भेरी अञ्चल प्रहरीको योजना, ‘ड्रग्स’ नियन्त्रण गर्न विशेष फोर्स

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ चैत ।
भेरी अञ्चलका जिल्लाहरूमा पछिल्लो समय लागूऔषध (ड्रग्स) को ओसारपसार तथा प्रयोग बढेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीले विशेष फोर्स गठन गर्न लागेको छ । भारतबाट नेपालगन्ज नाका हुँदै भेरी अञ्चलका जिल्लाहरूमा लागूऔषध भित्रिन थालेपछि प्रहरीले त्यसविरुद्ध विशेष अभियान सञ्चालन गर्ने भएको हो । अञ्चल प्रहरी कार्यालय भेरीले त्यसका लागि तयारी समेत सुरु गरेको छ ।
भेरीका सुर्खेत, बाँके, बर्दिया, दैलेख र जाजरकोटमा पछिल्लो समय लागूऔषधको प्रयोग र ओसारपसार बढेको निश्कर्ष निकाल्दै प्रहरीले यस्तो अभियान सुरु गर्न लागेको हो । अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख एसएसपी धिरु बसन्यातले लागूऔषधको ओसारपसार र प्रयोग रोक्नका लागि प्रहरीको विशेष फोर्स गठन गर्न लागिएको जानकारी दिएका छन् । सुर्खेतको सुरक्षा अवस्था बुझ्न आएका उनले शुक्रवार वीरेन्द्रनगरमा यस्तो जानकारी दिएका हुन् । पाँच वटै जिल्लाका प्रहरीहरूको सञ्जाल निर्माण गरेर लागूऔषध नियन्त्रणमा परिचालन गरिने उनको भनाइ छ । यस क्षेत्रमा ड्रग्स समस्याको रूपमा देखिएको भन्दै उनले नियन्त्रणका लागि कुनै कसर बाँकी नराखिने बताए ।
लागूऔषधले समाजमा अपराध बढाएको र यसले सुरक्षामा समेत चुनौती थपेको भन्दै उनले भेरी अञ्चलमा प्रहरीको विशेष फोर्स परिचालन हुने बताए । नागरिकसँग मिलेर प्रहरीले अपराध नियन्त्रणको प्रयास गरिरहेको उनको भनाइ छ । कानुन कार्यान्वयन गर्नका लागि प्रहरी सदैव प्रतिबद्ध रहेको भन्दै उनले यस क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नका लागि सक्दो प्रयास गर्ने समेत जानकारी दिए । आफूले भेरी अञ्चलमा प्रहरीलाई नागरिक मैत्री बनाउन अभियान सुरु गरिसकेको बताउँदै भने, ‘प्रहरी जनताको लागि हो, जनताको सहयोगविना समाजमा शान्ति कायम हुन सक्दैन । त्यसका लागि अब प्रहरी पनि नागरिकमैत्री हुन आवश्यक छ, हामी त्यसको सुरुवात गर्दैछौं ।’ प्रहरी पनि समाजकै सदस्य भएको बताउँदै उनले समाज असल भए प्रहरी पनि असल हुने उल्लेख गरे । समाजमा कानुन नमान्नेहरूको संख्या बढिरहेकाले पनि अपराध बढ्दै गएको उनको भनाइ छ । अब आफूहरूको ध्यान आर्थिक अपराध नियन्त्रण गर्न केन्द्रित हुने समेत उनले जानकारी दिए ।
भौतिक सुविधा र जनशक्तिको अभावको बीचमा पनि प्रहरी शान्ति सुरक्षाको लागि प्रतिबद्ध रहेको उनको भनाइ छ । अब अपराधीलाई मात्र पक्राउ गर्ने भन्दा पनि उसको आर्थिक स्रोतको समेत हिसाब राख्नेतर्फ आफूहरूले ध्यान दिने समेत एसएसपी बसन्यातले बताए । भेरी अञ्चलको सुरक्षाका लागि आफूहरूले नयाँ कार्ययोजना बनाएको उनले जानकारी दिए । सोही कार्ययोजना अनुसार नै यी जिल्लामा हुने मानव बेचविखन, लागूऔषध कारोबार, चोरी डकैती र आर्थिक अपराध रोक्न प्रहरी केन्द्रित हुने उनको भनाइ छ । नागरिकहरूले सहयोग गरेमा अपराध नियन्त्रण गर्न सहज हुने भएकाले अब आफूहरूले जनतासँग मिलेर काम गर्ने उल्लेख गरे । जिल्ला प्रहरी कार्यालयमा भएको अन्तरक्रियामा सामुदायिक सुधार संस्थाका अध्यक्ष भद्र भण्डारीले अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिएका थिए । साथै उनले आर्थिक अपराधले समाजमा अशान्तिको अवस्था उत्पन्न भएको भन्दै यसलाई रोक्न सुझाव दिए । सो अवसरमा सुर्खेतमा एसपी वीरेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः   १३ चैत्र २०७२, शनिबार ०५:११