कृषि र पर्यटनलाई प्राथमिकता दिन सुझाव

सुर्खेत, १२ चैत । (साबिस)
प्रस्तावित प्रदेश नं. ६ लाई समृद्ध बनाउन यहाँको पर्यटन विकासमा ध्यान दिनुपर्ने एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले शुक्रवार आयोजना गरेको पूर्व बजेटकालीन अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् । 
६ नम्बर प्रदेशमा पर्यटन व्यवसायको प्रचूर सम्भावना रहेको भन्दै कार्यक्रमका सहभागीहरूले पर्यटनलाई प्राथमिकतामा राखेर त्यही अनुसारको नीति बनाउनुपर्ने सुझाव दिएका छन् । पर्यटनमैत्री नीति बनाएर कार्यान्वयन गर्न सके प्रदेश नं. ६ लाई आर्थिक रूपमा सक्षम र सम्पन्न प्रदेश बनाउन सकिने उनीहरूको धारणा थियो । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले पर्यटन विकास नारामा मात्र सीमित भएको भन्दै यसलाई व्यवहारमा पनि विकास गर्न जरुरी रहेको बताए । उनले पर्यटनमैत्री नीति बनाउन सके प्रदेश नं. ६ लाई मात्र नभएर समग्र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने बताए । ठोस नीति तथा कार्यक्रम तयार बनाएर लाग्नुपर्ने उनको सुझाव थियो । अधिकारीले यस क्षेत्रमा पर्यटनका साथैसाथै कृषि र जडिबुटीको पनि सम्भावना रहेको औंल्याउँदै यस्ता उद्योग स्थापना र सञ्चालन गर्न सहज हुने नीति निर्माणमा जोड दिए । 
राष्ट्रिय सहकारी बैंकका केन्द्रीय सञ्चालक हरिहरनाथ योगीले नीति निर्माण गर्नु मात्रै महŒवपूर्ण नभएको भन्दै बनाइएका नीतिलाई व्यवहारमा कार्यान्वयन गर्नु प्रमुख कार्य भएको धारणा राखे । 
उनले भौगोलिक अवस्था र विकासका दृष्टिले पनि प्रदेश नं. ६ अन्य क्षेत्रभन्दा पछि रहेको भन्दै यहाँको पर्यटन, कृषि र जटिबुटीको सदुपयोगलाई मद्दत पुग्ने नीति निर्माण गर्न सुझाव दिए ।
साथै कार्यक्रमका अन्य सहभागीहरूले विकासका पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएका थिए । ग्रामीणवस्तीहरूमा सडकको विस्तार, जलविद्युत आयोजनाहरूको निर्माण लगायतका क्षेत्रलाई समेटिने गरी नीति निर्माण गर्न सुझाव दिए । बेरोजगारी अन्त्य गर्नका लागि कृषि तथा पशुपालन व्यवसायलाई आधुनिकीकरण गर्ने नीति निर्माण गर्न पनि आवश्यक रहेको सहभागीहरूको भनाइ थियो । 
कार्यक्रममा नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले सहभागीबाट आएका सुझावलाई सम्बन्धित निकायसम्म पु¥याउने बताए । उनले पर्यटनका साथै सडक, विद्युत, कृषि लगायतका क्षेत्रमा पनि ध्यान दिन आवश्यक रहेको औंल्याएका थिए । 
प्रकाशित मितिः   १३ चैत्र २०७२, शनिबार ०५:०९