बहुमुखी प्रतिभा
सुर्खेतले गर्व गर्नसक्ने व्यक्तिहरूमध्येका एक हुन्, कुलमान नेपाली । वि.सं. २०२२ सालमा आमा जुनकिरी नेपाली र बुवा गगनबाबु नेपालीको कोखबाट पश्चिम सुर्खेतको लगाममा जन्मिएका कुलमान सानैदेखि नृत्य गर्न र गीत गाउनमा रुचि राख्थे । लगाममा जन्मे पनि कुलमान वीरेन्द्रनगरमा नै हुर्किए । सुरुमा गायनलाई अँगाल्दै अघि बढेका उनले आफूलाई लोकगीत सङ्कलन र नृत्य निर्देशनमा खरो रूपमा उतारे । स्टेज कार्यक्रममा प्रस्तुत हुने नृत्यदेखि बन्धकी, बाटुली र गोरखा पल्टन जस्ता चर्चित चलचित्रमा समेत उनले नृत्य निर्देशन गरी आफूलाई अब्बल सावित गरेका छन् । एक दर्जन भन्दा बढी म्यूजिक भिडियोमा पनि उनले निर्देशन गरेको नृत्य हेर्न पाइन्छ ।
वि.सं. २०३१ सालबाट आफ्नो कलाकारिता क्षेत्रलाई सुरुवात गरेका उनले नृत्यको क्षेत्रमा सफलता पनि हात पारेका छन् । उनले नृत्यमा प्रशिक्षण दिएका दिपाश्री निरौला र शंकर बीसी लगायत कलाकारहरूले अहिले राष्ट्रियस्तरमा ख्याती पाउन सफल भएका छन् । पछिल्लो समय निरुता शाहीसहित थुप्रै कलाकारहरू राष्ट्रियस्तरमा आफ्नो पहिचान स्थापित गर्ने यात्रामा छन् । नृत्य निर्देशक र लोकगीत सङ्कलनको रूपमा उनको पहिचान स्थापित छ । टेकराज भारती र गंगा केसी उनका प्रेरणा हुन् । उनीहरूबाटै उनले सिकेका हुन् ।
उनले राष्ट्रियस्तरका प्रतियोगितामा पटक–पटक प्रथम स्थान हासिल गरेका छन् । एक दर्जनभन्दा बढी पटक राष्ट्रियस्तरका नृत्य प्रतियोगितामा आफूले निर्देशन गरेको नृत्य प्रथम भएको उनले बताए । त्यस्तै लोकगीत प्रतियोगितामा पनि ३–४ पटक राष्ट्रियस्तरमा प्रथम स्थान हासिल गर्न उनी सफल छन् । सुर्खेतलाई झ्याउरे नृत्यको खानी र कलाकारिताको उर्वर भूमिकाका रूपमा चिनाउन कुलमानको भूमिका महŒवपूर्ण छ । केही रङ्गमञ्चीय कार्यक्रमहरूमा सफलता प्राप्त गर्दागर्दै उनले ऐतिहासिक चलचित्रहरूमा समेत काम गर्ने अवसर पाए । जसले गर्दा उनको सफलताको सूचीमा केही इट्टा थप्ने काम भयो । उनी सुर्खेती हुनुमा गर्व गर्दछन् । ‘मलाई खुशी के लाग्छ भने सुर्खेती माटोमा जन्मिएर कलाको क्षेत्रमा लोक नृत्यको क्षेत्रमा विशेष गरेर टिपीकल मगरे झ्याउरेको क्षेत्रमा सुर्खेतलाई विशेष रूपमा चिनाउन सफल भएको छु’ उनले भने । ‘आज हाम्रो झ्याउरे, टप्पा, सिँगारु लगायतका थुप्रै नृत्यहरू विश्वका धेरै मुलुकहरूमा प्रस्तुत भइरहेका छन् मैले सिकाएका र मबाट प्रभावित भएका थुप्रै कलाकारहरू आज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा छाएका छन् यो मेरो गर्व र खुशीको कुरो हो’ नेपालीले थपे ।
११ वर्षको उमेरदेखि नै कलाकारितामा लागेका उनी कलाकारितालाई आफ्नो जीवन मान्छन् । कलाकारिताप्रति उनको लगाव अहिले पनि उत्तिकै छ । ‘वचपनदेखि नै कलाप्रति मेरो झुकाव थियो’ उनी भन्छन्, ‘यस क्षेत्रमा लाग्दा सबैसँग थोरै समयमा पहिचान, भ्रमण, राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा–परिचर्चा र जिन्दगी नै रमाइलोसँग बित्ने र नेपाली कलासंस्कृतिको विकासका लागि निरन्तर लागिरहनुपर्छ भन्ने भावनाले मेरो अहिले पनि कलामा नै लगाव छ र आउने दिनहरूमा लगाव रहिरहने छ । जबसम्म आफू बाँचिन्छ तबसम्म संस्कृतिप्रति माया रहिरहनेछ ।’ पछिल्लो समय कलाकारितामा विकृति भित्रिएकोप्रति भने उनी चिन्तित छन् । यसलाई रोक्न समयमै सचेत हुनुपर्ने बताउँछन् । ‘पासात्य संगीतहरू आफैमा नराम्रो होइन संगीतलाई कदर गर्नुपर्छ तर यसबाट आउने विकृति, प्रयोग गर्ने प्रवृत्ति, फेसन, खानपान लगायत धेरै कुराहरू सुधार्न आवश्यक छ ।’
प्रकाशित मितिः १४ चैत्र २०७२, आईतवार ०५:४८
साझा बिसौनी संवाददाता ।