विहेको ६ महिनामै बच्चा जन्मेपछि…

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ चैत ।
सुर्खेतमा एक युवतीले आफैले जन्माएको नवजात शिशुको घाँटी थिचेर हत्या गरेकी छन् । विवाह गरेको ६ महिना पूरा नहुँदा बच्चा जन्मिएपछि ती युवतीले शिशुको हत्या गरेकी हुन् । शिशु हत्या गरेको आरोपमा प्रहरीले ती युवतीलाई पक्राउ गरेको छ । 
जिल्लाको काफलकोट गाविस–७ निवासी मैमसरा विकलाई प्रहरीले पक्राउ गरेको छ । १८ वर्षीया विकले यही चैत ८ गते बच्चा जन्माएकी थिइन् । मैमसराले गाउँकै युवक सुरेश विकसँग गत कार्तिक ४ गते प्रेमविवाह गरेकी थिइन् । विवाहपछि मंसिर २१ गते सुरेश मजदुरीका लागि भन्दै भारत गएका थिए । कार्तिकमा विवाह भएको र विवाह भएको ६ महिना पूरा नहुँदै बच्चा जन्मिएपछि मैमसराले शिशुको हत्या गरेको प्रहरीले जनाएको छ । विवाह गरेको ६ महिनामा नै बच्चा जन्मिएपछि आफन्त र छिमेकीले मैमसरालाई सोधखोज गरेका थिए ।
आफन्त र समाजको दबाबपछि मैमसराले सुरेशसँग विवाह हुनुभन्दा पहिला नै अर्कै पुरुषसँग शारीरिक सम्बन्ध भएर गर्भ रहेको बताएकी थिइन् । आफू गर्भवती भए पनि सुरेशसँग प्रेम भएकाले विवाह गरेको उनले बताएको छिमेकीले जनाएका छन् । विवाह भएको ६ महिनामा नै बच्चा जन्मिएको र समाजले समेत आलोचना गरेपछि आफूले जन्माएको शिशुलाई सोही दिन घाँटी थिचेर हत्या गरेको बयान मैमसराले प्रहरीलाई दिएकी छन् । शिशु हत्याको आरोपमा मैमसरालाई पक्राउ गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यसैबीच प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर मैमसरालाई नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।