३, सोमबार ०८:१८