पुनर्संरचना प्रस्तावमा असन्तुष्टी, सुर्खेतमा प्रर्दशन

1सुर्खेत, २३ कात्तिक ।
जनसंख्या, भूगोल र पहुँचको आधारमा नभई दलहरूले आफ्नो अनुकुल स्थानीय तहको टुंगो लगाएको विरोधमा सुर्खेतमा प्रदर्शन भएको छ । आफूहरूसँग छलफल नै नगरी दलका नेताहरूले रातारात सहमति गरेर स्थानीय तहको खाका केन्द्रमा सिफारिस गरेको भन्दै सर्वसाधारणले वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । उनीहरूहरूले निर्णयमा पुनर्बिचार नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
जिल्ला प्राविधिक समितिले शुक्रवार मात्र चार नगरपालिका र पाँच गाउँपालिकासहितको खाका केन्द्रका पठाएको छ । उक्त खाका आफूहरूलाई जानकारी नै नदिएर रातारात पठाइएको भन्दै जिल्लामा विरोध सुरु भएको हो । सदरमुकाम वीरेन्द्रनगरसँग जोडिएको साटाखानीका बासिन्दाले सोमवार निर्णय सच्याउन माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गरे । गाउँबाट गाडी नै रिजर्भ गरेर आएका उनीहरूले जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिनुका साथै दलहरूबिरुद्ध नाराबाजी नै गरेका हुन् । सुविधा प्राप्ती र पहुँचका आधारमा भन्दा पनि संविधान सभा निर्वाचनमा आफ्नो पार्टीलाई खसेको मतका आधारमा दलहरूले गाविसहरू यताउता पारेर खाका पठाएको स्थानीयको आरोप छ ।
साटाखानीका बासिन्दाले आफूहरूलाई वीरेन्द्रनगर पायक पर्ने भए पनि पार्टीलाई खस्ने मतका आधारमा अन्यत्रै गाभिएको गुनासो गरेका छन् । यसअघि साटाखानीलाई वीरेन्द्रनगर नगरपालिकामा गाभ्ने सहमति भएको थियो । तर दलहरूले रातारात वीरेन्द्रनगरबाट झिकेर साटाखानीलाई लेकबेशी गाउँपालिकामा गाभ्ने सहमति गरेपछि उक्त प्रस्ताव केन्द्रमा पठाइएको छ । यसैको विरोधमा स्थानीय बासिन्दा गाडी नै रिजर्भ गरेर सदरमुकाम आएका हुन । आफूहरूलाई नगरपालिकामै समायोजन गर्नपर्ने र हाल प्रस्ताव गरिएको गाउँपालिका पायक नपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा सहभागि साटाखानीका नरेन्द्रबहादुर खत्रीले भने,‘हामीलाई वीरेन्द्रनगर आउन एक घण्टा लाग्छ, तर नेताहरूले रातारात अन्यत्रै गाभेर सात घण्टा हिँड्नुपर्ने बनाइदिए । यो कस्तो न्याय हो ? हामी कुनै पनि हालतमा त्यसलाई स्वीकार गर्दैनौं ।’ उनले माग पूरा नभए संसद र सिंहदरबार पुगेर भए पनि माग पूरा गराउने बताए ।
दलहरूले साटाखानी भन्दा टाढाको र भौगोलिक रूपमा विकट गर्पन गाविसलाई वीरेन्द्रनगरमा समायोजन गर्ने प्रस्तावमा सहमति जनाएका छन् । तर नगरपालिकासँगै जोडिएको साटाखानीलाई भने अर्को गाउँपालिकामा समायोजन गर्ने सहमति गरेपछि बिवाद उत्पन्न भएको हो । भोट बैंकका आधारमा स्थानीय तहको पुनर्संरचना गरिएको भन्दै सर्वसाधारणले तीव्र विरोध जनाएका छन् । साटाखानीका बासिन्दा हरीराम अधिकारी भन्छन्,‘सुविधा हामीलाई चाहिएको हो, तर नेताहरूले आफ्नो सुविधा मात्र हेरे । हाम्रो गाउँका सबै स्रोत वीरेन्द्रनगर आउँछ, अब हामी राजस्व तिर्न उल्टो दिशामा जानुपर्ने भयो ।’ साटाखानीका बासिन्दा मात्र होइन, जिल्लाका अन्य बासिन्दाले पनि पुनर्संरचनामा असन्तुष्टी जनाएका छन् । वडा विभाजनमा सबैभन्दा बढी असन्तुष्टी देखिएको छ । प्राविधिक सहयोग समितिले स्थानीय तहमा छलफल नगरेर केवल जिल्लामा मात्र छलफल गरेका कारण पनि असन्तुष्टी बढेको हो ।
पुनर्संरचनाबिरुद्ध आन्दोलनमा उत्रिएका सर्वसाधारणले निर्णय नसच्याइए दल र तिनका नेताहरूलाई गाउँ पस्न नदिने चेतावनी दिएका छन् । जिल्ला तहका नेताहरूले स्थानीय आवश्यकता नबुझि रातारात सहमति गरेको भन्दै गाउँस्तरका दलका कार्यकर्ताहरू पनि रुष्ट बनेका छन् । उनीहरूले दलका नेताहरूको राजीनामा नै मागेका छन् । आफुहरूसँग गाउँमा एउटा सहमित गरेको र खाका पठाउँदा झुक्याएर नेताहरूले धोका दिएको भन्दै सर्वसाधारणले नागरिक संघर्ष समितिको नाममा आन्दोलनको सुरुवात गरेका हुन् । साथै उनीहरूले तत्काल आफूहरूको माग पूरा गर्न आग्रह गर्दै माग पूरा नभए स्थानीय तहको खाका नै कार्यान्वयन हुन नसक्ने चेतावनी दिए । गाउँमा एउटा सहमति गर्ने र सदरमुकाममा आएर रातारात अर्कै प्रस्ताव पठाएको भन्दै सर्वसाधारणहरू दलका नेताबिरुद्ध खनिएका हुन् ।
जिल्लामा प्रदर्शन नै सुरु भएपछि जिल्ला प्राविधिक सहयोग समितिका संयोजकसमेत रहेका स्थानीय विकास अधिकारी अमृत लम्सालले जनताको माग जायज भएको प्रतिक्रिया दिए । उनले भने,‘समय छोटो थियो, हामीले चाहेर पनि गाउँ तहसम्म पुगेर घनिभूत रूपमा छलफल गर्न सकेनौं । जनताले मन दुखाउनु स्वभाभिक नै हो, हामी अब जनताको भावना अनुसार संशोधनको पत्र आयोगलाई पठाउने छौं ।’ उनले जिल्लाबाट केन्द्रमा खाका पठाइ सकेको भए पनि त्यसलाई हेरफेर गर्नका लागि आफुहरूले आयोग समक्ष आग्रह गर्ने जानकारी दिए ।